२०८३ असार २५ गते
×

Now Playing

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

कैलाली, २५ असार । 

कैलालीका बालबालिकाले बालबालिकाका लागि खेलमैदान, बाल उद्यान निर्माणजस्ता संरचना निर्माणमा लगानी गर्न माग गरेका छन् । विद्यालय समयबाहेकको समय बिताउने ठाउँको अभावले बालबालिका गलत बाटोमा लाग्न थालेकाले बालबालिका खेल्ने र सिकाइ हुने खालका संचरना निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बालबालिकाले माग गरेका हुन् ।

कैलालीको घोडाघोडी वडा नं २ की बालिका आयुषा सञ्यालले बालबालिकालाई लागुपदार्थ, बालविवाह र सामाजिक सञ्जालको गलत प्रयोगबाट जोगाउन हरेक वडामा व्यवस्थित खेलमैदान बनाउनुपर्ने र साना बालबालिका खेल्ने बालउद्यान आवश्यक रहेको बताए । 

“प्रविधिको गलत  प्रयोगमा बालबालिका फसिरहेका छन्‌”, उनी भन्छन, “बालबालिका र देशको भविष्यका लागि विद्यालय समयपछि बालबालिका व्यस्त राख्ने खालका संरचना र योजना बनाउन आवश्यक छ ।” 

घोडाघोडी नगरस्तरीय बाल क्लबका अध्यक्ष तथा तेक्वान्दो खेलाडी हेमा न्यौपानेले खेलाडी बालबालिकालाई अध्ययनमा समेत विशेष प्रोत्साहन आवश्यक रहेको बताए । हेमा तेक्वान्दोको जिल्लास्तरीय खेलाडी हुन । उनले गत वर्ष तेक्वान्दोमा कैलाली जिल्लामा द्वितीय स्थान हाँसिल गरेका थिए ।

“एकातिर पर्याप्त खेल वातावरण छैन, त्यसैमा खेल क्षेत्रमा राम्रो गरिरहेका बालबालिकालाई छात्रवृत्ति, विशेष अध्ययनको वातावरण मिलाइदिनुपर्छ”, उनले भने, “जेहेन्दार भनेको पढाइमा मात्र होइन, खेलमा, गीतसङ्गीतमा वा अन्य विधामा पनि हुनसक्छ ।” हेमाले छात्रवृत्तिका लागि विद्यालयमा आवेदन दिए पनि नपाएको गुनासो गरे । “खेल क्षेत्रमा सफलता मिलेमा आत्मविश्वास बढ्नेरहेछ । नेतृत्व र बोल्ने कलाको पनि विकास हुन्छ”, हेमाले भने, “विद्यालयमा अतिरिक्त क्रियाकलाप बढाउने, लागुऔषधबारे विद्यार्थी सचेत गराउने कार्य पनि नियमित हुनुपर्छ ।”

घोडाघोडी–३ जुडपानीका अमित चौधरीले पालिकाले बालबालिका र अभिभावकलाई सचेत बनाउन हरेक समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्नुपर्ने माग गरे । “म हरेक साता शनिबारको दिन बाल कल्याण सङ्घले सञ्चालन गरेको रुपान्तरण कक्षामा सहभागी भएपछि धेरै आनीबानीमा सुधार भयो”, उनले भने, “रुपान्तरण कक्षामा सहभागी भएमा हामीमा धेरै सुधार आएको छ । व्यवहार परिवर्तनदेखि सिकाइमा रुचि बढेको, गलत बाटोबाट जोगिन सहयोग भएको छ । बालबालिका जोगाउन यस्ता कार्य पालिकाले गर्नुपर्छ ।”

बालबालिकाहरू नै सही र गलत छुट्याउने ज्ञान नभएकाले समाजमा बालविवाह धेरै बढेको गुनासो गर्छन् । बालबालिका प्रेममा परेर कम उमेरमै गरिने विवाहले समस्या निम्त्याएको बालबालिकाकै भनाइ छ । घोडाघोडी–५ की शर्मिला रोक्काले सरकारको लक्ष्यअनुसार बालमैत्री स्थानीय शासन पालिका घोषणाका लागि बालबालिकामै लगानी बढाउन माग गरे । “प्रतिफल तत्काल नदेखिएला तर बालबालिकाको भविष्यबारे सोचेर काम गरे पछिको समाज सुन्दर हुनेछ”, उनी भन्छन, “बालबालिकाको शिक्षा, पोषणसँगै बालविवाह न्यूनीकरणमा पनि अझै योजना बनाएर काम गर्नुपर्छ ।”

बालिका सुस्मता भण्डारीले विद्यालयमा अतिरिक्त क्रियाकलाप बढाउनुपर्ने, स्काउटका गतिविधि बढाउनुपर्ने माग गरे । महिला बालबालिका शाखा प्रमुख इन्दु जोशीले पालिकाले यस वर्ष बालकोष स्थापना गर्ने, बाल सञ्जाल, किशोरी सञ्जाल गठन गरेर क्षमता विकासमा काम गर्ने योजना बनाएको बताए ।

घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंहले घोडाघोडीमा शैक्षिक सुधारका लागि अतिरिक्त क्रियाकलापमा जोड दिइएको बताए । “३२ महिला शिक्षक, ३४ पुरुष शिक्षकलाई स्काउट तालिम दिएर विद्यालयमा खटाएका छौँ, नेपालमै छात्रछात्रालाई स्काउट सिकाउने पहिलो पालिका घोडाघोडी हो”, उनी भन्छन, “स्काउट गतिविधिमार्फत बालबालिकालाई असल व्यवहार सिकाउने गरिएको छ । बालबालिकाई मनोसेवामा पनि जोड दिएका छौँ ।”

अधिकृत सिंहका अनुसार शैक्षिक सुधारका लागि विद्यालय सुविधायुक्त बनाउने, हरेक विद्यालयमा खेलमैदान, खेलसामग्री, शौचालय, स्यानिटरी प्याड, आरामकक्षजस्ता सुविधा विस्तार गर्दै गएको उनको भनाई छ । नगर उपप्रमुख गुलियाकुमारी चौधरी किशोरकिशारीलाई गलत सङ्गतबाट जोगाउन शिक्षा, महिला बालबालिका, स्वास्थ्य शाखामार्फत नियमित रूपमा काम भइरहेका बताए ।

नगर प्रमुख खडक रावतले घोडाघोडीमा शैक्षिक, खेलकुद, साङ्गीतिक, साहित्यिक क्षेत्रमा बालबालिका अघि बढाउन प्रयास गरिरहेको बताए । “घोडाघोडी अब्बल पालिकाका रूपमा विकास हुँदैछ, कैलालीमै १३ पालिकामा एसइईमा घोडाघोडीको उत्कृष्ट नतिजा आएको छ”, उनी भन्छन, “सामुदायिक विद्यालयको नतिजामा पनि घोडाघोडी जिल्लाभरि उत्कृष्ट छ । हामीले खेललगायत अन्य क्षेत्रमा पनि सुधारका प्रयास गरिरहेका छौँ ।”

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

Leave a comment

Your email address will not be published. Required fields are marked *