“कला–संस्कृति संरक्षण समाजको पहिचान : वरिष्ठ न्यायाधीश ज्ञवाली”

बाँके, ३ मंसिर ।

उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवालीले कला, संस्कृति र संस्कारलाई एउटै धागोले जोडिएको समाजको गहना भन्दै यसको संरक्षण र प्रवद्र्धनको आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा द मदर फाउण्डेशन र नारी विकास केन्द्रद्वारा नेपालगन्जमा आयोजित कला प्रदर्शनीलाई सम्बोधन गर्दै उनले “कला र संस्कृतिलाई छुट्टयाएर बुझ्न सक्नुपर्छ, तर संस्कारसँग जोडेर यसको महत्व अझ बढाउनुपर्छ” भने ।

न्यायाधीश ज्ञवालीले नेपालमा विभिन्न विधाका कला परम्पराहरू विद्यमान रहेकाले त्यसलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सके देशको सांस्कृतिक परिचय अझ बलियो बन्ने बताए । कार्यक्रममा द मदर फाउण्डेशनका संस्थापक तथा पूर्व न्यायाधीश डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले नेपालका विविध कलालाई विश्व समुदायसमक्ष चिनाउन संस्थाले सक्रिय भूमिकासहित काम गरिरहेको जानकारी दिए ।

उनले “म नेपालगन्जमा जन्मिएको हुँ, त्यसैले यहाँको कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु मेरो दायित्व हो” भने । कार्यक्रममा पर्यटन व्यवसायी श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ तथा नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठलगायत वक्ताहरूले प्राकृतिक, सामाजिक र सांस्कृतिक दृष्टिले समृद्ध नेपालको कलालाई संरक्षण र प्रवद्र्धनमा सरकारका निकायले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कानून क्षेत्रमा योगदानका लागि वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवाली, कलाक्षेत्रका वरिष्ठ कलाकार श्यामानन्द सिंह, निःशुल्क कानूनी सेवामा सक्रिय वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी तथा पत्रकारितामा योगदान पुर्‍याएका पत्रकार राकेशकुमार मिश्रलाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नारी विकास केन्द्र नेपालगन्जकी कार्यवाहक अध्यक्ष शिला शाहलगायतलाई ‘सिल्भर मेडल’ द्वारा सम्मानित गरिएको थियो । सन् २०१९ मा युनेस्कोको ४०औँ सत्रले हरेक वर्ष नोभेम्बर १८ मा अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस मनाउने निर्णय गरेपछि विश्वभर यो दिवस मनाइँदै आएको छ ।

नेपालगन्जमा आयोजित यस वर्षको प्रदर्शनीमा दृश्यकला, वास्तुकला, सुलेखन, चित्रकला, माटो कला तथा पाककलासहित विभिन्न धर्मका कलाकृतिहरू समावेश गरिएको थियो । कार्यक्रम आयोजकले कला संरक्षणमार्फत सामाजिक सद्भाव र सांस्कृतिक एकता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् ।

“कला–संस्कृति संरक्षण समाजको पहिचान : वरिष्ठ न्यायाधीश ज्ञवाली”

विस्थापित हुँदै आरन व्यवसायी 

Leave a comment

Your email address will not be published. Required fields are marked *