शिखा एकेडेमीलाई राष्ट्रिय पौडीको उपाधि, कोहलपुर खेलकुदको केन्द्र बन्दै

बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शिखा एकेडेमी र नेपालगन्ज स्विमिङ क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा शिखा एकेडेमीले १३४ अंक प्राप्त गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो ।
प्रतियोगितामा ललितपुरको लिटिल एञ्जल्स स्कुल १०१ अंकसहित दोस्रो स्थानमा रहँदा कोहलपुरकै बागेश्वरी एकेडेमी १९ अंकसहित तेस्रो भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो । त्यस्तै नेपालगञ्जको सोफिया रेसिडेन्सियल स्कुल ८ अंकसहित चौथो तथा रुपन्देहीको लुम्बिनी वर्ल्ड स्कुल ५ अंकसहित पाँचौँ स्थानमा रहे ।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलका छात्र विभूषण शाक्य र छात्रा लुनिरा शाक्यले समान ६/६ वटा स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे । प्रतियोगितामा देशभरका २४ विद्यालयका १०२ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए ।
कार्यक्रमका आयोजक तथा शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको विद्यालयले यस वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदप्रति विद्यार्थीको आकर्षण बढाउनुका साथै कोहलपुरलाई राष्ट्रिय खेलकुद मानचित्रमा स्थापित गर्न मद्दत पुग्ने बताउनुभयो ।
नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दै बाँकेलाई पौडी खेलको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
यसअघि प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद प्रतियोगिताहरू आयोजना गरेर कोहलपुरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।






