सार्वजनिक सेवा प्रवाहको निगरानी र सुधारमा युवा परिचालन गरिने, ३० जना सहभागीलाई प्रशिक्षक प्रशिक्षण
बर्दिया ,१५ कार्तिक ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय र जवाफदेही बनाउन युवाहरूको भूमिका सुदृढ गर्ने उद्देश्यले बर्दियामा सञ्चालन गरिएको युवा नागरिक स्कोर कार्ड (Youth Citizen Score Card–YCSC) सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ। सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) द्वारा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो।

अक्टोबर २८ देखि नोभेम्बर १ (कात्तिक १२ देखि १६ गते) सम्म सञ्चालन भएको तालिममा बर्दियाका मधुवन, गुलरिया र ठाकुरबाबा नगरपालिकाका २० जना युवा स्वयंसेवक तथा परियोजनाका कर्मचारीसहित ३० जनाको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य युवाहरूलाई सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्न सक्षम बनाउनुका साथै बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार प्रवर्द्धनमा उनीहरूको नेतृत्वदायी भूमिका स्थापित गर्नु रहेको थियो।

तालिमका क्रममा सहभागीहरूलाई सरकारी विद्यालय तथा स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर मूल्याङ्कन गर्ने, सेवाग्राही तथा अभिभावकको सन्तुष्टिको अवस्था विश्लेषण गर्ने र सेवा प्रदायक निकायको भूमिका तथा जिम्मेवारीको समीक्षा गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। त्यसैगरी सार्वजनिक सेवा प्रवाहमा देखिएका सबल पक्ष, चुनौती र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने व्यावहारिक सीपसमेत प्रदान गरिएको थियो।
विशेषगरी सीमान्तकृत तथा पछाडि पारिएका समुदायका बालबालिका, किशोरकिशोरी र युवाहरूले सार्वजनिक सेवामा समान तथा सहज पहुँच पाउनुपर्ने विषयलाई तालिममा प्राथमिकता दिइएको थियो। सहभागीहरूलाई सरोकारवाला निकायसँग प्रभावकारी समन्वय र संवाद गर्ने, प्रमाणमा आधारित सूचना तथा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने एवं सेवा प्रवाह सुधारका लागि व्यावहारिक सुझाव र कार्ययोजना तयार गर्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो।

तालिम समापन समारोह बाँके युनेस्को क्लबका उपाध्यक्ष निरजकुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथि तथा प्लान इन्टरनेशनल नेपाल, सुर्खेतकी क्षेत्रीय कार्यक्रम प्रबन्धक मीना पराजुली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भाटले युवाहरू समुदायका अमूल्य सम्पत्ति र सकारात्मक सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको बताउनुभयो। उहाँले बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य हानिकारक सामाजिक अभ्यासविरुद्धका अभियानमा युवाहरूले सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, विशिष्ट अतिथि पराजुलीले बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकार, विद्यालय, समुदाय र अन्य सरोकारवाला निकायबीच आपसी सहकार्य र समन्वय हुन सके बालअधिकार संरक्षण तथा किशोरी सशक्तीकरणका अभियान थप प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा बाँके युनेस्को क्लबका उपाध्यक्ष गौतमले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरकिशोरी तथा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समुदायस्तरका अभियान तथा सामाजिक पहलमा युवाहरूले आत्मविश्वास, जिम्मेवारीबोध र जवाफदेहिताका साथ नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तालिममा सहभागी युवा स्वयंसेवकहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि युवा नागरिक स्कोर कार्डको अवधारणालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आ–आफ्नो समुदायमा प्रयोग गर्दै बालअधिकार प्रवर्द्धन, किशोरकिशोरीको सशक्तीकरण तथा गुणस्तरीय शिक्षा र बाल संरक्षण सेवामा पहुँच अभिवृद्धिका लागि काम गर्ने उनीहरूको प्रतिबद्धता छ।
तालिमपछि युवा स्वयंसेवकहरूले विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था, किशोरी तथा अन्य सरोकारवालासँग समन्वय, परामर्श, छलफल र अन्तरक्रिया गर्नेछन्। उनीहरूले सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गरी सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने र गुणस्तरीय शिक्षा तथा प्रभावकारी बाल संरक्षण सेवाका लागि पैरवी गर्नेछन्।
पाँचदिने तालिमको सहजीकरण रोशन तिमिल्सेनाले गर्नुभएको थियो। तालिमले युवा नेतृत्वमा आधारित सामाजिक जवाफदेहिता, सार्वजनिक सेवा प्रवाहमा नागरिक निगरानी तथा स्थानीय सुशासनमा युवाहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सुरक्षित भविष्य परियोजना (Safe Future for Children, Adolescents and Youth–CAY Project) प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा बर्दियामा कार्यान्वयन भइरहेको छ। परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार संरक्षण, सशक्तीकरण र उनीहरूको सार्वजनिक सेवामा पहुँच अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।






