बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बाँके ,२१ असार ।
बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो।
जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख एवं समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनअनुसार घरधुरी सर्वेक्षणका क्रममा जिल्लाभर १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ जना बालबालिकाको खोप अवस्था परीक्षण गरिएको थियो। तीमध्ये प्रारम्भिक रूपमा १० हजार ७९९ जना (९४ प्रतिशत) बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै आवश्यक मात्रा प्राप्त गरेको पाइएको थियो। बाँकी ७६५ जनामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए।
जिल्ला स्वास्थ्य कार्यालयले खोज तथा खोप अभियान सञ्चालन गरी ती सबै बालबालिकालाई राष्ट्रिय निर्देशिकाअनुसार आवश्यक खोप प्रदान गरेको जनाएको छ। अभियानपछि बाँकेका आठवटै स्थानीय तहका सबै ११ हजार ५६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिको अन्त्य नभई दिगोपनाको सुरुवात भएको बताउनुभयो। कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण सिर्जना गर्नु राज्यका सबै तह, स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।
उहाँले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीचको समन्वयलाई निरन्तर सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै खोपले बालबालिकालाई विभिन्न सङ्क्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई समयमै सबै खोप लगाउनुपर्नेमा जोड दिनुभयो।
मन्त्री घिमिरेले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै नियमित खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत र सहयोग उपलब्ध गराउँदै आएको पनि बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, साझेदार संस्थाका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन देवनारायण उपाध्यायले गर्नुभएको थियो।






