नियमित दिनचर्या र अभिभावकको माया नै अटिजम भएका व्यक्तिको विकासको आधार

बाँके,१ पुस।
अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या, अभिभावकको सक्रिय सहभागिता र सकारात्मक वातावरण अत्यन्त आवश्यक हुने सरोकारवालाले जोड दिएका छन्। अभिभावक सचेत, धैर्यवान् र सकारात्मक भए अटिजम भएका बालबालिकाको व्यवहार नियन्त्रण तथा समग्र विकास सम्भव हुने उनीहरूको निष्कर्ष छ।
अटिजम भएका व्यक्ति, उनीहरूका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित दुई दिने सीप विकास तालिममा सहभागी वक्ताहरूले यस्ता धारणा व्यक्त गरेका हुन्। तालिम नेपालगन्ज स्वीमिङ क्लबले आकार फाउण्डेसन मोरङको सहयोग तथा लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र युथसँगको सहकार्यमा आयोजना गरेको हो। तालिममार्फत अटिजमसम्बन्धी बुझाइ अभिवृद्धि गर्दै व्यवहार व्यवस्थापन, दैनिक जीवन कौशल र अभिभावक–बाल सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

तालिमका सहजकर्ता तथा आकार फाउण्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा) ले अटिजम भएका व्यक्तिलाई सबैभन्दा बढी आफ्नै अभिभावकको आवश्यकता पर्ने बताउनुभयो। परिवारको पर्याप्त समय, माया र अपनत्वबाट मात्र उनीहरूको उचित हेरचाह सम्भव हुने उहाँको भनाइ छ। “अटिजम कुनै रोग होइन, यो एउटा विकासात्मक अवस्था हो,” उहाँले भन्नुभयो, “सही बुझाइ, धैर्य र निरन्तर अभ्यासले बालबालिकाको व्यवहार र क्षमतामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।”
थापाले तालिममा अभिभावकलाई बालबालिकालाई निश्चित र पूर्वानुमान गर्न सकिने दिनचर्यामा राख्नुपर्ने, सरल र स्पष्ट भाषा प्रयोग गरी कुरा बुझाउनुपर्ने तथा तनावरहित र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने विषयमा व्यावहारिक अभ्याससहित जानकारी दिनुभयो। कराउने, डर देखाउने वा अत्यधिक दबाब दिने व्यवहारले समस्या झनै जटिल बनाउन सक्ने भन्दै उहाँले प्रोत्साहन, प्रशंसा र माया देखाएर व्यवहार सुधारमा सहयोग पुर्याउनुपर्ने सुझाव दिनुभयो। साना–साना उपलब्धिलाई पनि सफलताका रूपमा स्वीकार गर्दै निरन्तरता दिन सके सकारात्मक नतिजा आउने उहाँको भनाइ थियो।
कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले पछिल्ला वर्षहरूमा अटिजमका घटना बढ्दै गएको उल्लेख गर्नुभयो। रोकथाम तथा व्यवस्थापनका लागि अभिभावकले सन्तानलाई पर्याप्त समय दिनुपर्ने र ग्याजेटमा निर्भरता घटाउनुपर्ने उहाँको सुझाव छ। व्यस्त जीवनशैलीका कारण बालबालिकासँग संवाद र प्रत्यक्ष समय कम हुँदै गएको उल्लेख गर्दै उहाँले ग्याजेटको भरमा बच्चा हुर्काउँदा सामाजिक र व्यवहारिक समस्या थप बढ्न सक्ने चेतावनी दिनुभयो। “बालबालिकासँग खेल्ने, कुरा गर्ने र सुन्ने बानीले उनीहरूको भावनात्मक विकासमा ठूलो भूमिका खेल्छ,” उहाँले भन्नुभयो।
नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले अटिजमसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा सामाजिक उत्तरदायित्वका रूपमा यस्तो तालिम आयोजना गरिएको बताउनुभयो। समुदायस्तरमै चेतना फैलाउने र अभिभावकलाई सशक्त बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो।
तालिममा बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका करिब ५० जनाभन्दा बढी अटिजम भएका व्यक्ति, अभिभावक तथा हेरचाहकर्ताको सहभागिता रहेको छ। सहभागीहरूले तालिमले व्यवहार व्यवस्थापन, दैनिकी सहज बनाउने उपाय र अभिभावकको भूमिकाबारे स्पष्ट बुझाइ दिएको प्रतिक्रिया दिएका छन्। आयोजकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमै सहयोगी सञ्जाल निर्माण गर्ने योजना रहेको पनि जानकारी दिएका छन्।






