भेरी लिफ्टिङ खानेपानीको भौतिक प्रगति ३० प्रतिशत पहिलो प्याकेजका काम धमाधम दोस्रो प्याकेजलाई अघि बढाउने तयारी

ओम शाही
सुर्खेत, २० असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म बृद्धि हुनसक्ने जनसंख्यालाई खानेपानीको दीगो पहँुच प्रदान गर्न कार्यान्वयन भइरको भेरी लिफ्ङि खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको छ ।
भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याएर पत्येक घरधुरीमा धारा जडान गर्न आयोजनालाई दुई वटा प्याकेजमा विभाजन गरिएको छ । जस मध्ये पहिलो प्याकेजमा भेरी नदीको पानी बोक्ने र भण्डारण गर्ने संरचनाहरु निर्माण भइरहेका छन् ।
दोस्रो प्याकेजमा वीरेन्द्रनगरका चार स्थानमा निर्माण हुने ट्यांकीबाट पाइप लाइन विस्तार गरेर पत्येक घरधुरीमा पुर्याउन संरचनाहरु निर्माण हुनेछन् । यो आयोजना संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा गतवर्षदेखि कार्यान्वयन भइरहेको छ । जसले भेरी नदीको पाँच सय ६० लिटर प्रतिसकेन्ड पानी तानेर वीरेन्द्रनगरवासीलाई दीर्घकालीन स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ ।
१३ भदौ २०८१ बाट सुरु भएको आयोजना निर्धारित समयमा सपन्न हुने आशाबीच अघि बढिरहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा अघि बढिरहेको आयोजना कार्यान्वयनको नेतृत्व वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ ।
जसमा ८० प्रतिशत संघ, १३ प्रतिशत प्रदेश र सात प्रतिशत वीरेन्द्रनगर नगरपालिकाको साझेदारी छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेतका प्रमुख रविन्द्र रायले हालसम्म आयोजनाले ३० प्रतिशत भौतिक प्रगति हासिल गरेको बताए ।
उनका अनुसार प्याकेज–१ अन्तर्गत लेकबेँसी नगरपालिका– १०, मा पानी प्रशोधन प्लान्ट, वीरेन्द्रनगर–११ को अमृतडाँडामा ३०/३० लाख क्षमताका तीनवटा मुख्य ट्याङ्ककी निर्माण कार्य जारी छ । त्यस्तै, पानी प्रशोधन प्लान्टबाट मुख्य ट्याङ्कीसम्म पाइपलाइन विस्तार कार्य पनि अघि बढ्ने चरणमा छ ।
पहिलो प्याकेजअन्तर्गत अमृतडाँडाबाट वीरेन्द्रनगर उपत्यकाका चार स्थानमा निर्माण हुने पानी वितरण ट्याङकीसम्म विस्तार गरिने पाइपलाइन बिछ्याउने कार्य जारी छ । उनका अनुसार ३५ किलोमिटरमध्ये हालसम्म २८ किलोमिटर पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ ।
‘हालसम्म आयोजनाले ३० प्रतिशत भौतिक प्रगति गरेको छ,’ उनले भने, ‘पहिलो प्याकेजअन्तर्गतका कामले गति लिएका छन् । बीचमा कुनै प्राविधिक वा स्थानीयस्तरमा समस्या नआए दुई वर्षभित्र भेरीको पानी उपत्यकामा आउँछ ।’ उनका अुसार पहिलो प्याकेज तीन अर्ब ५० करोड आठ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो ।
दोस्रो प्याकेजअन्तर्गत प्रत्येक घरधुरीमा पाइप सञ्जाल विस्तार, धारा जडान र आयोजना सञ्चालन र व्यवस्थापन प्रणाली निर्माणका लागि ग्लोबल टेन्डर आह्वान भई आएका ठेक्का निवेदन मूल्यांकनको चरणमा रहेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमा ढकालले बताइन । उनले निर्धारित समयमा आयोजनालाई पूर्णता दिनेगरी काम अघि बढिरहेको बताइन ।
वीरेन्द्रनगरको १८ करोड बजेट
वीरेन्द्रनगर नगरपालिकाले भेरी लिफ्टिङ आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा १८ करोड बजेट विनियोजन गरेको छ । उपर्युक्तको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टिङ आयोजनामा अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्न आवश्यक १८ करोड स्थानीय स्रोतबाट म्याचिङ फण्डको व्यवस्था गरिएको नगर प्रमुख ढकालले बताइन ।
उनले हाल नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरूको मर्मत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रममार्फत बजेट विनियोजन गरेको बताइन ।
भेरी लिफ्टिङ आयोजनाले पूर्णता पाएपछि अहिले खानेपानीको सहज आपूर्तिका लागि निर्माण गरिएका भूमिगत जलस्रोतबाट पानी तान्ने डिप बोरिङ बन्द गर्ने नीति अपनाईने नगर प्रमुख ढकालको भनाई छ ।
त्यस्तै, लागत साझेदारी अन्तर्गगत कर्णाली प्रदेश सरकारले भेरी लिफ्ट र सल्यानको शारदा नगरपालिकाको जर्ख लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन ३० करोड बजेट व्यवस्थापन गरेको छ ।
यसरी बनेको थियो भेरी लिफ्टको अवधारणा
वीरेन्द्रनगरमा खानेपानीको समस्या अहिलेको भने होइन, २०५७ सालमा स्थापना भएको झुप्रा बृहत् हालको सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ ।
तत्कालिन सयममा झुप्रा बृहत्को डिजाइनमा २०७१ सम्म बढ्न सक्ने एक लाख चार हजार जनसंख्यालाई आधार मानिएका थियो । २०६० सालमा वीरेन्द्रनगरको कुल जनसंख्या ५४ हजार थियो । झुप्रा बृहत खानेपानी आयोजना निर्माणपछि वीरेन्द्रनगरमा २०६४ सम्म खानेपानीको सहज आपूर्ति हुन्थ्यो । तर, २०६१/२०६२ मा तत्कालीन नेकपा माओवादी र राज्यपक्षबीच चलेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो ।
सोही समयमा सुरक्षाका कारण वीरेन्द्रनगर बसाइ सर्नेको संख्या ह्वात्तै बढ्यो । जसका कारण २०७१ मा एक लाख चार हजार जनसंख्या पुग्ने आकलन गरिएकोमा चार/पाँच वर्षअघि नै वीरेन्द्रनगरको जनसंख्या दोब्बर भएपछि मागअनुसारको खानेपानी पुर्याउन सकस भइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारी बताउँछन् । वीरेन्द्रनगरमा खानेपानीको हाहाकारको शृंखला प्रदेश राजधानी भएयता झन् चुलिएको छ ।
२०७२ को संविधान जारी भएपश्चात् सुर्खेतलाई कर्णालीको राजधानी बनाइयो । राजधानीका सम्पूर्ण संरचनाहरू वीरेन्द्रनगरमा स्थापना भए । त्यसपश्चात् वीरेन्द्रनगरको जनसंख्या एक्कासि बढ्यो । झण्डै २० हजार चार सय २९ घरधुरीलाई पुगनपुग पानीको आपूर्ति भइरहेको अवस्थामा यो संख्या बढेर झण्डै ३५ हजार पुगेपछि खानेपानीको आपूर्ति शृंखला झनै बिग्रिएको तिवारी बताउँछन् ।
सुर्खेत उपत्यकामा अहिलेको अवस्थामा तीन सय ७१ लिटर प्रतिसेकेन्ड पानी आवश्यक रहेकोमा आपूर्ति भने एक सय ५४ लिटर मात्रै रहेको उनी बताउँछन् । उनका अनुसार सुरुमा झुप्रा खोलाबाट मात्रै पानी ल्याइएको थियो । पछि माग बढ्दै गएपछि खरी र बोरी खोलाको पानी झुप्रामा थप गरियो । तर, मागअनुसारको आपूर्ति भने हुन नसकेपछि वीरेन्द्रनगरमा दीर्घकालीन खानेपानीको विकल्प खोजियो ।
त्यही विकल्पस्वरूप २०७३ सालमा भेरी लिफ्टको अवधारणा अघि सारिएको उनी बताउँछन् । उतीबेला संस्थाको साधारणसभाबाट भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याउने प्रस्ताव पारित गरिएको थियो । त्यसको झण्डै आठ वर्षपछि आयोजना कार्यान्वयन गएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी अघि बढाइएको आयोजनाबाट ल्याइने भेरीको पाँच सय ६० लिटर प्रतिसेकेन्ड र अहिले आपूर्ति भइरहेको एक सय ५४ लिटर प्रतिसेकेन्ड पानीले वीरेन्द्रनगरमा सन् २०५० सम्म वृद्धि हुनसक्ने जनसंख्याको आवश्यकता धान्ने उनी बताउँछन् ।






