कर सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : नेपालगञ्जमा पत्रकारसँग राजस्व कार्यालयको अन्तरक्रिया

नेपालगञ्ज ,१९ असार ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा समन्वयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य आर्थिक विधेयक–२०८३, नयाँ कर व्यवस्था तथा करसम्बन्धी कानुनी प्रावधानबारे पत्रकारलाई अद्यावधिक जानकारी गराउँदै कर सचेतना विस्तारमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउनु रहेको थियो।
कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक–२०८३, नयाँ कर व्यवस्था, करदाताका लागि उपलब्ध गराइएका छुट तथा सहुलियत, करसम्बन्धी कानुनी व्यवस्था र कर सचेतना प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए। प्रस्तुतीकरणपछि पत्रकारहरूले उठाएका विभिन्न जिज्ञासाको उनले जवाफ दिएका थिए।
केसीले आर्थिक विधेयक–२०८३ मार्फत अहिलेसम्मकै बढी कर छुट तथा सहुलियतको व्यवस्था गरिएको जानकारी दिँदै त्यसको लाभ लिन करदातालाई आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। उनले ती सुविधाबारे सही सूचना आम नागरिकसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।
कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कर प्रशासनलाई थप पारदर्शी, सरल र सेवामैत्री बनाउने दिशामा कार्यालय निरन्तर लागिपरेको बताए। सही, तथ्यपरक र विश्वसनीय कर सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले करसम्बन्धी भ्रम चिर्न तथा कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले पत्रकारलाई करसम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया अत्यन्त उपयोगी भएको बताए। उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित संवाद र सहकार्यले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गत वर्ष पनि नेपाल पत्रकार महासंघ बाँके शाखासँगको सहकार्यमा यस्तै कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यालयले आगामी दिनमा पनि करसम्बन्धी जनचेतना अभिवृद्धिका लागि सञ्चार क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।





