पब्लिक स्पिच बाँकेको चौथो शृंखलाः अडिसनबाट १० प्रतिस्पर्धी फाइनलमा प्रवेश

बाँके ,१९ माघ।

बास नेपालको आयोजनामा सञ्चालन गरिएको पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक मन्तव्य प्रतियोगिता) बाँकेको चौथो शृंखलाअन्तर्गत अडिसन राउण्ड शनिबार नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ । अडिसन राउण्डबाट उत्कृष्ट प्रदर्शन गरेका १० जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनौट भएको आयोजकले जनाएको छ ।

विद्यार्थी तथा युवाहरूको वक्तृत्वकला, वाक क्षमता र सार्वजनिक भाषणकला अभिवृद्धि गर्ने उद्देश्यले बास नेपालले विगतका वर्षदेखि निरन्तर रूपमा पब्लिक स्पिच कार्यक्रम आयोजना गर्दै आएको बताइएको छ । सोही कार्यक्रमअन्तर्गत बाँके जिल्लामा रहेका विभिन्न विद्यालय तथा कलेजका १५ जना विद्यार्थीहरूले अडिसन राउण्डमा सहभागिता जनाएका थिए ।


नेपालगञ्ज मोडल एकेडेमी, पशुपति माध्यमिक विद्यालय राँझा, वेस्ट जोन इ.मि. स्कुल, सिटी पब्लिक स्कुल, श्री ज्ञानोदय माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, लक्ष्मी माध्यमिक विद्यालय सगरमाथा ज्ञानपुञ्ज तथा मंगलप्रसाद नमुना माध्यमिक विद्यालयबाट सहभागी भएका प्रतिस्पर्धीहरूले तोकिएका विषयमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । सहभागीहरूले ‘नैतिकता भ्रष्टाचार नियन्त्रणको प्रमुख आधार’, ‘मेरो देशको समृद्धिका आधारहरू’ तथा ‘देशको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चितता’ विषयमा धारणा राखेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गमलामा पानी हालेर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमले युवाहरूको आत्मविश्वास बढाउनुका साथै नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रतियोगितामा शिक्षाविद् किरण आचार्य तथा वरिष्ठ पत्रकारद्वय रुद्र खड्का र कृष्ण अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने बास नेपालकी कार्यक्रम संयोजक शोभा थापामगरको सहकार्य रहेको जनाइएको छ ।
गोलाप्रथाका आधारमा विषय छनौट गरी सहभागीहरूले तोकिएको विषयमा ४ मिनेटभित्र आफ्नो मन्तव्य सक्नुपर्ने व्यवस्था गरिएको थियो । निर्णायकहरूको मूल्याङ्कनका आधारमा वर्षिका भण्डारी, सृष्टि बुढामगर, मनिषा उपाध्याय, लक्ष्मी पोख्रेल, आशिका केसी, चन्द्रलाल जैसी, दिक्षिका खत्री, प्रनिशा भट्टराई, सगुन तिवारी र सबिना कठायत फाइनल राउण्डका लागि छनौट हुनुभएको आयोजकले जानकारी दिएको छ ।

फाइनल राउण्डमा छनौट भएका प्रतिस्पर्धीहरूले ‘शान्ति, समृद्धि र विधिको शासनका लागि मेरो भूमिका’, ‘बौद्धिक पलायन रोकथामका दिगो उपाय’, ‘युवा स्वरोजगारका सम्भावना र युवा शक्तिको सदुपयोग’ तथा ‘नेपालमा आर्थिक स्वतन्त्रताका नवीन उपायहरू’ विषयमा मन्तव्य प्रस्तुत गर्नुपर्ने बताइएको छ । फाइनल राउण्ड यही माघ २८ गते सी.एस.टी. होटल, नेपालगञ्जमा आयोजना हुने जनाइएको छ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पार्नुभएको थियो । कार्यक्रम सञ्चालन बास नेपालका कार्यक्रम अधिकृत रवीन्द्र बोहराले गर्नुभएको थियो ।

पब्लिक स्पिच बाँकेको चौथो शृंखलाः अडिसनबाट १० प्रतिस्पर्धी फाइनलमा प्रवेश

रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

पब्लिक स्पिच बाँकेको चौथो शृंखलाः अडिसनबाट १० प्रतिस्पर्धी फाइनलमा प्रवेश

सम्पादकीय : कर्णालीमा औद्योगिक विकासको अवसर !

Leave a comment

Your email address will not be published. Required fields are marked *