बाँकेमा एसइई तयारी पूरा: ९,६८३ विद्यार्थी सहभागी हुँदै, ३६ केन्द्रमा कडा सुरक्षा र व्यवस्थापन

बाँके,१० चैत ।

आगामी चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्षको परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो।
उहाँका अनुसार यस वर्ष जिल्लाबाट कुल ९ हजार ६ सय ८३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन्। जसमध्ये नियमिततर्फ ७,९८१, ग्रेड वृद्धितर्फ १,७०२, प्राविधिक धारका २७० र साधारणतर्फ ७,७११ जना विद्यार्थी रहेका छन्। परीक्षाका लागि जिल्लाभर २८ सामुदायिक तथा ८ संस्थागत गरी ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
चौलागाईंले परीक्षा केवल औपचारिक प्रक्रिया मात्र नभई विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै केन्द्र निर्धारण गर्दा भौगोलिक सहजता, सुरक्षा अवस्था र आवश्यक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो। सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन सक्ने सुनिश्चितता गरिएको उहाँको भनाइ छ।
परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी व्यवस्था मिलाइएको छ। प्रश्नपत्र चुहावट, नक्कल लगायतका अनियमितता रोक्न विशेष रणनीति अपनाइएको र कुनै पनि त्रुटि वा अनियमितता भेटिएमा तत्काल कारबाही गरिने चेतावनी समेत दिइएको छ।
त्यसैगरी, निरीक्षक, सुपरिवेक्षक तथा केन्द्राध्यक्षहरूको छनोट योग्यता र अनुभवका आधारमा गरिएको छ भने शिक्षकहरूलाई परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। विद्यार्थीहरूको मानसिक दबाबलाई ध्यानमा राख्दै परामर्श कार्यक्रम समेत सञ्चालन गरिएको छ। अपाङ्गता भएका तथा दुर्गम क्षेत्रका विद्यार्थीका लागि विशेष सुविधा व्यवस्था गरिएको छ।
स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक परीक्षा केन्द्रमा फस्ट एड तथा आवश्यक स्वास्थ्य सेवा तयारी अवस्थामा राखिएको छ। सम्भावित आपतकालीन अवस्थालाई सामना गर्न वैकल्पिक योजना समेत तयार गरिएको जनाइएको छ।

बाँकेमा एसइई तयारी पूरा: ९,६८३ विद्यार्थी सहभागी हुँदै, ३६ केन्द्रमा कडा सुरक्षा र व्यवस्थापन

डोटीमा जिप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *