कमजोर विपद् प्रतिकार्य क्षमता: पाँच दिन बित्दा पनि कर्णालीमा  बेपत्ता गाडी र यात्रुको छैन अत्तोपत्तो

ओम शाही

सुर्खेत, २३ असार ।

कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । बिहीबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा घटनास्थलमा एक जनाको शव फेला परेको थियो । घटना घटेको पाँच दिनसम्म पनि गाडी र त्यसमा सवार यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । यति मात्रै होइन गाडीमा कति जना सवार थिए एकिन तथ्याकसमेत बाहिर आउन सकेको छैन । प्रहरीको तथ्यांकअनुसार दुर्घटना भएकै दिन एक जनाको शव नदीमा नखसेको अवस्थामा फेला परेको थियो । हालसम्म दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने विषय पनि खुलेको छैन । यातायात व्यवसायीको अभिलेखअनुसार उक्त गाडीमा पाँच जनाले टिकट काटेको देखिन्छ । तर, बीच बाटोमा अन्य यात्रु पनि थपिएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।

नदीमा खसेका गाडी र यात्रुको खोजीमा अत्याधुनिक प्रविधिसहितको मानव जनशक्ति खटिएको छ । तर, कर्णाली नदीको पानी अत्यधिक धमिलो र उच्च बहावका कारण खोजीमा कठिनाई भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी सन्तोष सिंह राठोरले जानकारी दिए ।

उनका अनुसार हालसम्म दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रमा खोजी भइरहे पनि गाडी र यात्रु फेला परेका छैनन् । दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायता लिइरहेको उनले बताए । प्रहरीका अनुसार खोजीमा सुरक्षा निकायका झण्डै दुई सय जनशक्ति खटिएका छन् ।

सेनाले घटना घटेको भोलिपल्ट (१९ असार) बाट दुर्घटनास्थलदेखि बर्दियासम्मको कर्णाली नदी बेसिन क्षेत्रमा झण्डै ७० जना सैनिक जनशक्ति खटाएर सम्भावित क्षेत्रमा हेलिकप्टर, धमिलो पानीमुनीको वस्तु चिन्ने सोनार क्यामेरा, ड्रोन क्यामेरा, र्‍याफ्टिङ र गोताखोरको सहयाताले खोजी कार्य गरिरहेको छ । सेनाले सोमबार थप गोताखोरसहित २० जनाको विशेष उद्धार टोली कर्णाली नदी बेसिनमा खटाए सघन खोज गरिरहेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र चितवनबाट थप जनशक्ति मगाएर ३६ बढी गोताखोरसहितको टोलीले ड्रोन, सोनार क्यामेरा तथा म्याग्नेटको सहायताले खोजी तथा उद्धारको कार्य गरिरहेको छ । हराएको गाडी र यात्रुको खोजीमा नेपाल प्रहरीका ७० बढी जनशक्ति खटिएका छन् । तर, नतिजा भने हात लाग्न सकेको छैन । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दावी गरेपनि कर्णालीको धमिलो र उच्च बहाबको भंगालोमा ति उपकरण कामयावी बन्न सकेका छैनन् ।

नेपाली सेनाको विपद् व्यवस्थापन र प्रतिकार्यका क्षेत्रमा लामो समय काम गरेका एक अधिकृतका अनुसार नेपालका उच्च बहाव र धमिलो पानी भएका नदीहरुमा हाल प्रयोग भइरहेको प्रविधि असफल छ । यसको पुष्टि २८ असार २०८१ मा चितवनको सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई वटा रात्री बसको खोज तथा उद्धारमा भइसकेको नाम बताउँन नचाहने ति सैनिक अधिकृत बताउँछन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । अहिले कर्णाली नदीमा प्रयोग गरिएको प्रविधिले सिमलतालमा बेपत्ता भएका बस तथा यात्रुको अवस्था पत्ता लगाउन नसकेपछि खोज तथा उद्धार स्थगित भएको थियो । सेनाका ति अधिकतृका अनुसार विपद् प्रतिकार्यका लागि पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभाव छ ।

कर्णालीका सांसदको आक्रोस

 

बिहिबारको प्रतिनिधिसभाको आकस्मिक बैठकमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली नदीमा खसेर वेपत्ता भएको फोर्स गाडी र त्यसमा सवार यात्रुको उद्धारमा भएको ढिलाईप्रति आक्रोस व्यक्त गरेका छन् ।

उनीहरुले कर्णाली र कर्णालीवासी नेपाली हुन् वा होइनन् भनेर स्पष्ट हुन सरकारलाई चुनौती दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दैलेखस्थित कर्णाली नदीमा भएको सवारी दुर्घटना र उद्धारमा भएको ढिलाइप्रति भावुक बन्दै आक्रोश पोखे ।

उनले सरकारको विपद् व्यवस्थापन क्षमतामाथि प्रश्न उठाउँदै कर्णालीमाथि विभेद भएको आरोप लगाए । दुर्घटनापछि नदीको बीचमा फसेका नागरिकहरूले ‘बचाइदिनुहोस्‌’ भन्दै गुहार माग्दासमेत समयमै उद्धार नपुगेको भन्दै उनले राज्य असफल रहेको बताए ।

उनले घटनाका क्रममा आकाशमा हेलिकोप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे । त्यस्तै, उद्धार टोलीसँग आवश्यक साधनको अभाव रहेको र सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लागेको उल्लेख गर्दै ढिलाइका कारण धेरै नागरिकको ज्यान गएको बताए ।

शाहीले उक्त दुर्घटनाले केवल केही व्यक्तिको ज्यान मात्रै नगई धेरै परिवारको भविष्य अन्धकार बनेको उल्लेख गरे । ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन् ? यदि कर्णाली पनि नेपाल हो भने विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ ?,’ उनले प्रश्न गरे । शाहीले सरकारले विपद् व्यवस्थापनका लागि हेलिकोप्टर सञ्चालन र उद्धारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा कर्णालीले त्यो अनुभूति गर्न नसकेको बताए ।

‘आकाशमा मन्त्रीको हेलिकोप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए,’ उनले भने । सांसद शाहीले सभामुखमार्फत सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न रुलिङ गर्न आग्रह गरे । ‘कर्णालीले दया होइन, अधिकार खोजेको छ । कर्णालीले सहानुभूति होइन, समान व्यवहार खोजेको छ,’ उनले भने । सांसद शाहीले कर्णालीका नागरिकको जीवन र सुरक्षाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।

त्यस्तै, नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले कर्णालीलाई राज्यले सधैँ उपेक्षा गरेको बताइन । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘कर्णालीका सुइना मेरा सुइना’ भनेर रमारहेको आरोप लगाइन  ‘शिक्षा र स्वास्थ्य होइन, हिँड्ने बाटो देऊ भन्दा कर्णालीका जनताले भिख मागेजस्तै गर्नुपर्छ । हामी भिख माग्न आएका होइनौँ, अधिकार माग्न आएका हौँ । यो कुरामा ध्यान दिइयोस्,’ उनले भनिन् ।

कर्णाली राजमार्गमा भएको दुर्घटनाको ७२ घण्टा भइसक्दा पनि न सास भेटिएको छ न लास भेटिएको उनले बताइन् । कर्णालीको लासको थुप्रोलाई राज्यले हेरिरहेको उनले प्रतिक्रिया दिइन् । ‘कर्णालीका जनता नेपाली हुन् कि होइनन् ? कर्णालीका जनताले बाँच्न पाउनुपर्छ कि पर्दैन ? कहिलेसम्म राज्यको आँखा पुग्छ ?,’ उनले प्रश्न गरिन् । बिहान हिँडेका कर्णालीका जनता बेलुका घर फर्कन्छन् कि फर्किदैनन् भन्ने डरमा बाँच्नुपरेको उनको भनाई छ ।

नेपाली कांग्रेसकी सांसद वासना थापाले कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुका बारेमा पाँच दिनसम्म पनि राज्य संयन्त्रबाट एकिन तथ्यांक नआउनु बिडम्बना भएको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै थापाले भनिन्, ‘यो दुर्घटना हाम्रा लागि कुनै नौलो घटना होइन । दिनहुँ जस्तो कर्णालीका सडकमा रगत बगिरहेको छ । कर्णालीका सडकहरु आज सडक रहेनन्, ति मृत्यु मार्ग जस्तो देखिएका छन् ।

अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नु पर्ने हो ? प्रत्येक पाइलामा नागरिकले ज्यान हत्केलामा राखेर हिँड्नु पर्ने हामी कस्तो राज्यमा छौं ?’ उनले राजधानीका सुविधा सम्पन्न होटलमा बसेर कर्णालीलाई तारिफ नचाहिने बताइन । ‘कर्णालीका सडकमा नियमन गर्ने निकाय छैन, दुर्घटनाबाट उद्धार गर्ने उपकरण छैन । हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौ । प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर स्वर्गकी रानी, कर्णालीका सुइना भनेर सम्बोधन गर्नुभयो । म यहाँ उभिएर सोध्न चाहन्छु–के कर्णाली बासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? के कर्णालीका जनताको निधारमा सधै अकालको मृत्यु मात्रै लेखिरहनु पर्ने हो ?’ सांसद थापाले कर्णालीलाई मृत्युमार्ग नभई सुरक्षित सडक चाहिएको जिकिर गरिन । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले कर्णालीको सडक दुर्घटनालाई न्यूनीकरण गर्न तत्काल सरकारले कदम चाल्नुपर्ने बताए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश सापकोटाले कर्णाली राजमार्गलाई मापदण्डसहित नबनाउने यसअघिका सरकारको नेतृत्वमा रहेकालाई कारवाही गर्नुपर्ने माग गरे । कर्णाली राजमार्गका विभिन्न स्थानमा राखिएका प्रहरी चेक पोष्टमा घण्टौ बढी गाडी रोकिदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन चालकले तीव्र गतिमा गाडी चलाउने हुँदा दुर्घटनाको जोखिम बढेका प्रति सापकोटाले सरकारको ध्याकर्षण गराए । उनले कर्णालीका सडकमा दोहोरिने यस्ता घटनालाई न्यूनिकरण गर्न सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

कमजोर विपद् प्रतिकार्य क्षमता:  पाँच दिन बित्दा पनि कर्णालीमा   बेपत्ता गाडी र यात्रुको छैन अत्तोपत्तो

सम्पादकीय  : खानेपानीको दीगो व्यवस्थापनमा ध्यान देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *