बाँकेमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न, नियमित वर्षाले किसान उत्साहित

बाँके ,१७ साउन ।
बाँके जिल्लामा यस वर्ष कुल धान खेतीयोग्य क्षेत्रफलको ९३.०४ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ३१ हजार ४ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाइँले तीव्र गति लिएको हो। सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने आकाशे पानीमा निर्भर रहेका केही स्थानमा मात्रै रोपाइँ बाँकी रहेको छ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले सिक्टा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिँचाइ सुविधा उपलब्ध भएका स्थानका किसानले रोपाइँ सम्पन्न गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि वर्षाको भर पर्नुपर्ने क्षेत्रमा समेत रोपाइँ उल्लेखनीय रूपमा अघि बढेको छ।
उहाँले बाँकेमा सामान्यतया असारको दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौको पहिलो सातासम्म चल्ने परम्परा रहेको बताउनुभयो। यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँ केही ढिलो सुरु भए पनि पछिल्ला दिनको वर्षाले किसानलाई ठूलो राहत पुगेको उहाँको भनाइ छ।
किसानहरूका अनुसार केही दिनयताको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि रोपाइँको काम तीव्र गतिमा अघि बढेको हो। मौसम अनुकूल रही नियमित वर्षा भइरहे बाँकी करिब ६.९६ प्रतिशत क्षेत्रफलमा पनि साउनभित्रै धान रोपाइँ सम्पन्न हुने अपेक्षा कृषि ज्ञान केन्द्र बाँकेले गरेको छ।
यस वर्ष समयमै वर्षा हुन थालेपछि धान उत्पादन पनि सन्तोषजनक हुने अपेक्षा गरिएको छ। किसानले मौसमले साथ दिए राम्रो उत्पादन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।





