बाँके–१ बाट सूर्य ढकालको एकल नाम सिफारिस, एमालेभित्र सशक्त नेतृत्वको सन्देश

बाँके ,२० पुस।
नेकपा एमालेले देश र जनताको सेवाका लागि राजनीति गर्ने आफ्नो मूल मर्मलाई आत्मसात गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा युवा नेता सूर्य ढकालको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र संगठन, विचार र जनआधारमा सशक्त नेताका रूपमा स्थापित ढकालमाथि भरोसा व्यक्त गरिएको हो ।
नेकपा एमालेका नेता–कार्यकर्ताहरू पार्टीको नीति, सिद्धान्त र कार्यक्रमअनुसार देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइँदै आएको छ । यही सन्दर्भमा काम गरेर नथाक्ने, जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने र दिइएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पन्न गर्ने क्षमताका कारण सूर्य ढकाललाई बाँके–१ बाट एकल नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
वि.सं. २००६ साल वैशाख १० गते कम्युनिष्ट पार्टी स्थापना भएको बाँके जिल्लामा २००९ सालदेखि कम्युनिष्ट आन्दोलनको प्रभाव निरन्तर विस्तार हुँदै आएको छ । सीतापुर, कोहलपुरलगायत क्षेत्रहरूले कम्युनिष्ट विचारलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी बाँके क्षेत्र नम्बर १ (कोहलपुर) ले नेकपा एमालेको सांगठनिक, वैचारिक र राजनीतिक नेतृत्वमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मानिन्छ ।
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीभित्र कार्यकर्ताको उचित व्यवस्थापन चुनौतीको विषय रहँदै आएको अवस्थामा सूर्य ढकाल भने अनेरास्ववियु, युवा संघ हुँदै पार्टी कमिटीका विभिन्न तहमा निरन्तर क्रियाशील रहनुभयो । लामो समय तेस्रो पंक्तिमा रहेर संगठन निर्माणमा खटिनुभएका ढकालले कठिन परिस्थितिमा समेत पार्टीप्रतिको निष्ठा र जिम्मेवारीबाट आफूलाई अलग गर्नुभएन ।
माधव नेपाल नेतृत्वको समूहले एमालेबाट अलग भएर नयाँ दल गठन गर्दा बाँकेका धेरै पदाधिकारी पार्टी छोडेको संवेदनशील अवस्थामा सूर्य ढकाललाई महत्वपूर्ण जिम्मेवारी दिइयो । तेस्रो पंक्तिमा रहेर काम गरिरहेका उहाँले सो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै बाँके जिल्लामा पार्टी निर्माणको नमुना व्यक्तित्वको रूपमा आफूलाई स्थापित गर्न सफल हुनुभयो ।
संगठन र निर्वाचन दुवैमा सफल
सूर्य ढकाल जिल्ला अध्यक्ष हुँदै १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्यकै हैसियतमा उम्मेदवार बनेर गठबन्धनलाई ५ हजार ५ सय मतको अन्तरले पराजित गर्दै विजय हासिल गर्न सफल हुनुभयो । यसले उहाँलाई पार्टीको आन्तरिक संगठनात्मक जीवन र संसदीय निर्वाचन दुवैमा सफल नेताका रूपमा स्थापित गरेको छ ।
नेतृत्व उत्पादन गर्ने क्षेत्रबाट एकल सिफारिस
बाँके क्षेत्र नम्बर १ होमप्रकाश सुवेदी, हरि पराजुली, भरत अधिकारी, देवराज भार, दिनेशचन्द्र यादव, अशोक कोइराला, प्रेम भुसाल, नरेन्द्र शर्मा, गोपाल गिरी, बलराम भट्टराई, बसन्ती अधिकारी, आरती पौडेल, रामदा थारु, डोलराज अर्याललगायत धेरै प्रभावशाली नेताहरूले काम गरेको क्षेत्रका रूपमा चिनिन्छ । यही क्षेत्रबाट संगठनका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी निर्माणको अभियानमा सक्रिय रहँदै आएका छन् ।
यति धेरै अनुभवी र सक्षम नेताहरू रहेको क्षेत्रबाट सूर्य ढकालको नाम सर्वसम्मत रूपमा एकल सिफारिस हुनु आफैंमा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ । यसले पार्टीभित्र उहाँप्रतिको भरोसा, स्वीकार्यता र नेतृत्व क्षमताको स्पष्ट संकेत गर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।






