मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बर्दियामा ४० किलोमिटर तारजाली, वन अतिक्रमण नियन्त्रणमा पनि प्रभाव

बर्दिया ,२२ असार।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन अतिक्रमण नियन्त्रण तथा वनक्षेत्रको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय बर्दिया र सामुदायिक वन उपभोक्ता समूहहरूले वनक्षेत्रको सीमामा तारजाली (फेन्सिङ) लगाउने अभियानलाई तीव्र बनाएका छन्। हालसम्म जिल्लाका विभिन्न वनक्षेत्रमा ४० किलोमिटरभन्दा बढी तारजाली जडान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार माचड, ओराली बजारलगायत अतिक्रमण हटाइएका वनक्षेत्र तथा मधुवन, बारबर्दिया लगायतका पालिकाका वन सीमामा तारबार गरिएको छ। तारजाली लगाइएपछि वनक्षेत्र सुरक्षित बन्दै गएको, अतिक्रमण नियन्त्रणमा सहयोग पुगेको र वन्यजन्तुको बस्ती प्रवेशमा उल्लेख्य कमी आएको वन कार्यालयको दाबी छ।
विशेषगरी मधुवन नगरपालिका–३ अन्तर्गत भारतसँग सीमा जोडिएको कतरनियाघाट वन्यजन्तु आरक्षबाट नेपालतर्फ प्रवेश गर्ने वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न दशगजा क्षेत्रको वन सीमामा तारजाली जडान गरिएको हो। यसअघि चितुवा, बाघ, बँदेललगायतका वन्यजन्तुले गाउँमा प्रवेश गरी मानव, पशुधन तथा अन्नबालीमा ठूलो क्षति पुर्याउने गरेका थिए।
मधुवन–३ धनौराका किसान प्रकाश चौधरीले तारजाली लगाएपछि वन्यजन्तुको आतंक उल्लेखनीय रूपमा घटेको बताए। उनका अनुसार विगतमा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको थियो भने किसानले लगाएको अन्नबाली बारम्बार नष्ट हुने गरेको थियो। अहिले भने स्थानीय बासिन्दाले आफूलाई पहिलेभन्दा सुरक्षित महसुस गर्न थालेका छन्।
स्थानीय रामशंकर थारुले नेपाल–भारत सीमा क्षेत्रमा जडान गरिएको तारजालीले भारतीय सीमाबाट आउने चितुवा, बँदेललगायत वन्यजन्तुको आवतजावतमा कमी आएको बताए। उनका अनुसार तारबारपछि मानव, पशुधन तथा अन्नबालीमा हुने क्षति उल्लेखनीय रूपमा घटेको छ।
मधुवन नगरपालिका–५ मा पनि वन सीमामा तारजाली विस्तार गरिएको छ। त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कृष्णा गुरुङका अनुसार तारजालीको मुख्य उद्देश्य मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुका साथै वन संरक्षणलाई थप प्रभावकारी बनाउनु हो। “तारजालीपछि वन्यजन्तु सहजै बस्तीमा प्रवेश गर्न सक्दैनन्। यसले वन अतिक्रमण रोक्न, पशुधन तथा अन्नबालीको क्षति कम गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भनिन्।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय गम्भीर चुनौतीका रूपमा देखिएको छ। डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक वर्षमा चितुवा, बाघ र हात्तीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। जसमध्ये चितुवाको आक्रमणबाट नौ जना, बाघबाट एक जना र हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। यसबाहेक प्रत्येक वर्ष किसानले लगाएको अन्नबाली र पशुधनमा पनि वन्यजन्तुले ठूलो क्षति पुर्याउँदै आएका छन्।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजय राज सुवेदीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन र आवादी क्षेत्रको सीमामा तारजाली लगाउने अभियानलाई निरन्तर विस्तार गरिने बताए। उनका अनुसार हालसम्म ४० किलोमिटरभन्दा बढी क्षेत्रमा तारबार सम्पन्न भइसकेको छ भने अन्य सामुदायिक वनहरूमा पनि आवश्यकताअनुसार तारजाली विस्तार गर्न निर्देशन दिइएको छ।
उनले तारजालीले वन्यजन्तुको बस्ती प्रवेश नियन्त्रण गर्नुका साथै वन अतिक्रमण रोक्न, वन संरक्षणलाई प्रभावकारी बनाउन र स्थानीय समुदायको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।






