पुनर्निर्माणको पर्खाइमा जाजरकोट दरबार

ओम शाही

सुर्खेत, ११ असोज  ।

दुई सय वर्षभन्दा लामो इतिहास बोकेको जाजरकोटको सेतो दरबार अहिले सुनसान छ । १७ कार्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनमा क्षति पुर्‍याएपछि दरबारबाट सरकारी कार्यालय हटाइए । 

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा अस्थायी संरचनाबाट सञ्चालन भइरहेका छन् । तर, भूकम्प गएको ३५ महिना पुग्न लाग्दासमेत ऐतिहासिक दरबारको पुनर्निर्माण सुरु हुन सकेको छैन । भवन खाली गरिएपछि सरकारी सेवा सञ्चालनका लागि अस्थायी संरचना बने । कतिपय कार्यालयले टेन्टबाट समेत सेवा दिनुपर्‍यो । 

राज्यका कार्यालयका लागि वैकल्पिक ठाउँ खोजियो, तर राज्यकै इतिहास बोकेको दरबारको संरक्षण र पुनर्निर्माण भने अघि बढेन । यही अवस्थाले अहिले मुख्य प्रश्न उठाएको छ । जिल्ला सदरमुकाम खलंगाको बीच भागमा रहेको यो दरबार जाजरकोट राज्यको इतिहाससँग जोडिएको महत्वपूर्ण संरचना हो । 

विक्रम संवत् १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा दरबार निर्माण गरिएको मानिन्छ । राज्य सञ्चालनका लागि थप संरचना आवश्यक भएपछि खलंगाको अग्लो स्थान रोजेर दरबार बनाइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी बताउँछन् । दरबार निर्माण अहिलेको जस्तो ठेक्का प्रणालीबाट भएको थिएन । 

तत्कालीन राजाको आदेशमा स्थानीय बासिन्दाले श्रमदान गरेका थिए । जनताले निश्चित दिन श्रमदान गर्नुपर्ने व्यवस्था थियो। तर, त्यसबेला निर्माण भएको दरबार कति तलाको थियो भन्ने यकिन विवरण अहिलेसम्म भेटिएको छैन । जाजरकोटको इतिहासमा सेतो दरबार मात्रै होइन, रातो दरबार पनि उत्तिकै महत्वपूर्ण छ । सेतो दरबारभन्दा २७ वर्षअघि खलंगामै रातो दरबार निर्माण गरिएको स्थानीय इतिहास छ । 

राजा हरि शाहले विसं १८२५ मा रातो दरबार निर्माण गरेको अध्येता केसी बताउँछन् । हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मका जाजरकोटी राजाले रातो दरबारबाट राज्य सञ्चालन गरेको इतिहास छ । इन्द्रनारायण शाहपछि सात जना राजाले सेतो दरबारबाट शासन चलाएका थिए । सेतो दरबारबाट शासन सञ्चालन गर्ने अन्तिम राजा प्रकाश विक्रम शाह थिए ।

राजसंस्था अन्त्य भएपछि भने यी दरबारको भूमिका फेरियो । केसीका अनुसार २०१७ सालदेखि जाजरकोटको रातो र सेतो दरबारबाट सरकारी कामकाज हुँदै आएको थियो । त्यसै वर्ष राजा प्रकाशविक्रम शाहले जाजरकोट दरबार नेपाल सरकारलाई ६० हजार रुपैयाँमा बेचेका थिए । त्यसपछि दरबार सरकारी सम्पत्तिका रूपमा परिणत भएको उनको भनाई छ । 

सेतो दरबारमा लामो समय जिल्ला प्रशासन कार्यालय सञ्चालन भयो । प्रशासनसँग समन्वय गरेर काम गर्ने अन्य सरकारी निकाय पनि यही परिसरमा थिए । त्यसैले पछिल्ला दशकमा यो भवन राजदरबारभन्दा बढी सरकारी कार्यालयका कारण चिनियो । तर, सरकारी कार्यालय बसेको यो भवनको इतिहास सरकारी अभिलेखमै कति सुरक्षित छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । 

दरबार निर्माण, विभिन्न कालखण्डमा भएका मर्मत तथा पुनर्निर्माण, राजाहरूको शासन र २०१७ सालमा सरकारलाई बिक्री भएको विवरणका प्रमाणहरू कहाँ छन् भन्ने विषयमा थप खोजी आवश्यक देखिन्छ । जाजरकोट दरबारले २०८० को भूकम्पअघि पनि भूकम्पको क्षति बेहोरेको इतिहास छ । २ माघ १९९० मा गएको भूकम्पले दरबारमा ठूलो क्षति पुर्‍याएको केसी बताउँछन् । 

त्यसपछि स्थानीयको श्रमदान र कालिगढको सहयोगमा दरबार पुनर्निर्माण गरिएको थियो । त्यसपछिका भूकम्पमा पनि क्षति भएपछि मर्मत तथा पुनर्निर्माण भएको उनको भनाइ छ । अर्थात्, जाजरकोट दरबार भूकम्पपछि पुनः उठेको इतिहास भएको भवन हो । फरक यति हो, विगतमा क्षतिपछि स्थानीय श्रमदान र कालिगढको सहयोगमा पुनर्निर्माण भएको दरबार यसपटक भने लामो समयदेखि पुनर्निर्माणको प्रतीक्षामा छ । 

२०८० को भूकम्पले दरबारको संरचनामा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ सरकारी कार्यालय राख्न जोखिम देखियो । कार्यालयहरू बाहिर सारिए । सेवा सञ्चालनका लागि अस्थायी संरचना बनाइयो । तर, क्षतिग्रस्त भवनको दीर्घकालीन संरक्षणका लागि आवश्यक काम अघि बढ्न सकेन । ऐतिहासिक भवन भएकाले यसको पुनर्निर्माण सामान्य सरकारी भवन बनाएजस्तो गर्न नमिल्ने सरोकारवालाको भनाइ छ । 

पुरानो संरचना, वास्तुशैली र प्रयोग भएका सामग्रीको अध्ययन गरेर मौलिकता जोगाउँदै पुनर्निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि प्राविधिक अध्ययन, क्षतिको मूल्यांकन र संरक्षण योजनाको आवश्यकता पर्छ । तर, भूकम्प गएको लामो समयसम्म पनि पुनर्निर्माण सुरु नहुँदा दरबारको बाँकी संरचना थप जोखिममा परेको छ । जाजरकोटबाट प्रदेशसभा सदस्य रहेका बेदराज सिंह समयमै संरक्षण नगरे वर्षा, पानी र मौसमका कारण भूकम्पले कमजोर बनाएको संरचनामा थप क्षति हुन सक्ने बताउँछन् ।

‘समयमै संरक्षण नगरे पुनर्निर्माण गर्न बाँकी रहेको संरचनासमेत जोगाउन कठिन हुन्छ,’ सांसद सिंह भन्छन् । जाजरकोट दरबारको महत्व भवनको उमेरमा मात्र सीमित छैन । यसमा जाजरकोटी राजाहरूको शासन, तत्कालीन निर्माण पद्धति, स्थानीय श्रमदान र राजसंस्था अन्त्यपछि सरकारी प्रशासन सञ्चालन भएको इतिहास जोडिएको छ । यही कारण यसको पुनर्निर्माणलाई केवल एउटा पुरानो सरकारी भवन मर्मत गर्ने विषयका रूपमा हेर्न नहुने संरक्षणकर्मीहरूको भनाइ छ । 

सरकारले जाजरकोट दरबारलाई एक सय पर्यटकीय गन्तव्यमध्ये पनि समेटेको छ । रातो र सेतो दरबारलाई एउटै ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको केसी बताउँछन् । उनका अनुसार दरबारको इतिहास, पुराना सामग्री, दस्तावेज र जाजरकोट राज्यसँग सम्बन्धित अभिलेख संकलन गरी संग्रहालयका रूपमा विकास गर्ने प्रस्तावसमेत अघि सारिएको छ । 

‘दरबारको इतिहास, पुराना सामग्री, दस्तावेज र जाजरकोट राज्यसँग सम्बन्धित अभिलेख संकलन गरी संग्रहालयका रूपमा विकास गर्ने प्रस्ताव पनि अघि सारिएको छ । तर, त्यसका लागि दरबारको बाँकी संरचना सुरक्षित राख्नुपर्ने हुन्छ । भूकम्पबाट क्षति पुगेको भवनको प्राविधिक अध्ययन, आवश्यक संरक्षण र ऐतिहासिक मौलिकता कायम हुने गरी पुनर्निर्माणको काम अघि बढाउनुपर्ने देखिन्छ,’ केसी भन्छन् । केसीका अनुसार जाजरकोट दरबार गृह मन्त्रालयअन्तर्गत पर्छ । 

चालु आर्थिक वर्ष २०८३/०८४ मा दरबार पुनर्निर्माणका लागि ६ करोड रुपैयाँ बजेट व्यवस्थापन भएको आफूले सुनेको भए पनि यसको यकिन जानकारी नभएको उनी बताउँछन् । यही बजेटसम्बन्धी विषय अहिले पुनर्निर्माणको अर्को महत्वपूर्ण प्रश्न बनेको छ । बजेट वास्तवमै विनियोजन भएको हो भने कुन निकायमार्फत कार्यान्वयन हुन्छ, प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ कि छैन, निर्माणको प्रक्रिया कहाँ पुगेको छ र बजेट भए पनि काम किन सुरु भएको छैन भन्ने विषय स्पष्ट हुन बाँकी छ । 

तीन दशकअघिका भूकम्पमा क्षति बेहोरेर पुनः उठेको दरबार यसपटक भने तीन वर्ष पुग्न लाग्दा पनि उस्तै अवस्थामा छ । सरकारी कार्यालयका लागि वैकल्पिक संरचना तयार भए, सेवा सञ्चालन भयो, तर ऐतिहासिक संरचनाको संरक्षणको काम अघि बढ्न सकेन ।

पुनर्निर्माणको पर्खाइमा जाजरकोट दरबार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो,

Leave a comment

Your email address will not be published. Required fields are marked *