२०८३ आश्विन १८ गते
×

Now Playing

सहकारी पीडितको न्यायका लागि अधिवक्ता विजय गुप्ताको आमरण अनसन, जिल्ला प्रशासन कार्यालय बाँकेमा संघर्षको नयाँ चरण

बाँके ,१ पुस।

नेपालगन्जमा सहकारी पीडितहरूले न्याय पाउनुपर्ने मागसहित अधिवक्ता विजय गुप्ताले जिल्ला प्रशासन कार्यालय बाँकेमा आमरण अनसन सुरु गर्नुभएको छ। आज दिउँसो १ बजेदेखि सुरु भएको अनसन सहकारी पीडितहरूको डुबेको बचत रकम फिर्ता गराउने र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढाइएको हो।

बाँके जिल्लामा विगत केही वर्षयता विभिन्न सहकारी संस्थाहरूमा भएको आर्थिक अनियमितता र निक्षेप हिनामिनाका कारण सयौँ बचतकर्ता र ऋणीहरू समस्यामा परेका छन्। सहकारी संस्थाहरू बन्द हुँदा ऋण लिएका नागरिकहरूले ऋण तिर्दा पनि आफ्नो धितोमा राखिएको सम्पत्ति फुकुवा गराउन नसकेको अवस्था रहेको पीडितहरूको गुनासो छ। यस्तै, धेरै बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएर आर्थिक तथा मानसिक पीडा भोगिरहेका छन्।

नेपालगन्ज नगरपालिकाका पूर्वमेयरसमेत रहनुभएका अधिवक्ता गुप्ताका अनुसार धेरै बचतकर्ताहरू समस्या समाधानका कानुनी प्रक्रिया र उपायबारे अनभिज्ञ छन्। “कसरी उजुरी दिने, कहाँ जाहेरी गर्ने भन्ने विषयमा धेरै बचतकर्ता स्पष्ट छैनन्। कतिपयले प्रहरीमा उजुरीसमेत दिएका छैनन्, जसका कारण बचत फिर्ता गराउने प्रक्रिया नै अघि बढ्न सकेको छैन,” उहाँले भन्नुभयो।

अधिवक्ता गुप्ताले सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जको उदाहरण दिँदै २०७६ सालदेखि नै समस्या देखिँदै आए पनि अहिलेसम्म संस्थालाई सुचारु गर्ने, ऋणीलाई ऋण तिर्ने वातावरण बनाउने र बचतकर्तालाई रकम फिर्ता दिलाउने दिशामा सरकारका सरोकारवाला निकायले प्रभावकारी पहल नगरेको आरोप लगाउनुभयो। “पीडितहरू वर्षौँदेखि न्यायको पर्खाइमा छन्, तर राज्य संयन्त्रको उदासीनताले समस्या झन् जटिल बन्दै गएको छ,” उहाँको भनाइ छ।

बचतकर्ताको हकहित संरक्षण र डुबेको रकम फिर्ता गराउन २०७६ सालदेखि निरन्तर संघर्ष गर्दै आउनुभएका गुप्ताले अब अन्तिम विकल्पका रूपमा आमरण अनसनको बाटो रोज्नुपरेको बताउनुभयो। उहाँका अनुसार पीडितहरूको आवाज राज्यसम्म पुर्‍याउन र जिम्मेवार निकायलाई दबाब दिन पौष १ गते दिउँसो १२ बजेबाट जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटको उत्तरपट्टि आमरण अनसन र रिले अनसन बस्नुपर्ने अवस्था आएको हो।

सहकारी पीडितहरूले सरकारसँग तत्काल छानबिन, दोषीमाथि कारबाही र बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने स्पष्ट कार्ययोजना ल्याउन माग गरेका छन्। अनसनमार्फत आफ्ना जायज माग पूरा नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनीसमेत दिइएको छ।

 

सहकारी पीडितको न्यायका लागि अधिवक्ता विजय गुप्ताको आमरण अनसन, जिल्ला प्रशासन कार्यालय बाँकेमा संघर्षको नयाँ चरण

नियमित दिनचर्या र अभिभावकको माया नै अटिजम

सहकारी पीडितको न्यायका लागि अधिवक्ता विजय गुप्ताको आमरण अनसन, जिल्ला प्रशासन कार्यालय बाँकेमा संघर्षको नयाँ चरण

चार दशकपछि जुम्लाबाट क्याबिनेट मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *