‘सशक्त महिला समूह नेपाल’ कार्यक्रमको सिकाइ आदानप्रदान

हस्त चौलागाईं
कालिकोट,१७  कार्तिक ।

महिलाको नेतृत्व विकास, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण तथा परम्परागत हानिकारक सामाजिक अभ्यासको अन्त्य गर्ने उद्देश्यले कालिकोटमा सञ्चालित ‘सशक्त महिला समूह नेपाल’ कार्यक्रमको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सशक्त महिला समृद्ध नेपालको समन्वय तथा सहजीकरण र खाँडाचक्र नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा परियोजना मार्फत समुदायस्तरमा हासिल भएका उपलब्धि, सकारात्मक परिवर्तन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा अनुभव आदानप्रदान गरिएको थियो।
कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकामा सञ्चालन भएको उक्त कार्यक्रम सन् २०२३ देखि कर्णाली प्रदेशका पाँच जिल्लाका १० स्थानीय तहमा लागू गरिएको थियो।
युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय निकायहरू युनिसेफ, युएनएफपीए, युएन वुमन र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको हो।
कार्यक्रमले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणसँगै महिला र किशोरीमाथि हुने हिंसा, बालविवाह, विभेद, छाउपडी लगायतका परम्परागत हानिकारक अभ्यास न्यूनीकरणमा विशेष जोड दिँदै आएको छ। महिलालाई अधिकारका विषयमा सचेत बनाउने मात्र नभई आफ्ना अधिकारका लागि आफैँ आवाज उठाउन सक्ने नेतृत्वदायी क्षमताको विकास गर्नु कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको छ।

रुपान्तरण कक्षामा सहभागी कक्षा ९ मा अध्ययनरत छात्रा निशा पाण्डेले समाजमा विद्यमान परम्परागत हानिकारक अभ्यास, विभेद तथा विभिन्न प्रकारका हिंसाविरुद्ध आफूहरू सचेतना र अभियानमार्फत सक्रिय रूपमा लागिरहेको बताइन्। उनले भनिन्, “समाजमा जरा गाडेर बसेका कुरीति, कुसंस्कार र हिंसाको अन्त्य गर्दै सभ्य, सुरक्षित र समानतामूलक समाज निर्माण गर्नु हाम्रो दायित्व हो। साथै, कुलतमा फसेका व्यक्तिहरूलाई समेत सही बाटोमा ल्याउन सचेतनामूलक प्रयास गरिरहेका छौँ।”

कार्यक्रममा युनिसेफका कुंगा संडुप लामाले कार्यक्रमबाट प्राप्त सिकाइ तथा अनुभव प्रस्तुत गर्दै समुदायमा देखिने परिवर्तन नै परियोजनाको वास्तविक उपलब्धि भएको धारणा राखेका थिए। उनका अनुसार महिला तथा किशोरीलाई सचेत, सक्षम र निर्णय प्रक्रियामा सहभागी बनाउन सके समाजमा विद्यमान विभेद तथा हानिकारक अभ्यासहरू क्रमशः अन्त्य गर्न सकिन्छ।
सामाजिक रूपान्तरणका लागि समुदायको सोच र व्यवहारमा परिवर्तन आउनु आवश्यक रहेको उनले जोड दिएका थिए।

त्यसैगरी, युएनएफपीएका कार्यक्रम विश्लेषक आत्मराम न्यौपानेले कार्यक्रम कार्यान्वयनका क्रममा प्राप्त अनुभव, उपलब्धि र चुनौतीबारे आफ्नो धारणा राखेका थिए। उनले महिला सशक्तीकरण कुनै एक संस्थाको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानीय सरकार, समुदाय, नागरिक समाज र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए। महिलालाई अवसर, सम्मान र निर्णय गर्ने अधिकार प्रदान गर्न सके मात्रै समतामूलक तथा समृद्ध समाज निर्माण सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले महिला तथा किशोरीको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, हिंसाविरुद्ध आवाज उठाउने क्षमता र समुदायमा सकारात्मक सामाजिक परिवर्तनका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाएका थिए। उनीहरूले परियोजनाबाट प्राप्त ज्ञान, सीप र सिकाइलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नगर उपप्रमुख, परियोजनासँग आबद्ध कर्मचारी, वडाध्यक्ष, पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी रविन्द्र सेजुवालले गरेका थिए।
महिला सशक्तीकरण केवल महिलाको व्यक्तिगत विकासको विषय नभई परिवार, समुदाय र समग्र समाजको समृद्धिसँग जोडिएको विषय हो। त्यसैले महिलालाई अधिकार, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्दै हिंसा, विभेद र कुरीतिमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता रहेको कार्यक्रमको निष्कर्ष थियो।

‘सशक्त महिला समूह नेपाल’ कार्यक्रमको सिकाइ आदानप्रदान

२२ बुँदे साझा प्रतिबद्धता पारित गर्दै ७

‘सशक्त महिला समूह नेपाल’ कार्यक्रमको सिकाइ आदानप्रदान

‘सशक्त महिला समूह नेपाल’ कार्यक्रमको सिकाइ आदानप्रदान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!