एमाले उम्मेदवार सिफारिसमा असन्तोष

गाेल्डेन बुढा
जुम्ला ,२० पुस।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले जुम्लामा उम्मेदवार चयन प्रक्रिया विवादित बनेको छ। आइतबार जिल्ला कमिटीले अध्यक्ष शान्तीलाल महतलाई एकल सिफारीस गरेको छ। पार्टी स्रोतका अनुसार कमिटीको निर्णयलाई “संस्थागत ठम्याई” मान्दै अनुमोदन गरिएको भए पनि यसले पार्टीभित्र र कार्यकर्ता माझ गहिरो असन्तोष सिर्जना गरेको छ।
एमाले जुम्ला इन्चार्ज रतनाथ योगीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् कि उनी बैठकमा उपस्थित हुन मौसमले रोकिएको थियो। तर,उनका केही समर्थक र कार्यकर्ताले प्रश्न उठाएका छन्। भौतिक उपस्थित नहुने नेता पनि सिफारीस प्रक्रियामा किन विचारमा आएनन्? यो विषयले पार्टीभित्र नेतृत्वको केंद्रीकरण र पारदर्शिताको कमीको प्रश्न उठाएको छ।योगीले सामाजिक सञ्जालमा भनेका छन् कि उनी पार्टी र आन्दोलनका लागि लामो समयदेखि सक्रिय छन्। “मैले विगतमा विद्यार्थी आन्दोलन, युवा अभियान, जन आन्दोलन २०६२/०६३, २०७२ को संविधान जारी गर्दा र पार्टीका अभियानहरूमा अग्र भूमिका निर्वाह गरेको छु। पार्टीको निर्णय कहिल्यै उल्लङ्घन गरेको छैन,” उनले लेखेका छन्। तर कार्यकर्ता र पार्टीका केही नेताहरूले उनको अनुपस्थितिलाई बेवास्ता गरी अध्यक्षको समर्थनमा सिफारीस अगाडि बढाइएको भन्दै असन्तोष व्यक्त गरेका छन्।यस किसिमको निर्णयले कार्यकर्ता मनोबल कमजोर पार्न सक्ने र निर्वाचन अघि मतदाता विश्वासमा असर पार्न सक्ने खतराको संकेत देखाउँछ। विगतको निर्वाचन अनुभवले पनि चेतावनी दिएको छ। जुम्लामा २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो भए पनि प्रत्यक्षतर्फ तेस्रो भएको इतिहास छ। उनले नराम्रो गरि हार व्यहोर्नुपरेको थियोे।यसले देखाउँछ कि कार्यकर्ताको सक्रियता र लोकप्रिय नेताको समर्थन आवश्यक भए पनि पारदर्शिता र सहभागी निर्णय प्रक्रियाको कमीले पार्टीलाई चुनौती दिन सक्छ।कार्यकर्ता र स्थानीय नेताहरूले प्रश्न उठाएका छन्। यदि अनुभवी नेता र सक्रिय कार्यकर्ताको विचारलाई बेवास्ता गरी सिफारीस गरिएको छ।भने, आगामी निर्वाचनमा पार्टीको आधारभूत एकता कसरी कायम रहला? यसरी एकल सिफारीस निर्णयले पार्टीभित्रको लोकतान्त्रिक मूल्य र निर्णय प्रक्रियामा शंका थपेको देखिन्छ।रतननाथ योगीले सामाजिक सञ्जालमार्फत पार्टी र राष्ट्रिय हितका लागि सदैव अग्रणी भुमिका निर्वाह गर्दै आएको र व्यक्तिगत स्वार्थभन्दा माथि पार्टीको हितलाई प्राथमिकता दिएको दाबी गरेका छन्। उनले भनेका छन्, “मैले विगतमा कहिल्यै पार्टीको विरोध वा व्यक्तिगत लाभका लागि पार्टीको निर्णय उल्लङ्घन गरेको छैन। पार्टी र राष्ट्रिय हित संकटमा पर्दा म उभिने प्रण गर्दछु।”तर, घुमाउरो तरिकाले चेतावनी दिएका छन् कि निर्वाचन अघि पार्टीभित्र उठेका प्रश्न र असन्तुष्टिका संकेतले मतदाता विश्वासमा असर गर्न सक्छ। नेतृत्व केन्द्रित निर्णय, पारदर्शिताको अभाव र भौतिक उपस्थित नेताको विचारलाई बेवास्ता गर्नुले पार्टीभित्रको एकता र अभियानमा समस्या उत्पन्न गर्न सक्छ।स्रोतहरूका अनुसार, पार्टी नेतृत्वले शान्तीलाल महतलाई सिफारीस गरेपछि पनि निर्वाचन तयारी तीब्रता बढाएको छ। तर कार्यकर्ता स्तरमा असन्तोष र प्रश्नहरूले आगामी निर्वाचनमा पार्टीका लागि चुनौती थप्ने संभावना उच्च रहेको छ।
जुम्ला निर्वाचनमा नेकपा एमालेका कार्यकर्ता र स्थानीय नेताहरूलाई पार्टीको रणनीति र उम्मेदवार चयन प्रक्रियामा बढी पारदर्शिता र सहभागी निर्णयको आवश्यकता रहेको देखिन्छ। विगतको अनुभव, वर्तमान विवाद, र कार्यकर्ताको असन्तोषलाई ध्यानमा राख्दै, आगामी निर्वाचनमा एमालेको रणनीति र उम्मेदवारको सफलता चुनौतीपूर्ण देखिएको छ।


