भगवती सहकारीको २७ लाखबढी गायब

गाेल्डेन बुढा

जुम्ला,३० चैत ।
जुम्लामा सञ्चालनमा रहेको भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणबाट संकलित २७ लाख २५ हजार रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। चन्दननाथ नगरपालिका–८ र ९ का महिलाहरूले मासिक एक सय रुपैयाँका दरले गरेको बचतको ९ वर्षदेखि कुनै हिसाबकिताब सार्वजनिक गरिएको छैन।स्थानीय महिलाहरूले आफूहरूले बचत गरेको रकमको विवरण माग गरिरहेका छन्। तर अहिले न सहकारी संस्था सञ्चालनमा छ, न त्यसका लागि निर्माण गरिएका संरचना नै बाँकी छन्। “सहकारीको रकम हाकाहाकी हिनामिना भइरहेको छ,” सहकारीकी सदस्य बाँचु सेजुवाल भन्छिन्, “कसले छानबिन गरिदेला?” साबिक तलिउम गाविसका १ देखि ९ र हाल चन्दननाथ नगरपालिका–८ र ९ वडालाई कार्यक्षेत्र बनाएको उक्त सहकारीमा ६ सयभन्दा बढी महिला आबद्ध थिए।तत्कालीन महिला विकास कार्यालयले १२ लाख रुपैयाँ लगानी गरेर गाउँमै सहकारी भवन निर्माण गरिदिएको थियो। महिलाको सक्रियता पनि उल्लेख्य थियो। भवनमा आवश्यक फर्निचरसमेत थियो। तर अहिले सहकारीका कागजातदेखि महत्त्वपूर्ण फाइलहरू हराएका छन्। पदाधिकारीहरू सम्पर्कविहीन हुँदा समस्या झन् जटिल बनेको स्थानीयको गुनासो छ।श्रीढुस्का, तलिउम, रोकायाबाडा, कोटिला, जातिभिड, बयालकाटीया र स्यालबाडा गाउँका महिलाहरूले सहकारीमा रकम जम्मा गरेका थिए। “दाउरा बेचेर कमाएको पैसा बचत गर्‍यौं, अनाज र बस्तुभाउ बेचेर पनि सहकारीमै राख्यौं,” सेजुवालले भनिन्, “तर बचतले पीडाबाहेक केही दिएन।” अवधि पूरा भएपछि दोब्बर रकम पाउने आशा गरिएको भए पनि अहिले साँवा रकम फिर्ता पाउनै कठिन भएको उनीहरूको भनाइ छ।

जुम्लाको चन्दननाथ नगरपालिका–७ की असौजी कामीले ७९ हजार रुपैयाँ बचत गरेकी छन्। उनको पासबुकमा २०७३ सालसम्म ब्याज चढाइएको देखिए पनि त्यसयता कुनै हिसाब अद्यावधिक गरिएको छैन। “पदाधिकारी र कर्मचारीले दोब्बर रकम पाउने आश्वासन दिएका थिए,” उनले भनिन्, “अहिले सहकारी त छैन, पदाधिकारी पनि भेट्न गाह्रो भएको छ।”यस्तै स्थानीय बाँचे सुनारका अनुसार सहकारीका कर्मचारीले रकम जम्मा गरेपछि दोब्बर हुने आश्वासन दिएपछि धेरैले बचत गरेका थिए। “रकम जम्मा गर्ने केही व्यक्ति त बितिसके,” उनले भनिन्, “३३ हजारदेखि एक लाख रुपैयाँसम्म बचत गरेका छन्।” सहकारीले महिलालाई पोसाक सिलाइदिने, कपडा सिलाउने र सिमी खरिद गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेको थियो। अहिले भने भवन अलपत्र छ, कुर्सी, टेबल र फर्निचरसमेत हराइसकेका छन्। बचतकर्ता महिलाहरू रकम फिर्ता गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लासम्म पुगेका छन्।चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा गुहार गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। “भवन अहिले सार्वजनिक शौचालयजस्तै भएको छ,” बाँचेले भनिन्, “हाम्रो रकमको अत्तोपत्तो छैन।” सहकारीको नेतृत्व गोमा डाँगी, राजपुरा नेपाली हुँदै माया खत्रीले गरेका थिए। उपाध्यक्ष जयलक्ष्मी बोहरा, सचिव कमलदेवी रावल र कोषाध्यक्ष चैतु गिरी थिए। कर्मचारीमा विष्णुबहादुर रावल र जुनकली सुनार कार्यरत थिए।रकम फिर्ता नभए सबै बचतकर्ता सडकमा उत्रिने चेतावनी दिएका छन्। यता चन्दननाथ नगरपालिका–८ का वडाध्यक्ष रूपबहादुर रोकायाले सहकारी पुरानो संस्था भएकाले यसको वर्तमान अवस्थाबारे आफूलाई पूर्ण जानकारी नभएको बताए। “सहकारीको अवस्था, पदाधिकारीको स्थिति र अनियमितताबारे छलफल गर्नेछौं,” उनले भने।स्थानीयले सहकारीमा कति बचत छ, कति ऋण लगानी गरिएको छ, सदस्यले कति ब्याज पाउने हुन् भन्ने सबै विवरण सार्वजनिक गर्न सरोकारवाला निकायसँग माग गरेका छन्। उक्त सहकारी २०६३ सालमा स्थापना भई २०७५ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।यो सहकारी कुनै साधारण वित्तीय संस्था थिएन, गाउँका महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको आधार थियो।सहकारीका सदस्यहरूलाई दोब्बर रकमको आश्वासन दिइएको थियो, अब स्थानीय महिलाहरू आन्दोलनको तयारीमा छन्। उनीहरूको माग स्पष्ट छ,रकमको हिसाब सार्वजनिक गर, दोषीमाथि कारबाही गर, र बचत फिर्ता गर। यदि यस्ता घटनामा समयमै छानबिन, कानुनी कारबाही र पीडितलाई राहतको व्यवस्था गरिएन भने, सहकारी अभियानप्रति जनविश्वास गुम्ने खतरा अझ बढ्नेछ।
क्याप्सन:भगवती सहकारी महिलाहरु तस्बिर गाेल्डेन बुढा जुम्ला !

भगवती सहकारीको २७ लाखबढी गायब

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक

भगवती सहकारीको २७ लाखबढी गायब

घुयँत्राे:“अरूको युद्ध, हाम्रो चुल्हो बन्द!”।

Leave a comment

Your email address will not be published. Required fields are marked *