मतदाताको विश्वास खोज्दै जुम्ला कांग्रेस

गाेल्डेन बुढा

जुम्ला,१९ माघ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस जिल्ला समिति जुम्लाले युवामुखी एजेन्डा र मतदाता केन्द्रित रणनीतिलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ। बढ्दो बेरोजगारी, वैदेशिक पलायन र आधारभूत सेवाको अभावले असन्तुष्ट बनेका मतदातालाई लक्षित गर्दै कांग्रेसले आफ्नो सन्देश पुनः परिभाषित गरेको देखिन्छ।रणनीति निर्माणका लागि बसेको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै युवालाई प्रत्यक्ष रूपमा अभियानमा जोड्ने निष्कर्ष निकालेको हो। पार्टी नेतृत्वका अनुसार अब चुनावी राजनीति नारामा सीमित नरहने र युवाको जीवनसँग जोडिएका सवालमा स्पष्ट जवाफ दिने चरणमा प्रवेश गरेको छ।नेपाली कांग्रेस जुम्ला क्षेत्र नम्बर ‘क’ का क्षेत्रीय सचिव तीर्थराज न्यौपानेले यसपटकको अभियान युवाको अपेक्षा केन्द्रमा राखेर तयार गरिएको बताए।‘युवाले रोजगारी, शिक्षा र भविष्य खोजिरहेका छन्,’ उनले भने, ‘त्यही वास्तविकताबाट भाग्ने होइन, सामना गर्ने रणनीति बनाएका छौं।

’जुम्लामा पछिल्लो समय उच्च शिक्षा, सीप र रोजगारीको खोजीमा युवाको बाहिरिने क्रम तीव्र छ। यही सन्दर्भलाई कांग्रेसले प्रमुख चुनावी मुद्दा बनाउने संकेत दिएको छ। जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीले पार्टीभित्रको एकताले युवामाझ विश्वसनीयता बढाएको दाबी गरे।‘अब युवाले गुट र विवाद होइन, स्पष्ट दिशा खोजिरहेका छन्,’ उनले भने, ‘कांग्रेस त्यो विकल्प बन्न सक्छ।’केन्द्रीय सदस्य रामदेवी (महत) खड्काले कांग्रेसको संगठनात्मक संरचना ग्रामीण तहसम्म पुगेको उल्लेख गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्ने क्षमतामा पार्टी अगाडि रहेको बताइन्। उनका अनुसार घरदैलो अभियानले मतदाताको असन्तुष्टि सुन्ने मात्र होइन, नीति निर्माणमा त्यसलाई समेट्ने अवसर दिन्छ।कर्णाली प्रदेश सभापति ललितजंग शाहीले युवामाझ निराशा बढ्दै गएको अवस्थामा जिम्मेवार राजनीतिको आवश्यकता औँल्याए।‘युवालाई सपना मात्र होइन, सम्भावना देखाउनुपर्छ,’ उनले भने, ‘कांग्रेसले अब व्यवहारमै त्यो देखाउनुपर्ने समय आएको छ।’कांग्रेस जुम्लाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्रमुख एजेन्डा बनाएर मतदातासँग संवाद गर्ने जनाएको छ। विशेषगरी युवाका लागि सीपमूलक तालिम, स्थानीय रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने संकेत पार्टीले दिएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको यो युवामुखी रणनीति सफल हुन युवाको निराशालाई कति विश्वसनीय रूपमा सम्बोधन गर्न सक्छ भन्ने कुरामा निर्भर रहनेछ। मतदाताको नजरमा अब दलको इतिहासभन्दा बढी, भविष्यप्रतिको स्पष्टता नै निर्णायक बन्ने देखिन्छ।

मतदाताको विश्वास खोज्दै जुम्ला कांग्रेस

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ २५ जिल्लाका ३०

मतदाताको विश्वास खोज्दै जुम्ला कांग्रेस

रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

Leave a comment

Your email address will not be published. Required fields are marked *