बाँकेको डेन्टल क्लिनिक अनुगमन : गैरचिकित्सकद्वारा सेवा

बाँके, २९ जेठ । 
बाँकेको नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेका डेन्टल क्लिनिकले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना नै गैरचिकित्सकबाट बिरामी जाँच्ने र उपचार गर्ने गरेका पाइएका छन् । नेपाल मेडिकल काउन्सिलको टोलीले हालै गरेको  ती दुई स्थानमा गरिएको स्थलगत अनुगमनका क्रममा डेन्टल क्लिनिकमा ती तथ्य फेला पारेको नेपाल मेडिकल काउन्सिलका सदस्य तथा अनुगमन टोलीका संयोजक डा अजयकुमार शाहले जानकारी दिए ।
उनका अनुसार डेन्टल क्लिनिकहरूले कानुन विपरीत उपचार सेवा र मापदण्डको उल्लङ्घन गरेका छन् । कतिपय क्लिनिकमा विशेषज्ञ चिकित्सकबिनै बिरामी जाँच्ने, उपचार गर्ने, आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) र सर्जरीसम्म गर्ने गरेको भेटिएको छ ।
टोलीले नेपालगञ्जको सदरलाइनस्थित चाइनिज डेन्टल शप, त्रिभुवन चोकको सिटी डेन्टल, बिपी चोकको बागेश्वरी डेन्टल, युनाइटेड डेन्टल क्लिनिक, बाँके डेन्टल क्लिनिक, न्यू भेरी डेन्टल क्लिनिकलगायत अनुगमन गरेको थियो ।
फुल्टेक्रास्थित खुसी डेन्टल क्लिनिक भने बन्द भेटिएको थियो । अनुगमनका क्रममा एउटा डेन्टल क्लिनिकले टोली आएको थाहा पाएपछि आफ्नो साइनबोर्ड नै हटाएको पाइएको पनि अनुगमन टोलीका संयोजक डा शाहले जानकारी दिए ।
अनुगमनमा चाइनिज डेन्टल शपले नक्कली दाँत बिक्री गर्ने गरेको पाइएको छ । त्यहाँ बिरामीलाई कुल्ला गर्न प्रयोग गरिने एन्टिबायोटिक औषधि बिक्री भइरहेको भेटिएको थियो । उनका अनुसार चाइनिज डेन्टलमा विशेषज्ञ चिकित्सकबिना नै एन्टिबायोटिक औषधिको खुलेआम प्रयोग भएको पाइएको छ । सिटी डेन्टल क्लिनिकमा विशेषज्ञ चिकित्सकको परीक्षण र आवश्यक मूल्याङ्कनबिना नै नक्कली दाँत बनाउने गरिएको अनुगमनका क्रममा पाइएको छ ।
नेपालगञ्जको बागेश्वरी डेन्टल क्लिनिकमा बिहान ९ः०० देखि बेलुका ५ः०० बजेसम्म विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना नै बिरामी जाँच्ने र उपचार गर्ने गरिएको पाइएको छ । कागजमा चिकित्सकको नाम भए पनि यहाँको सेवा डेन्टल हाइजिनिस्टले सञ्चालन गर्ने गरेको भेटिएको हो । न्यू भेरी डेन्टल क्लिनिकमा पनि अवस्था उस्तै देखिएको छ ।
कोहलपुरमा अनुगमनका क्रममा कोहलपुर डेन्टल हस्पिटल, न्यू बाँके डेन्टल क्लिनिक, रामदेव डेन्टल क्लिनिक, स्माइल डेन्टल क्लिनिक र शुभकामना डेन्टल क्लिनिकमा चिकित्सक नै नभएको पाइएको छ । फ्रेस डेन्टल क्लिनिक र पूजा डेन्टल क्लिनिकमा मात्रै चिकित्सक भेटिएका थिए ।
नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष रहेका डा शाहका अनुसार अधिकांश क्लिनिकले सम्बन्धित स्वास्थ्य निकायबाट लिनुपर्ने सञ्चालन अनुमति नलिई सेवा प्रवाह गरिरहेका छन् । अनुगमनमा अधिकांश डेन्टल क्लिनिक आवश्यक स्वीकृतिबिना नै सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्र यस्ता स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरैले प्रक्रिया पूरा नगरेको भेटिएको छ ।
उनका अनुसार मापदण्ड पालना नगर्ने र कानुन विपरीत सञ्चालन हुने क्लिनिकमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ । अनुगमन टोलीमा नेपाल मेडिकल काउन्सिलबाट खटिएका विज्ञ डा विवेककुमार महत्तोसहितका प्रतिनिधिको सहभागिता रहेको थियो । टोलीले विस्तृत प्रतिवेदन तयार गरी काउन्सिललाई बुझाउने छ । उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बाँकेका डेन्टल क्लिनिकले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर लापर्वाही गरेकाले सम्बन्धित निकायबाट नियमनको आवश्यकता रहेको बताए ।
बाँकेको डेन्टल क्लिनिक अनुगमन : गैरचिकित्सकद्वारा सेवा

अन्तर्वार्ता : निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस्

बाँकेको डेन्टल क्लिनिक अनुगमन : गैरचिकित्सकद्वारा सेवा

यु–१९ महिला राष्ट्रिय क्रिकेट मधेस र सुदूरको

Leave a comment

Your email address will not be published. Required fields are marked *