बजेट अभावले बाँकेका ३८ खानेपानी आयोजना अलपत्र, हजारौं नागरिक स्वच्छ खानेपानीबाट वञ्चित हुने जोखिम

बाँके ,२० असार ।
बाँकेमा निर्माणाधीन ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षको अन्त्यसम्म पनि आवश्यक बजेट विनियोजन नहुँदा अधुरै अवस्थामा रोकिएका छन्। सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान रोकिएपछि अधिकांश आयोजनाको निर्माण कार्य ठप्प भएको हो।
खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका इञ्जिनियर गोपाल शर्माका अनुसार असार तेस्रो सातासम्म पनि सङ्घीय सशर्त आयोजनाका लागि बजेट प्राप्त नभएकाले निर्माण कार्य अघि बढाउन नसकिएको छ।
“स्थानीयवासी आयोजना छिटो सम्पन्न होस् भनेर पटक–पटक कार्यालयमा आउनुहुन्छ। तर बजेट नै नआएपछि काम अगाडि बढाउन सकिएको छैन,” इञ्जिनियर शर्माले भन्नुभयो।
सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाको चालु आर्थिक वर्षको बजेट कटौती गरिएको छ। विगतका वर्षहरूमा नियमित बजेट विनियोजन हुँदै क्रमागत रूपमा निर्माण भइरहेका आयोजनाहरू यस वर्ष बजेट अभावका कारण प्रभावित बनेका हुन्।
यसका कारण अन्तिम चरणमा पुगेका केही आयोजना समेत अलपत्र परेका छन्। समयमै बजेट उपलब्ध नभए स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने सरकारी लक्ष्यसमेत प्रभावित हुने देखिएको छ।
कार्यालयका अनुसार सीतापुर, उढरापुर, सोनपुर र रनियापुर खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेका छन्। त्यस्तै, न्यून लगानीमै सम्पन्न गर्न सकिने टिटिहिरिया तथा बनकटुवा सुधार तथा विस्तार आयोजना लगायतका योजनाको बजेट पनि कटौती गरिएको छ।
बजेट अभावका कारण निर्माण कार्य लम्बिँदा सम्बन्धित क्षेत्रका हजारौं नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी सेवाका लागि अझै प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
चालु आर्थिक वर्षमा बाँकेमा प्रदेश सरकारअन्तर्गत ४४ वटा खानेपानी आयोजना सञ्चालनमा रहेका छन्। तीमध्ये केही आयोजना सम्पन्न भइसकेका छन् भने बाँकी आयोजनाको काम विभिन्न चरणमा अघि बढिरहेको छ।
आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकारले पनि खानेपानी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै लगानी थालेपछि जिल्लामा खानेपानी आयोजनाको संख्या र निर्माणको गति उल्लेखनीय रूपमा बढेको थियो। तर यस वर्ष सङ्घीय बजेट कटौतीका कारण तीमध्ये धेरै आयोजना प्रभावित बनेका छन्।
आवश्यक बजेट समयमै निकासा भए अधुरा आयोजनाको निर्माण पुनः सुरु हुने र स्थानीय बासिन्दाले छिट्टै खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ।

बजेट अभावले बाँकेका ३८ खानेपानी आयोजना अलपत्र, हजारौं नागरिक स्वच्छ खानेपानीबाट वञ्चित हुने जोखिम

बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन

बजेट अभावले बाँकेका ३८ खानेपानी आयोजना अलपत्र, हजारौं नागरिक स्वच्छ खानेपानीबाट वञ्चित हुने जोखिम

बजेट अभावले बाँकेका ३८ खानेपानी आयोजना अलपत्र,

Leave a comment

Your email address will not be published. Required fields are marked *