सिँजा क्याम्पस आङ्गिक गर्न मन्त्रीसँग माग

गाेल्डेन बुढा
जुम्ला,२० पुस।
जुम्लाको नाग्म-गमगडी सडक हुँदै यात्रा गर्ने जो,कोही सिँजाको उकालो पार गर्दा दायाँतिर देखिने केही पुराना भवनतर्फ एकछिन आँखा ठोक्किन्छ। न घेराबार छ, न विद्यार्थीको चहलपहल। वर्षायाममा गौचरण जस्तो देखिने त्यो खुला मैदान र जीर्ण भवनहरू नै हुन्।सिँजा बहुमुखी क्याम्पस।२०६७ सालमा जब यो क्याम्पस स्थापना भयो, जुम्लाको सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका बासिन्दामा नयाँ आशा पलाएको थियो। “घरआँगनमै क्याम्पस आयो,” भन्ने उत्साह त्यतिबेला गाउँ–गाउँमा फैलिएको थियो। पहिलो वर्षमै झन्डै तीन सय विद्यार्थी भर्ना भए।
दुर्गम जुम्लाका लागि त्यो ठूलो उपलब्धि थियो।आज क्याम्पसमा वर्षभरि कक्षा चल्दैन। हरेक वर्ष जम्मा १५- २० जना विद्यार्थी भर्ना हुन्छन्। धाैँ धाैँ गरि।तीमध्ये अधिकांश विद्यार्थी यहाँ पढ्न होइन, यहाँको नाममा परीक्षा दिन मात्रै आउँछन्।“क्याम्पस चलाउन विद्यार्थीले तिरेको शुल्क नै सहारा हो,” क्याम्पस प्रमुख तीर्थ नेपाल भन्छन्, “स्थायी शिक्षक छैनन्, दरबन्दी छैन। पार्टटाइम शिक्षकले जसोतसो पढाइरहेका छन्।
”सिँजा बहुमुखी क्याम्पसले २०६९ सालमै त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तह सञ्चालनको स्वीकृति पाएको हो। अङ्ग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, मार्केटिङ र फाइनान्स पढाइ सुरु भयो।तर,स्वीकृति पाएपछि राज्यको भूमिका लगभग सकियो।उनलेे भने,न बजेट, न शिक्षक दरबन्दी, न पूर्वाधार सुधार,परिणामस्वरूप क्याम्पस बिस्तारै नाम मात्रको शैक्षिक संस्था बन्न पुग्यो।भवनहरू पुराना छन्। भिरालो जमिन भएकाले वर्षेनी पहिरो खस्छ। घेराबार नहुँदा चौपाया चरिरहेका देखिन्छन्। कतिपय दिन क्याम्पस विद्यालयभन्दा पनि खाली चौर जस्तो देखिन्छ।विद्यार्थी नआउनुको कारण केवल भौतिक अवस्था होइन्। नियमित कक्षा नचल्नु, परीक्षा केन्द्र अन्यत्र पर्नु, शिक्षक नहुनु। यी सबैले विद्यार्थीलाई बाहिर जान बाध्य बनाएको छ।“यहाँ भर्ना भएर पनि पढ्न बाहिर जानुपर्छ भने किन भर्ना गर्ने?” अभिभावकहरुको प्रश्न छ।जुम्लाको कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीहरुको पठनपाठन सहस होस् भन्ने उद्देश्यले सिंजा-१ जाँचमा २०६७ सालमा सिंजा बहुमुखी क्याम्पसको स्थापना थियो । शिक्षाविद् भन्छन, दुर्गम क्षेत्रमा क्याम्पस खोल्नु मात्र पर्याप्त हुँदैन। निरन्तर सरकारी लगानी, गुणस्तरीय शिक्षक र स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम नभएसम्म क्याम्पस जीवित रहँदैन।यही अवस्थालाई लिएर सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल नेतृत्वको टोली हालै काठमाडौँ पुग्यो। शिक्षामन्त्री महावीर पुनसँग भेटेर सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरियो।“यो क्षेत्रको एकमात्र उच्च शिक्षा केन्द्र हो,” धितालले मन्त्रीसँग भनेका थिए, “यसलाई बचाइएन भने विद्यार्थीको भविष्य अन्धकार हुन्छ।”भेटका क्रममा मन्त्री पुनले क्याम्पसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। टोलीले विश्वविद्यालय अनुदान आयोगसम्म पुगेर शिक्षक दरबन्दीको माग पनि गरेको छ।तर, सिँजाका बासिन्दाले यस्ता प्रतिबद्धता यसअघि पनि धेरै सुनेका छन्।
कर्णाली राजमार्गको नाग्म-गमगडी सडकसँगै रहेको यो क्याम्पस पर्यटन, इतिहास र शिक्षा जोड्ने केन्द्र बन्न सक्थ्यो। तर, अहिले यही सडक हुँदै हिँड्ने धेरै यात्रु क्याम्पस देखेर हाँसो उडाउँछन्।१५ वर्षअघि देखिएको सपना आज प्रश्न बनेको छ।सिँजा बहुमुखी क्याम्पस फेरि विद्यार्थीको आवाजले गुञ्जिनेछ, कि राज्यको बेवास्ताको अर्को उदाहरण बनेर इतिहासमै सीमित हुनेछ?यसको उत्तर अब आश्वासन होइन, कार्यान्वयनले दिनेछ।


