कोहलपुर साहारा क्लबलाई चौथो कोहलपुर गोल्डकपको उपाधि

चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ । कोहलपुर २ स्थित कोहलपुर रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ साहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । फाइनल खेल सुरु ५ मिनेटमै कोहलपुर रेसिङ साहारा क्लबका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमासमेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप के.सी. र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए । विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफी,मेडल,प्रमाणपत्रसहित आठ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल,प्रमाणपत्रसहित चार लाख रूपैयाँ प्राप्त गरेको हो । विधागत विधातर्फ कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका प्रशिक्षक नजक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र कोहलपुर रेसिङसाहारा क्लब लक्ष्मण राना मगर राईजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद् १०÷१० हजार रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लब शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका राम वाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु वेष्ट फरवार्ड÷उच्च गोलकर्ता बन्दै समान १०÷१० हजार रुपैयाँ प्राप्त गरेका हुन् । चौथो कोहलपुर गोल्डकप–२०८३मा आठ टिम सहभागी थिए । चौथो कोहलपुर गोल्डकप–२०८३ वैशाख १९ गतेदेखि सुरु भएको थियो ।






