कनकमुनि माध्यमिक विद्यालयमा वार्षिक परीक्षाफल सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत
कपिलवस्तु ,२८ चैत ।
कपिलवस्तु नगरपालिका स्थित श्री कनकमुनि माध्यमिक विद्यालयले शुक्रबार एक औपचारिक समारोहका बीच वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जनार्दन वारीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समाजसेवी ललित गुरुङ र अब्दुल सत्कार खान र शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष जयप्रकाश यादवको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मन्तव्य राख्दै जनार्दन वारीले पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने, विद्यार्थीहरूलाई नियमित विद्यालय आउन प्रोत्साहित गर्ने तथा उनीहरूको भविष्य उज्ज्वल बनाउन सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। 
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर खत्रीले विद्यालयले मात्र चाहेर शैक्षिक सुधार सम्भव नहुने बताउँदै अभिभावक र विद्यार्थी स्वयंको मेहनत अत्यावश्यक हुने उल्लेख गर्नुभयो। उहाँले कक्षा १२ सम्म अध्ययन निरन्तरता दिन विद्यार्थीहरूलाई आग्रह गर्दै जीवन उपयोगी सीप, नैतिक शिक्षा र संस्कारयुक्त शिक्षामा विद्यालयले विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो। “संस्कार बिना शिक्षाको अर्थ हुँदैन, त्यसैले घरपरिवारले पनि बालबालिकालाई राम्रो आचरण सिकाउनुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रमका क्रममा कक्षा १ देखि ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, यस वर्षदेखि विद्यार्थीहरूमा पढाइप्रति रुचि बढाउन र नियमित उपस्थिति सुनिश्चित गर्न विभिन्न विधामा पनि सम्मान गरिएको विद्यालयले जनाएको छ। सबैभन्दा बढी हाजिरी हुने, सरसफाइमा उत्कृष्ट, परियोजना कार्यमा उत्कृष्ट अंक ल्याउने तथा अनुशासित विद्यार्थीहरूलाई र स्कुल प्रथम द्वितीय र तृतीय हुने (१-५) र (६-९) विशेष पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार प्राप्त गरेपछि विद्यार्थीहरूले थप उत्साहित भएको र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न आफुहरुलाई प्रेरणा मिलेको बताएका थिए।
मन्तव्यकै क्रममा विद्यालयका सहायक प्रधानाध्यापक बन्शिधर हलुवाईले पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिँदै अन्य विद्यार्थीलाई पनि उनीहरूबाट प्रेरणा लिन आग्रह गर्नुभयो। उहाँले “अरूको सफलता देखेर आफू पनि त्यही स्थानमा पुग्ने लक्ष्य राखेर मेहनत गर्नुपर्छ, शिक्षा बिना कुनै पनि उपलब्धि सम्भव छैन,” भन्दै विद्यार्थीहरूलाई अध्ययनमा गम्भीर हुन आग्रह गर्नुभयो।

कार्यक्रम सञ्चालन बलबहादुर खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य सिर्जना खत्रीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितासङ्गै सास्कृतिक प्रस्तुति समेत देखाइएको थियो।
विद्यालयले आगामी शैक्षिक सत्रका लागि वैशाख १५ गतेदेखि नयाँ भर्ना सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने जानकारी समेत दिएको छ।








