२५० नयाँ टावरसहित एनसेलको फोरजी सुदृढीकरण, २,२०० साइटमा क्षमता विस्तार

काठमाडौं, २० पुस।
एनसेलले देशभर फोरजी नेटवर्कको पहुँच विस्तार र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले सन् २०२५ मा महत्वपूर्ण प्रगति हासिल गरेको छ । कम्पनीले वर्षभरिमा २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याउनुका साथै २,२०० भन्दा बढी साइटमा क्षमता अभिवृद्धि गरेको छ । यससँगै ग्राहकहरूले अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको मोबाइल डेटा प्रयोग गर्न सक्ने भएका छन् ।
विश्वसनीय कनेक्टिभिटी अहिले केवल सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय र परिवारसँग निरन्तर सम्पर्कको आधार बन्दै गएको अवस्थामा एनसेलले फोरजी नेटवर्क सुदृढीकरण र विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरिएको छ भने विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा यो अभियानलाई केन्द्रित गरिएको थियो ।

प्रदेशगत रूपमा हेर्दा, कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौरलगायत स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत क्षेत्रमा पनि नयाँ टावर सञ्चालनमा आएका छन् । यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौँ स्थानमा नयाँ टावर जडान भएपछि स्थानीय बासिन्दा उच्च गुणस्तरको भ्वाइस तथा मोबाइल ब्रोडब्यान्ड सेवाबाट लाभान्वित भएका छन् ।
जनकपुर उपमहानगरपालिका–१७, मनहरपुरकी बिबिए अध्ययनरत अनिशा मण्डलले नयाँ टावर सञ्चालनपछि इन्टरनेट सेवा उल्लेखनीय रूपमा सुधार भएको बताइन् । “अहिले त घरभित्रै पनि राम्रो नेट चल्छ, पहिलेभन्दा धेरै सुधार भएको छ,” उनले भनिन्, “पढाइका लागि अनलाइन नोटिस हेर्न, नोट आदानप्रदान गर्न, युट्युब र च्याटजीपीटीबाट सिक्न इन्टरनेट अत्यावश्यक छ । दाइहरू विदेशमा भएकाले नियमित सम्पर्कका लागि पनि राम्रो नेटवर्क चाहिन्छ ।”
कुल २५० नयाँ टावरमध्ये १९७ वटा पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टक तथा स्पेयर उपकरणको अधिकतम उपयोग गर्दै ५३ वटा टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट लामो समय रोकिएको सहजीकरण खुलेपछि कम्पनीले नयाँ टावर स्थापनाको काम तीव्र बनाएको हो ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपेन्द्र दत्तका अनुसार नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरूले स्थानीय तहमा मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । “फोरजी कनेक्टिभिटी केवल गति मात्र होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो,” उनले भने, “यसले आधारभूत सञ्चार, व्यवसाय, अध्ययन र सधैं सम्पर्कमा रहन चाहने ग्राहकका लागि ठूलो महत्व राख्छ ।”
नयाँ टावर संख्याका हिसाबले मधेश प्रदेशमा १०० भन्दा बढी, लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना भएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू जडान गरिएको छ । नयाँ उपकरण आयातमा प्रतिबन्ध रहेका बेला पनि एनसेलले स्टक र स्पेयर उपकरण प्रयोग गरी फोरजी सुधार र विस्तार कार्य निरन्तर जारी राखेको जनाएको छ ।
यस विस्तारसँगै देशव्यापी रूपमा फोरजी नेटवर्क पहुँच अझ सुदृढ हुने र सेवाको गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ । विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताअनुसार एनसेलले जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी पहुँच पुगेको कम्पनीले जनाएको छ ।






