कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको दौड हुँदै

बाँके ,५ बैशाख ।
विश्वव्यापी रनिङ संस्कृति प्रवद्र्धन गर्ने ‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत आगामी असार २७ गते (जुलाइ ११) नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ । हरेक वर्ष जुलाइ ११ मा विश्वभर एकैसाथ सञ्चालन हुने यो अभियानले ‘एक माइल, एक दिन, एक विश्व’ नारामार्फत खेलकुदमार्फत एकता र स्वास्थ्य सचेतना फैलाउने लक्ष्य राखेको छ । यस वर्ष दर्जनभन्दा बढी देशमा एकै समयमा १.६०९ किलोमिटर दूरीको दौड आयोजना हुने कार्यक्रमअन्तर्गत नेपालमा पनि कोहलपुर माइल सञ्चालन गर्न लागिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार छोटो दूरीको रोड रेस भएकाले सबै उमेर समूहका सहभागीका लागि सहज र आकर्षक हुने अपेक्षा गरिएको छ ।
रेस नेपालको आयोजनामा हुने उक्त प्रतियोगिताको व्यवस्थापन नेपालगञ्ज म्याराथन टिमले गर्नेछ । कोहलपुर माइललाई नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत समेटिएको गुरुङले बताए । यस सिरिजअन्तर्गत यसअघि नेपालगञ्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन जस्ता प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् । वन ग्लोबल माइलको सुरुआत अमेरिकाको न्यूयोर्कस्थित ‘ह्युडसन माइल’ बाट भएको हो, जसले विस्तार हुँदै अन्तर्राष्ट्रिय अभियानको रूप लिएको छ । विश्व रनिङको साझा संस्था ‘एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)’ले यस अभियानलाई आधिकारिक रूपमा प्रवद्र्धन गर्दै आएको छ ।
ह्युडसन माइलका सहसंस्थापक तथा रन बंग्लाका सिइओ जोन बोका र एम्सका दूत तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले वन ग्लोबल माइललाई विश्वव्यापी बनाउने अभियानमा विशेष योगदान दिएको बताइएको छ । एम्सका दूत ठकुरीका अनुसार वन ग्लोबल माइलमा सहभागी हुन एम्ससँगको आबद्धता अनिवार्य मानिन्छ, जसले प्रतियोगिताको अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयता सुनिश्चित गर्दछ ।






