बाँकेमा  बढ्यो गर्मीको प्रकोप, ‘लु’को जोखिम बढ्दै

बाँके,२२ जेठ । 

बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा दैनिक तापक्रम बढ्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ । केही दिनअघि परेको वर्षाले गर्मीबाट क्षणिक राहत दिएको भए पनि पछिल्ला दिनमा पुनः तापक्रम उकालो लाग्न थालेपछि सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिन हुन थालेको छ ।

हावापानी फिल्ड कार्यालय राँझाका अनुसार बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि वर्षा नहुँदा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । मौसमविद्हरूका अनुसार आगामी दिनमा पनि गर्मीको प्रभाव कायम रहने सम्भावना रहेको छ ।

तापक्रम निरन्तर बढ्दै जाँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने र ‘लु’ (हीट स्ट्रोक) को जोखिम बढ्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । चर्को गर्मीका कारण अत्यधिक थकान, कमजोरी, धेरै तिर्खा लाग्ने, वान्ता हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्ने उनीहरूको भनाइ छ ।

भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेत रिसाल ले गर्मीको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनका अनुसार ‘लु’ बाट जोगिन सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा हिँडडुल नगर्ने तथा हलुका र शरीर ढाक्ने कपडा लगाउने बानी बसाल्नुपर्छ । घरबाहिर निस्कँदा टाउको टोपी, छाता वा कपडाले राम्रोसँग छोप्नुपर्ने र पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्नुपर्ने उहाँको सुझाव छ ।

“अत्यावश्यक कामका लागि बाहिर निस्किनुपरे शरीर पूरै ढाक्ने कटनका कपडा लगाउनुपर्छ र टाउकोलाई विशेष रूपमा सुरक्षित राख्नुपर्छ,” डा. रिसालले भने । बढ्दो गर्मीको असर विशेषगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूमा बढी परेको छ । चर्को घामका कारण नेपालगञ्जलगायत सहरी क्षेत्रका सडक र बजारमा दिउँसोको समयमा चहलपहल समेत घटेको देखिन्छ । स्थानीयवासीहरूले मध्याह्नको समयमा घरबाहिर निस्केर काम गर्न निकै कठिन भइरहेको बताएका छन् ।

चिकित्सकहरूका अनुसार गर्मी मौसममा शरीरमा पानीको कमी हुँदा डिहाइड्रेसन, एलर्जी तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्छन् । शरीरमा पर्याप्त पानी नहुँदा विषाक्त पदार्थहरू सहज रूपमा बाहिर निस्कन नसक्ने र यसले विभिन्न स्वास्थ्य जटिलता निम्त्याउन सक्ने डा. रिसालले बताए ।

उनले तिर्खा नलागे पनि नियमित रूपमा प्रशस्त पानी पिउन सुझाव दिँदै पानीको सट्टा बियर, कफी, सोडा तथा अन्य क्याफिनयुक्त पेय पदार्थको अत्यधिक सेवन नगर्न आग्रह गरिएको छ । यस्ता पेय पदार्थले शरीरमा पानीको मात्रा झन् घटाउन सक्ने भएकाले गर्मीको समयमा स्वच्छ पानी, झोलिलो खानेकुरा र पोषिलो आहारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

बढ्दो तापक्रमसँगै स्वास्थ्य जोखिम पनि बढ्दै गएकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन र सर्वसाधारणलाई सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरूले गर्मीबाट बच्ने उपाय अपनाउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *