हुम्लाका २५ वटा मतदानस्थल सडकको पहुँँचबाट टाढा

हुम्ला ,२७ पुस।
फागनुन २१ गते हुन दागेकाे प्रतिनिधिसभा सदस्यहरुको निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले हिमाली जिल्ला हुम्लाका २५ वटा मतदान केन्द्र पुग्न हिँड्नुपर्ने भएको छ।
जिल्ला राष्ट्रिय सडक सञ्जालसंग जोडिएको भएपनि दुरदराजका मतदान स्थलहरु सडकसंग नजोडिएको कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ।
जिल्लाका सात वटै गाउँपालिका गरि पच्चीस वटा मतदान स्थल निर्वाचनका बेला खटिने कर्मचारी र सुरक्षाकर्मीहरुले हिडेर पुग्नु पर्ने अबस्था आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनमा रहेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताए।
उक्त निर्वाचनका लागि यस पटक हुम्ला जिल्लामा साठी वटा मतदान स्थल निर्वाचन आयोगले कायम गरेको छ। पैदल हिड्नु पर्ने मतदान स्थलमा आधादेखि छ घण्टासम्म हिडेर पुग्नु पर्ने अवस्था छ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार यसरी कर्णाली करिडोर र ग्रामीण सडकबाट हिडेर पुग्नु पर्ने मतदान स्थलहरुमा अदानचुली गाउँपालिकाको कुकुर फाल्ना जलविधुत आयोजनाको पावर हाउस र गोठीपाटा सामुदायिक भवन छन् भने ताँजाकोट गाउँपालिकाको बानादेव मासपुर रहेको छ।
त्यसैगरी चङ्खेली गाउँपालिकाको रारा आवि मेखाला र डाँफे आवि नेप्का मतदान स्थल रहेको छ। यता सर्केगार्ड गाउँपालिकाको सरस्वती मावि जैर, लालिगुराँस मावि लिप्ने, धुम्चुली आवि कल्लास, स्वयम्भु निमावि बराई, ईश्वर आवि छ्यागी, अंशुबर्मा आवि राहदेव, निलकण्ठ प्रावि फुचा मतदान स्थल रहेको छ।
त्यस्तै हिँड्नुपर्ने सिमकोट गाउँपालिकाको शैपाल हिमाल मावि मतदान स्थल स्याँडा रहेको छ। खार्पुनाथ गाउँपालिकाको मालिका मावि लालि, शंकर आवि थाली, हुम्ला मावि राया, सीता मावि छिप्रा र मान्धारा मावि भकुण्डा मतदानस्थल रहेको छ। त्यसैगरि उत्तरी नाम्खा गाउँपालिकाको नमोडोछुम आवि ताङ्गिन, मोतिराम प्रावि खगालगाउँ र हिमालय प्रावि चाला मतदान स्थल छ।
अर्को नाम्खा गाउँपालिका कै लिमीका तीन वटा मतदान स्थलहरु सुनखानी प्रावि, हल्जी, भृकुटी प्रावि जाङ र हिमशिखर प्रावि तील मतदान स्थल रहेको छ। न्यालु लेकमा हिमपातले सडक अवरुद्ध भए पनि अहिले नै लिमी आउजाउ बन्द भई सकेको छ। लिमीका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुग्न हेलिकोप्टरको आवश्यकता पर्ने देखिएको छ। अन्य ३५ वटा मतदान केन्द्रमा पनि पन्द्र मिनेट हिँड्नुपर्ने अवस्था छ।

हुम्लाका २५ वटा मतदानस्थल सडकको पहुँँचबाट टाढा

तीन महिनाका लागि यारी नाका भन्सार कार्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!