बैजनाथ-८ मा सार्वजनिक सुनुवाई सम्पन्न: सेवा प्रवाहमा सुधारका लागि ६ बुँदे प्रतिबद्धता
बाँके ,६जेष्ठ
बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा र बास नेपालको सहजीकरणमा सम्पन्न कार्यक्रम मार्फत सेवाप्रवाहमा सुधार र नागरिकको गुनासो सम्बोधन गर्ने ६ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो।
सोमवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा कृषकले गुनासो गरेका मकैको बीउको गुणस्तरबारे छानबिन गरी समाधान गर्न कृषि शाखासँग समन्वय गर्ने, मेलमिलाप समितिको कार्यकक्ष तत्काल निर्माण गर्ने, खानेपानीको अभाव रहेका टोलहरूमा समस्या समाधानका लागि पालिकासँग पहल गर्ने लगायतका प्रतिबद्धता जनाइयो।
यस्तै, नाउ टोल र दुधान टोलमा देखिएको बाटो र नालीको समस्याबारे टोलबासीको सहमति लिएर वडा कार्यालयले पहल गर्ने बताइएको छ। साथै, स्वास्थ्य चौकीको गेटमा डिजिटल साइन बोर्ड नहुँदा रातको समयमा सेवाग्राहीलाई समस्या भएको भन्दै तत्काल बोर्ड जडानको पहल गरिने पनि वडाले जनायो।
लक्षित वर्गका लागि सञ्चालन हुने तालिम तथा कार्यक्रम वडाबाट नभई पालिकामार्फत हुने भएकाले सो सम्बन्धमा समन्वय गरेर कार्य अघि बढाइने प्रतिबद्धता गरिएको छ।
करिब दुई घण्टा चलेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषकदेखि महिलासम्मका बासिन्दाले कृषि बीउको गुणस्तर, बाटोघाटो, खानेपानी, र स्वास्थ्य सेवामा देखिएको असहजता लगायतका विषयमा खुला गुनासो गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष भगन थारु, कार्यपालिका सदस्य कृष्णकुमारी सुनार, वडा सदस्यहरू, स्वास्थ्य चौकी इन्चार्ज, सरोकारवालाहरू तथा बास नेपालका प्रतिनिधिको उपस्थिति थियो।
बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभएको थियो भने वडा सचिव डम्बर बहादुर खत्रीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गर्नुभएको थियो।