द्वन्द्वकालका कठिन मोर्चामा खटिइ अवकाश भएका: सई गणेश रावल

गोल्डेन बुढा

जुम्ला ,१७ कार्तिक ।
मासिक १ हजार १ सय रुपैयाँ तलबबाट सुरु भएको प्रहरी सेवा, द्वन्द्वकालका जोखिमपूर्ण मोर्चा, दर्जनभन्दा बढी जिल्लामा बितेका वर्ष र अन्ततः प्रहरी नायब निरीक्षक (सई) पदबाट अवकाश, जुम्लाको चन्दननाथ नगरपालिका–६, छिना गाउँका ५४ वर्षीय गणेश रावलको जीवनका झन्डै तीन दशक यसरी नै बिते। प्रहरी सेवामा प्रवेश गर्दा उनले न ठूलो आर्थिक सपना देखेका थिए, न त भविष्यमा कुन पदसम्म पुगिएला भन्ने निश्चितता थियो। तर, जागिरप्रतिको निरन्तरता, अनुशासन र जिम्मेवारीले उनलाई ३० वर्षे सेवायात्राको एउटा फरक अनुभव दियो।२०५० साल मंसिर १ गते नेपाल प्रहरीमा प्रवेश गरेका रावलले नेपालगन्जस्थित तालिम केन्द्रबाट प्रहरी सेवाको प्रारम्भिक तालिम लिए। त्यसपछि बाँकेको कुसुम प्रहरी चौकीमा पहिलो जिम्मेवारी सम्हाले। त्यतिबेला उनको मासिक तलब जम्मा १ हजार १ सय रुपैयाँ थियो। अहिलेको पुस्ताले कल्पना गर्न पनि कठिन हुने त्यो तलबबाट उनले आफ्नो व्यावसायिक जीवन सुरु गरेका थिए। प्रहरी सेवामा प्रवेश गर्दाको समय सम्झँदै उनी भन्छन्, ‘त्यतिबेला जागिर खान अहिले जस्तो धेरै प्रक्रिया र प्रतिस्पर्धा थिएन। लिखित परीक्षा, दौड र हाइजम्पलगायतका शारीरिक परीक्षा हुन्थे। ३ सय ४८ जनामध्ये २० जना जुम्ली भर्ना भएका थियौँ।’रावलले २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। परिवारका दुई भाइमध्ये उनी कान्छा हुन्। दाजु कृषि पेसामा आबद्ध रहे। सामान्य पारिवारिक परिवेशबाट आएका उनले जागिरलाई परिवारको आर्थिक अवस्था सुधार्ने माध्यमका रूपमा पनि लिए। प्रहरी सेवामा प्रवेश गरेपछि जिम्मेवारीसँगै जीवनका प्राथमिकता पनि बदलिँदै गए। गाउँको सामान्य परिवेशबाट सरकारी सेवामा प्रवेश गरेका उनले देशका विभिन्न भूगोल र परिस्थितिलाई नजिकबाट बुझ्ने अवसर पाए।प्रहरी सेवाको अधिकांश समय उनको बिताइ पश्चिम नेपालका विभिन्न जिल्लामा भयो। जुम्ला, कालिकोट, सल्यान, डोल्पा, सुर्खेत, दाङ र प्युठानलगायत १२ देखि १५ जिल्लामा पुगेर उनले जिम्मेवारी निर्वाह गरे। कुनै जिल्ला पहाडी भूगोलका कारण चुनौतीपूर्ण थिए त कुनै द्वन्द्वको चपेटामा परेका थिए। विशेषगरी माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला दाङ, कालिकोट र प्युठानजस्ता जिल्लामा बसेर काम गर्नुपरेको अनुभव उनीसँग छ। त्यसबेला प्रहरीको जिम्मेवारी केवल नियमित शान्ति सुरक्षा कायम गर्नुमा सीमित थिएन। जुनसुकै बेला उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबीच नागरिकको सुरक्षा र राज्यको उपस्थिति कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण थियो।उनको प्रहरी जीवनका सबैभन्दा अविस्मरणीय क्षणमध्ये द्वन्द्वकालीन भिडन्तका घटना हुन्। २०५५ सालमा प्युठानको पुजालीबासे क्षेत्रमा भएको घटनाले उनलाई अझै झस्काउँछ। त्यसैगरी २०५७ सालमा कालिकोटको कोटबाडा र ओदानकु गाउँ क्षेत्रमा दोहोरो भिडन्तको सामना गर्नुपरेको थियो। २०५८ साल भदौ ८ गते दाङको घोराहीमा भएको युद्धमा पनि उनी प्रत्यक्ष रूपमा जिम्मेवारीमा खटिएका थिए। ती दिनमा प्रहरीको दैनिकी सहज थिएन। जिल्लाको अवस्था, सुरक्षा चुनौती र प्राप्त सूचनाका आधारमा तत्काल निर्णय लिनुपर्ने अवस्था रहन्थ्यो। द्वन्द्वको समयमा प्रहरी सेवामा बिताएका ती वर्षलाई उनी आफ्नो जीवनको कठिन तर महत्त्वपूर्ण अध्यायका रूपमा लिन्छन्।द्वन्द्वकालीन कठिनाइका बाबजुद रावलले प्रहरी सेवाबाट पछि हट्ने सोच बनाएनन्। जिल्लाजिल्लामा सरुवा हुँदै जिम्मेवारी पूरा गर्दै गए। प्रहरी संगठनभित्रको अनुभव, कार्यक्षमता र सेवाको निरन्तरताले उनको दर्जा पनि क्रमशः बढ्दै गयो। सेवाको अन्तिम चरणमा उनी प्रहरी नायब निरीक्षक (सई) पदमा पुगे। २०८० पुस १ गते जुम्ला जिल्ला प्रहरी कार्यालयबाटै ३० वर्षे सेवाअवधि पूरा गरी अवकाश लिए। अवकाश हुँदा उनको मासिक कुल तलब ३६ हजार ७ सय ६० रुपैयाँ थियो। अहिले उनले मासिक ३५ हजार ३ सय ११ रुपैयाँ पेन्सन प्राप्त गर्दै आएका छन्।रावलसँगै प्रहरी सेवामा प्रवेश गरेका जुम्लाका २० जनामध्ये दुई जना हवल्दार पदबाट अवकाश भएको उनको भनाइ छ। बाँकी साथीहरू विभिन्न कारणले सेवामा नरहेको र केहीको द्वन्द्वकालमै मृत्यु भएको स्मरण गर्छन्। प्रहरी सेवामा प्रवेश गर्दा एउटै समूहमा रहेका साथीहरूको यात्राले उनलाई प्रहरी जीवनको अर्को पाटो पनि सम्झाउँछ। सबैले समान रूपमा सेवा पूरा गर्न पाएनन्। कतिपयले बीचमै ज्यान गुमाए भने कतिपयले विभिन्न कारणले सेवा छाड्नुपर्‍यो। लामो सेवायात्रामा सहकर्मीहरूसँग बिताएका क्षण र गुमाएका साथीहरूको सम्झना उनको मनमा अझै ताजा छ।अवकाशपछि पनि रावल प्रहरी संगठनसँगको सम्बन्धबाट टाढिएका छैनन्। उनी पूर्वप्रहरी संगठन जुम्लाका सदस्य छन्। सेवामा रहँदा सिकेको अनुशासन, जिम्मेवारी र अनुभवलाई सामाजिक जीवनमा पनि उपयोग गर्ने उनको सोच छ। प्रहरी सेवाको अनुभवले मानिसलाई कठिन परिस्थितिमा धैर्य गर्न, निर्णय लिन र जिम्मेवारीबाट पछि नहट्न सिकाउने उनको बुझाइ छ।उनको जीवनको अर्को महत्त्वपूर्ण उपलब्धि पारिवारिक आर्थिक अवस्था र छोराछोरीको शिक्षा हो। प्रहरी सेवामा प्रवेश गर्दा सीमित आम्दानीबाट सुरु भएको पारिवारिक यात्रा अहिले तुलनात्मक रूपमा सहज बनेको छ। श्रीमती कल्पना महत (रावल) दुई छोरी र एक छोरासहितको परिवार छ। छोरा मिसाइल र छोरीहरू रोजी तथा चाहानाको भविष्य निर्माणमा उनी केन्द्रित छन्। छोरीले सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेकी छन् भने विज्ञान विषयको अध्ययन पूरा गरेकी छोरी वियन पढ्ने तयारीमा रहेको परिवारले जनाएको छ। छोराछोरीको शिक्षामा गरेको लगानी र उनीहरूको प्रगतिलाई रावल आफ्नो सेवाजीवनको ठूलो उपलब्धि मान्छन्।जीवनमा जिम्मेवारी पूरा गर्न पाएँ, यही नै मेरो सन्तुष्टि हो।’

द्वन्द्वकालका कठिन मोर्चामा खटिइ अवकाश भएका: सई गणेश रावल

स्थानीय चुनाव लक्षित गर्दै जुम्लामा नेकपाको जागरण

द्वन्द्वकालका कठिन मोर्चामा खटिइ अवकाश भएका: सई गणेश रावल

सिंजा युवा एकता भलिबल कपको उपाधि नराकोटलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!