सीमा पास पाए उपल्लो डोल्पावासी, नाका कहिले खुल्छ भन्ने अन्योल कायमै

डोल्पा ,४ असोज ।

उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि ३४० वटा सीमा पास वितरण गरिएको छ । सम्बन्धित कर्मचारी गाउँमै पुगेर स्थानीयवासीको विवरण सङ्कलन गरी सीमा पास वितरण गरे पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले सञ्चालनमा आउँछन् भन्ने विषय भने अझै अन्योलमै छ ।
छार्काताङसोङ, शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो । तीन स्थानीय तहमध्ये छार्काताङसोङ गाउँपालिकामा ९२ वटा पास वितरण गरिएको छ भने बाँकी पास शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई वितरण गरिएको छ ।
सीमा पास पाँच वर्षका लागि मान्य हुने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले गाउँमै पुगेर घरधुरीका आधारमा विवरण सङ्कलन गरी पास वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्त लामाका अनुसार यी पास विशेषगरी मरिम र क्याटो नाका हुँदै चीनको तिब्बत क्षेत्रमा आवतजावत गर्न प्रयोग हुनेछन् ।
सीमा पास हात परेपछि स्थानीयवासीमा चीनसँगको व्यापार तथा आवतजावत सहज हुने अपेक्षा बढेको छ । तर पास वितरण हुनु र सीमा नाका नियमित रूपमा सञ्चालन हुनु फरक विषय भएकाले स्थानीयवासीको मुख्य चासो अब नाका कहिले खुल्छ भन्नेमा केन्द्रित भएको नायब सुब्बा लामाले बताउनुभयो ।


उहाँका अनुसार अहिले मरिम नाका तुलनात्मक रूपमा बढी सक्रिय छ । पास वितरणका क्रममा गाउँ पुगेका कर्मचारीसँग स्थानीयवासीले सीमा व्यापार, आवतजावत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिका विषयमा समेत चासो राखेका थिए ।
सीमा बन्द हुँदा आपूर्तिमा असर
उपल्लो डोल्पाका बासिन्दाका लागि चीनसँगको सीमा व्यापार व्यापारिक गतिविधिमा मात्र सीमित छैन । खाद्यान्न, नुन, तेल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति पनि चीनतर्फका नाकासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
सीमा नाका लामो समय बन्द हुँदा उपल्लो डोल्पाका बजारमा वस्तुको अभावसँगै मूल्यवृद्धिको समस्या देखिने गरेको छ । चीनतर्फका नाका नियमित नहुँदा त्यहाँको आपूर्तिको अर्को महत्वपूर्ण आधार भेरी करिडोर बन्ने गरेको छ । तर भेरी करिडोरको सडक पूर्वाधार अझै पूर्णरूपमा भरपर्दो बन्न सकेको छैन ।
जाजरकोट–डोल्पा सडक खण्डमा वर्षायाममा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुँदा सुर्खेत र जाजरकोट हुँदै डोल्पासम्म खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउन कठिन हुने गरेको छ । हाल उपल्लो डोल्पाका धेरै ठाउँमा सामग्री खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ । सडक अवरुद्ध हुँदा ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पर्ने गरेको छ ।
पुल निर्माणमा ढिलाइले भेरी करिडोर प्रभावित
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा १३ वटा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । करिब ११८ किलोमिटर सडक खण्डमा पुल निर्माणको प्रक्रिया अघि बढे पनि करिडोरका कतिपय महत्वपूर्ण खण्डमा सहज यातायात सञ्चालन हुन सकेको छैन ।
जाजरकोटतर्फका पाँच वटा मोटरेबल पुल सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा यातायात सञ्चालन प्रभावित हुने गरेको छ ।


गत महिना नलगाड नगरपालिका–११ स्थित तासुगाड खोलामा आएको बाढीले सडक, कजवे तथा झोलुङ्गे पुलमा क्षति पुर्‍याउँदा भेरी करिडोर अवरुद्ध भएको थियो । करिडोर अवरुद्ध भएपछि डोल्पामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिएको थियो ।
हिमपातअघि खाद्यान्न मौज्दात गर्नुपर्ने चुनौती
अब उपल्लो डोल्पाका बासिन्दासामु अर्को चुनौती थपिँदैछ–हिमपात । हिमपात सुरु हुने समय नजिकिँदै जाँदा सीमा नाका र सडक दुवै अनिश्चित रहेमा स्थानीयवासीले थप समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ ।
हिउँदअघि नै खाद्यान्न, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्री पर्याप्त मात्रामा मौज्दात गर्नुपर्ने आवश्यकता छ । चीनतर्फका नाका नियमित सञ्चालनमा आए सामग्री आयात गर्न सहज हुने भए पनि सीमा क्षेत्रमा आवश्यक प्रशासनिक, सुरक्षा तथा व्यापारिक पूर्वाधारलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयवासीको माग छ ।
मरिम र क्याटो नाका लामो समय बन्द हुँदा उपल्लो डोल्पाको जनजीवन र व्यापारमा प्रत्यक्ष असर परेको थियो । सन् २०२४ मा मरिम नाका छोटो अवधिका लागि पुनः सञ्चालनमा आए पनि सीमा व्यापारलाई नियमित र व्यवस्थित बनाउन पूर्वाधार तथा व्यवस्थापनका चुनौती अझै बाँकी छन् ।
धोमा इलाका प्रशासन कार्यालय खोल्ने तयारी
उपल्लो डोल्पाका बासिन्दालाई प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम दुनै पुग्न चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ । नागरिकता, सिफारिसलगायतका सेवा लिन सदरमुकाम पुग्नुपर्ने भएकाले स्थानीयवासीको समय र खर्च दुवै बढ्ने गरेको छ ।
यही समस्या कम गर्न डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । कार्यालय प्रमुख पदमबहादुर शाहीका अनुसार दसैँअघि नै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।
कार्यालय सञ्चालनका लागि इन्टरनेट र विद्युत्को समस्या भने अझै समाधान हुन बाँकी छ । इन्टरनेट व्यवस्थापनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको र वैकल्पिक ऊर्जामार्फत विद्युत् आपूर्ति गर्ने तयारी भइरहेको शाहीले बताउनुभयो । कार्यालय सञ्चालनका लागि पुरानो स्थानीय तहको भवन प्रयोग गर्ने तयारी गरिएको छ ।


पाससँगै नाका र सडक नियमित हुने अपेक्षा
उपल्लो डोल्पाका लागि चीनसँगको सीमा व्यापार महत्वपूर्ण आर्थिक तथा आपूर्ति आधारका रूपमा रहँदै आएको छ । तर सीमा नाका नियमित नहुँदा स्थानीयवासीले वर्षौँदेखि व्यापार, आवतजावत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या झेल्दै आएका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार स्थानीयवासीको हातमा पाँच वर्षका लागि मान्य हुने सीमा पास पुगे पनि त्यसको वास्तविक उपयोग नाका नियमित रूपमा सञ्चालन भएपछि मात्र सम्भव हुनेछ । उहाँले भन्नुभयो, “सीमा पास त बाँडियो, चीनसँग जोडिएका नाका नियमित रूपमा कहिले खुल्छ भन्ने मुख्य विषय हो ।”
स्थानीयवासीका लागि अब सीमा पाससँगै सीमा नाका नियमित सञ्चालन, भेरी करिडोरको भरपर्दो यातायात, पुल निर्माणको गति तथा हिउँदअघि अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात मुख्य चासो बनेका छन् ।
उपल्लो डोल्पाको दीर्घकालीन विकासका लागि चीनसँगको सीमा व्यापारलाई व्यवस्थित बनाउनुका साथै आन्तरिक सडक सञ्जाललाई पनि भरपर्दो बनाउनुपर्ने देखिन्छ । भेरी करिडोरमा नियमित यातायात सञ्चालन हुन सके ढुवानी लागत घट्ने, बजार विस्तार हुने र स्थानीय उत्पादनले बाहिरी बजार पाउने सम्भावना बढ्नेछ । त्यसका लागि सीमा नाका, सडक, पुल र स्थानीय प्रशासनिक संरचनाको विकासलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

सीमा पास पाए उपल्लो डोल्पावासी, नाका कहिले खुल्छ भन्ने अन्योल कायमै

बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

सीमा पास पाए उपल्लो डोल्पावासी, नाका कहिले खुल्छ भन्ने अन्योल कायमै

सीमा पास पाए उपल्लो डोल्पावासी, नाका कहिले

Leave a comment

Your email address will not be published. Required fields are marked *