यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे मिडिया कर्मीसंग विशेष अन्तरक्रिया
कालिकोट ,१६ बैशाख ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा सकारात्मक यौनिकता विषयमा मिडियाकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सशक्त बालिका परियोजना अन्तर्गत सञ्चारकर्मी तथा पत्रकारहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, किशोरकिशोरीमैत्री सेवा, लैंगिक समानता, सुरक्षित व्यवहार तथा सकारात्मक यौनिकता सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सञ्चारमाध्यमले समाजमा सही सूचना प्रवाह, भ्रम चिर्ने तथा सचेतना अभिवृद्धि गर्न खेल्न सक्ने भूमिकाबारे समेत विस्तृत बहस गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ बिनय ज्ञवालीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार हरेक नागरिकको आधारभूत अधिकार भएको बताए । उनले किशोरकिशोरी तथा युवाहरूलाई सही जानकारी, परामर्श र सेवा उपलब्ध गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । सकारात्मक यौनिकताबारे खुला संवाद र तथ्यमा आधारित सूचना प्रवाह आजको आवश्यकता रहेको ज्ञवालीकाे भनाइ छ।
त्यस्तै किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले समाजमा अझै पनि यौन स्वास्थ्य जस्ता विषयमा खुलेर बोल्न हिच्किचाहट रहेको बताएका छन् । यस्ता कार्यक्रमले समाजमा रहेका भ्रम, लाज र संकोच हटाई सही सन्देश प्रवाह गर्न मद्दत पुग्ने उनकाे भनाई छ । समुदायस्तरसम्म जनचेतना फैलाउन मिडियासँग सहकार्यलाई थप प्रभावकारी बनाइने पाण्डे बताउछन् ।
परियोजना संयोजक बलिराज शाहीले सशक्त बालिका परियोजनाले किशोरी तथा युवतीहरूलाई अधिकार, अवसर र जानकारीका माध्यमबाट सशक्त बनाउने लक्ष्य राखेको जानकारी दिए । यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे समुदायमा सकारात्मक सोच विकास गर्न सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा पत्रकारहरूले यस्ता विषयमा तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार पत्रकारिता गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । समाजमा सकारात्मक सोच निर्माण, हिंसा तथा विभेद न्यूनीकरण र किशोरकिशोरीलाई सही दिशा दिन सञ्चारमाध्यमले निरन्तर भूमिका खेल्ने सहभागीकाे भनाई छ ।
कार्यक्रमले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा समाजमा सचेतना बढाउने, मिडिया र सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने तथा सकारात्मक यौनिकताबारे खुला बहसको वातावरण सिर्जना गर्नु पर्नेमा सहभागीले जाेड दिएका छन् ।





