चार दशकपछि जुम्लाबाट क्याबिनेट मन्त्री

गाेल्डेन बुढा

जुम्ला,१ पुस।
माधव चौलागाईं वन तथा वातावरण मन्त्री नियुक्त हुनु केवल एक व्यक्तिको राजनीतिक उचाइ होइन । यो जुम्ला मात्र होइन, समग्र कर्णालीले चार दशकदेखि बोकेको प्रतीक्षाको अन्त्यसँग गाँसिएको क्षण हो । खस राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल र ऐतिहासिक रूपमा राज्यसत्ताको केन्द्रमा रहेको जुम्ला संघीय गणतन्त्र स्थापनापछि पनि पूर्ण (क्याविनेट) मन्त्रीविहीन रहनु सामान्य संयोग थिएन ।

यो राज्य संरचनाभित्र गहिरो रूपमा गढिएको क्षेत्रीय असन्तुलनको कथा हो ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गत मंसिर २६ गते शपथ लिएसँगै चौलागाईंले जुम्लालाई ४० वर्षपछि संघीय सरकारमा पूर्ण मन्त्रीको प्रतिनिधित्व दिलाएका छन् ।माधव जुम्लाको तातोपानी -५ लाम्रा गाउँका हुन्।

यसअघि वि.सं. २०३७ मा पञ्चायतकालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा स्वर्गीय हरिश्चन्द्र महत जलस्रोत मन्त्री बनेका थिए । त्यसयता जुम्लाबाट मन्त्री बन्ने ढोका प्रायः बन्दजस्तै रह्यो ।चार दशकमा जुम्लाबाट संसदमा प्रतिनिधित्व नभएको होइन । नेमकिपा, कांग्रेस, एमाले, माओवादीदेखि राप्रपासम्मका सांसद निर्वाचित भए । तर ती प्रतिनिधित्व सत्ता संरचनाको केन्द्रसम्म पुग्न सकेनन् । राजनीतिक विश्लेषकहरूका अनुसार यसको मूल कारण दुई तहमा देखिन्छ। कर्णालीलाई ‘मतगणनाको भूगोल’का रूपमा मात्र हेर्ने प्रवृत्ति र सत्ता निर्माणमा निर्णायक मानिने ‘कोर पावर सर्कल’मा कर्णालीका नेता पुग्न नसक्नु ।पूर्व राज्यमन्त्री बलबहादुर महत भन्छन्, “जुम्लाले आन्दोलन, बलिदान र राजनीतिक वैधता सबै दिएको छ । तर मन्त्रिपरिषद् विस्तार हुँदा जहिल्यै प्राथमिकताको अन्त्यतिर पारियो ।” बीचमा एमालेबाट बलबहादुर महत र माओवादीबाट गोमा गौतम कुँवर राज्यमन्त्री बने पनि पूर्ण मन्त्रीको हैसियत भने हरिश्चन्द्र महतपछि लामो समय रिक्त रह्यो ।संविधानसभा सदस्य नरेश भण्डारीले औंल्याएझैं जुम्लाबाट पूर्ण मन्त्री बनेका दुवै पात्र। हरिश्चन्द्र महत र माधव चौलागाईं दलको मूलधारको शक्ति केन्द्रबाट होइन, वैकल्पिक पृष्ठभूमिबाट उदाएका हुन् । यसले कर्णालीप्रति दलहरूको दृष्टिकोण स्पष्ट पार्छ । संगठन, आर्थिक शक्ति र केन्द्रसँगको पहुँच निर्णायक हुने राजनीतिमा कर्णाली सधैं कमजोर रहँदै आएको छ ।

कार्की नेतृत्वको सरकार गठनसँगै कर्णालीबाट मन्त्री बनाउने बहस सुरु भएको थियो । काठमाडौंमा रहेका कर्णालीका विज्ञ र युवाहरूले तीन जनाको नाम सिफारिस गरे, चौलागाईं तीमध्ये एक थिए । तर तीनपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि कर्णाली छुट्यो । अन्तिम क्षणमा हुम्लाकी टासी ल्हान्जोम र दैलेखका खगेन्द्र सुनारको नाम काटिएपछि चौथो विस्तारमा प्रधानमन्त्री कार्की कर्णालीलाई फेरि बेवास्ता गर्ने जोखिम लिन चाहिनन् ।चौलागाईं परम्परागत राजनीतिको उपज होइनन् । उनी आन्दोलनकारीभन्दा बढी नीति विज्ञका रूपमा चिनिन्छन् । जनस्वास्थ्य, ग्रामीण विकास र कर्णाली अध्ययन उनका कार्यक्षेत्र हुन् । कर्णालीमा करिब एक दशक स्वास्थ्यकर्मीका रूपमा काम गरेका उनले अन्तर्राष्ट्रिय संस्थामा दुई दशक बिताए पनि लेखन र सार्वजनिक बहसमार्फत कर्णालीलाई केन्द्रमै राखे । ‘जुरुक्कै कर्णाली’ गीतदेखि ‘कर्णाली डिस्कोर्स’सम्म उनको सक्रियता सांस्कृतिक पुनर्जागरणसँग जोडिन्छ ।वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन, वन व्यवस्थापन, कार्बन व्यापार र जैविक विविधतासँग जोडिएको संवेदनशील मन्त्रालय हो ।

जलवायु जोखिमको अग्रपंक्तिमा रहेको कर्णालीका लागि चौलागाईंको विज्ञता अर्थपूर्ण देखिन्छ । पदभार ग्रहणपछि उनले कर्णालीका मुद्दा संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन् । तर विश्लेषकहरू भन्छन् उनको सफलता व्यक्तिगत क्षमताभन्दा बढी संरचनात्मक अवरोध तोड्न सक्ने क्षमतामा निर्भर हुनेछ ।चार दशकपछि जुम्लाले मन्त्री पाउनु स्थानीय उत्सव मात्र होइन । यो संघीय राज्य व्यवस्थाको परीक्षा पनि हो । प्रश्न चौलागाईं सफल हुन्छन् कि हुँदैनन् भन्ने मात्र होइन। के यो नियुक्ति अपवादमै सीमित हुन्छ, कि कर्णालीलाई सत्ता संरचनामा नियमित उपस्थितिको बाटो खोल्छ ?जुम्लाले मन्त्री पाएको छ । अब राज्यले कर्णालीलाई साँच्चिकै सुन्छ कि सुन्दैन । त्यसको उत्तर चौलागाईंको कार्यकालले दिनेछ ।

को हुन् माधव चौलागाईं ?

मध्यमवर्गीय परिवारमा जन्मिएका चौलागाईंले जुम्लाकै दुर्गा निम्न माध्यमिक विद्यालयबाट शिक्षा सुरु गरे । हिमशिखर माध्यमिक विद्यालयबाट एसएलसी, कर्णाली प्राविधिक शिक्षालयबाट सीएमए र सुर्खेत शिक्षा क्याम्पसबाट स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन पूरा गरे ।

थाइल्यान्डको चुलालोङ्गोकोर्ण विश्वविद्यालयबाट पब्लिक हेल्थमा र त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी हाल मानवशास्त्रमा एमफिल अध्ययनरत छन् ।जुम्ला र हुम्लामा जनस्वास्थ्य अधिकृतका रूपमा सेवा गरेका चौलागाईंले आईएनएफ जुम्ला अस्पतालमा आठ वर्ष काम गरे । पछिल्लो दुई दशकदेखि अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थामा विज्ञका रूपमा संलग्न उनी कर्णालीका इतिहास, भाषा र संस्कृतिबारे लेख्ने लेखकसमेत हुन् । ‘सपादलक्ष’ पुस्तकका लेखक तथा ‘जुरुक्कै कर्णाली’ गीतका सर्जक चौलागाईं ‘कर्णाली उत्सव’ र ‘कर्णाली साहित्य महोत्सव’का अभियन्ता पनि हुन् ।यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा आवेदन दिए पनि छनोटमा नपरेका चौलागाईंले यसपटक भने संघीय सरकारमा मन्त्री बन्ने अवसर पाएका छन्।

चार दशकपछि जुम्लाबाट क्याबिनेट मन्त्री

सहकारी पीडितको न्यायका लागि अधिवक्ता विजय गुप्ताको

चार दशकपछि जुम्लाबाट क्याबिनेट मन्त्री

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *