‘शून्य फोहर’ अवधारणामा स्वास्थ्यजन्य  फोहर व्यवस्थापन गर्दै प्रदेश अस्पताल

ओम शाही
सुर्खेत, २१ बैशाख । 
कर्णाली प्रदेश अस्पतालले स्वास्थ्यजन्य फोहर व्यवस्थपनमा शून्य फोहर सिद्धान्त अवलम्वन गरेको छ । सुरक्षित स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रणाली अन्तर्गत अस्पतालले स्वास्थ्यजन्य फोहरको छुट्टाछुट्टै वग्रीकण गरेर जोखिमयूक्त फोहरलाई विशेष सवारीसाधनमा संकलन गरी फोहर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने छ ।
जहाँ फोहर मैला नजलाउने प्रविधिबाट संक्रमणमुक्त गरी पुनःचक्रका लागि पठाइन्छ । जसले दिगो, सुरक्षित र शून्य फोहरमा आधारित स्वास्थ्य फोहर व्यवस्थापन प्रणालीलाई प्रवद्र्धन गर्छ । यसरी गरिने फोहर व्यवस्थापनबाट रोजगारी र आम्दानीसमेत सिर्जना गर्न सकिने जनाइएको छ । अस्पतालजन्य फोहरको असुरक्षित विसर्जनले जनस्वास्थ्य र वातावरणमा गम्भीर जोखिम बढिरहेका बेला प्रदेश अस्पतालले यो प्रविधि अपनाउन लागेको हो ।
हेल्थ इन्भाइरन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) र सेभ द चिल्ड्रेनको साझेदारीमा यो परियोजना सञ्चालनमा आएको हो । यो परियोजना एक वर्षसम्म चल्नेछ । हेकाफले नेपालका विभिन्न अस्पतालहरुसँग मिलेर स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापनमा सघाउदै आएको छ । स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा दिने क्रममा निस्कने फोहरमा एचआइभी, हेपाटाइटिस बि, हेपाटाइटिस सि लगायत अन्य घातक रोगका किटाणुहरुबाट बिरामी, स्वास्थ्यकर्मी एवम् जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असर न्यूनिकरण गर्ने लक्ष्य परियोजनाको छ ।
तथ्याङ्क अनुसार प्रदेश अस्पतालमा अहिले दैनिक एक सय  ९५ किलोग्रमाम कम जोखिमजन्य र एक सय १३ किलोग्राम उच्च जोखिमजन्य फोहर उत्पादन हुने गरेको छ । हाल नगरपालिकाले फोहर व्यवस्थापन गर्दै आए पनि विसर्जन गर्ने स्थान व्यवस्थित नहुँदा वर्षाको समयमा पानीले बगाएर लैजाने र वातावरणीय प्रदूषण निम्त्याउने खतरा छ ।
अत्याधुनिक प्रविधियूक्त उपरकणसहित विशिष्टिकृत सेवा प्रदान गर्न थालेसँगै प्रदेश अस्पतालमा सेवा लिनेहरुको संख्या दैनिक बढ्दोक्रममा छ । बिरामीको चाप बढ्दा अस्पतालबाट सेवा दिनेक्रममा उत्पादन हुने फोहरका कारण बिरामी, स्वास्थ्यकर्मी र समुदायमा जोखिम बढ्दो छ ।
हेकाफ ३६० का कार्यकारी निर्देशक डा. मोचन भट्टराईका अनुसार गत चैतबाट लागु भएको यो परियोजनामा करिब एक करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग रहनेछ । उनका अनुसार परियोजनामार्फत अस्पतालबाट निस्कने फोहरलाई अधिकतम पुनः प्रयोग गरी विसर्जन गर्नुपर्ने फोहरको मात्रा शून्यमा पुर्‍याउने लक्ष्य छ ।
त्यस्तै, स्वास्थ्यकर्मी र फोहर व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई विशेष तालिम प्रदान, फोहर वर्गीकरण, ढुवानी र सुरक्षित विसर्जनका लागि आवश्यक पूर्वाधार र उपकरणमा अस्पताललाई सहयोग गरिने उनले बताए ।
स्वास्थ्यजन्य फोहर बारे के भन्छन् विज्ञ ?
आइतबार आयोजित परियोजना परिचय तथा सह–निर्माण कार्ययोजना गोष्ठीमा विज्ञहरूले अस्पतालजन्य फोहरलाई जलाउने वा गाड्ने परम्परागत शैलीलाई त्यागेर वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
हेकाफको जलवायु उत्थानशील स्वास्थ्य संस्था परियोजनाका जनस्वास्थ्य विज्ञ प्रेरणा डंगोलले फोहर जलाउँदा निस्कने धुवाँले क्यान्सर र श्वासप्रश्वास जस्ता जटिल रोग निम्त्याउने बताइन । ‘बाल्टिनमा फोहर राखेर मात्र व्यवस्थापन हुँदैन, यसको संकलनदेखि अन्तिम विसर्जनसम्म निश्चित चक्र हुन्छ,’ उनले भनिन्, ‘यो परियोजनामार्फत पहिले फोहरलाई प्रशोधन गरेर निष्क्रिय पार्छौं र त्यसपछि सिमेन्टको भल्ट (क्याप्सुल) बनाएर सुरक्षित व्यवस्थापन गर्छौं ।’
उनले नेपालका स्वास्थ्य संस्थाहरुमा फोहर बाल्ने तथा नगरपालिकाको फोहर संकलन प्रणालीमा मिसाउने हानिकारक अभ्यास रहेको बताइन । जसले वातावरण र मानवस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । ‘फोहर बाल्नाले त्यसबाट दीर्घकालिन जैविक तत्वहरु जस्तै, डाइअक्सिन, फुरान्स आदि विषालु ग्याँसहरु उत्पादन भई जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर परेको हुन्छ,’ उनले भनिन् ।
स्वास्थ्यजन्य फोहरलाई नगरपालिकाको फोहर संकलन प्रणालीमा मिसाउँदा त्यसबाट जनसमुदायमा नयाँ रोगको संक्रमण फैलिने जोखिम उच्च रहने भएकाले यस्ता फोहरको उचित व्यवस्थापन हुनु अति आवश्यक रहेको उनले औल्याइन ।
फोहर व्यवस्थापमा महत्वपूर्ण चरण फोहरलाई स्रोतमै छुट्ट्याउनु पर्ने उनले बताइन । स्वास्थ्यजन्य फोहरलाई जलाउनुको साटो घटाउने, पुनः प्रयोग गर्ने, नयाँ उद्देश्यका लागि प्रयोग गर्ने, मर्मत गर्ने, पुनर्चक्रण गर्ने वा कुहाउनु पर्ने उनले बताइन ।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले अस्पताललाई नमुना योग्य बनाउन फोहर व्यवस्थापनमा विशेष जोड दिइएको बताए । उनले भने, ‘अस्पतालमा फोहर व्यवस्थापन एउटा छुट्टै र महत्वपूर्ण विभाग हो । हामी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गर्ने प्रयास गरिरहेका छौं ।’
डा. थापाका अनुसार आगामी आर्थिक वर्षका लागि फोहर व्यवस्थापनमा छुट्टै बजेटको व्यवस्था गर्ने र जनशक्ति अभावलाई पूर्ति गर्न आर्थिक विनियमावलीमा संशोधन गर्ने तयारी भइरहेको छ । परियोजनाले अस्पताल र समुदायबीच समन्वय गरी फोहरलाई आम्दानीको स्रोत बनाउन र वातावरण मैत्री अस्पताल निर्माण गर्न सघाउने अपेक्षा उनले गरे ।
हाल फोहरलाई प्रशोधन गरेर विसर्जन गर्ने गरिएको भएपनि यसबाट आर्थिक लाभ लिन र नीतिगत समस्या समाधान गर्न अझै बाँकी रहेको निर्देशक थापाले बताए । उनले अस्पतालमा मात्र नभई समुदायस्तरमा फोहरलाई स्रोतबाटै वग्रीकरण गरी पुनः प्रयोगमा जोड दिन आग्रह गरे ।
‘शून्य फोहर’ अवधारणामा स्वास्थ्यजन्य  फोहर व्यवस्थापन गर्दै प्रदेश अस्पताल

सम्पादकीयः सरकारलाई उम्कने छुट छैन 

‘शून्य फोहर’ अवधारणामा स्वास्थ्यजन्य  फोहर व्यवस्थापन गर्दै प्रदेश अस्पताल

मुक्तकमैया पुनःस्थापनामा अन्योलता  

Leave a comment

Your email address will not be published. Required fields are marked *