कर्णाली : जडीबुटीको राजधानी

गणेश विशु, सुर्खेत । कर्णाली हिमाली र पहाडी भूगोलबाट निर्मित छ । जसका कारण पनि कर्णाली आफैँमा जडीबुटीको विशाल भण्डार हो । अर्थात्, जुडीबुटीको राजधानी हो । जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी यहाँ उपलब्ध छन् । प्रायः सबै जडीबुटी औषधीय गुणका छन् । कर्णालीमा जडीबुटीको प्रचूर सम्भावना छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव छ ।

नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । विभागका अनुसार औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुन्छन् । वनस्पति विज्ञहरुका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरैमात्रामा जडीबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडीबुटी निर्यात गरिन्छ । कर्णालीमा एक सय ४७ जातको जडीबुटी पाइन्छन् । यहाँका अधिकांश जडीबुटी बाह्य देशमा निर्यात हुन्छन् ।
नेपालमा सर्वाधिक नाम चलेको जडीबुटी यार्सागुम्बा वा जीवनबुटी हो । लार्भेच्याउ पनि भनिने यार्सागुम्बालाई चीनमा दुई हजार वर्ष पहिलेदेखि शक्तिवद्र्धक औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । कर्णालीका डोल्पा, जुम्ला, मुगु, हुम्ला, रुकुम पश्चिमलगायतका जिल्लामा जीवनबुटी पाइन्छ । ताकत र यौनशक्ति वृद्धि गर्ने यार्सागुम्बाको मूल्य नेपालमा प्रतिकिलो ४५ लाखसम्म रहेको बुझिन्छ । पाँचऔंले पनि अर्को जडीबुटी हो जसलाई हत्ताजडी वा हाते पनि भनिन्छ । एउटा मात्र डाँठ हुने यो पञ्जाजस्तो गानाहुने बिरुवा हो । यसैले यसलाई पाँचऔले भनिएको हो । यो पनि कर्णालीमा पाइन्छ ।
अर्को महŒवपूर्ण जडीबुटी कुटकीलाई अशोक रोहिणी, मत्स्य पित्ता, कटु रोहिणी पनि भनिन्छ । यो रुकुम पश्चिम, दैलेख, जाजरकोटलगायतका जिल्लामा पाइन्छ । जमिनमुनिबाट निकालिने जडीबुटी भएकाले यसले पेट दुखेको, अर्जीण भएको र रक्त विकारमा बढी लाभ पु¥याउने विश्वास गरिन्छ । जटामसीलाई तपस्विनी, जटिला, लोमशा र जटामांसीजस्ता नामले पुकारिन्छ । यो हिमाली क्षेत्रमा धुपी र हिमाली चिमालको बुट्यानको चिसो र ओसिलो ठाउँमा पाइन्छ । खनेर निकालिने यो जडीबुटीमा तागत, उत्तेजना, छारेरोग, वायुसमन गर्ने औषधीय गुण पाइन्छ । टिमुर वायुनाश गर्ने, दात दुखेको निको गर्ने, तागत दिनेलगायतमा प्रयोग हुन्छ ।
पदमचाल नामक जडीबुटी रुकुम पश्चिम, कालीकोट, दैलेख, जाजरकोटमा पाइन्छ । यसलाई शंखत्र पनि भनिन्छ । यो हिमाली क्षेत्रको फिरफिरे, ठिंगे वा गोब्रेसल्ला भएको जंगलको छेउछाउ, थुम्का र ढुंगाको अन्तरमा उम्रिएको पाइन्छ । खनेर काण्ड निकाली प्रयोग गरिने यो बिरुवाले तागत दिने, कब्जियत हटाउनेलगायत काम गर्छ । गुनेमाउरो र कुकुर तरुल भनिने भ्याकुर महाभारत र तल्लो हिमाली भेगमा पाइन्छ । विशेषगरी चिसो, ओसिलो पत्कर कुहेर मल भएको, ढुंगैढुंगा भएको भिरालो जमिनमा सालसल्ला, लालिगुराँस, कटुस, फलाँसको जंगलमा पाइन्छ । दैलेख, जुम्ला, जाजरकोटलगायतमा यसको उत्पादनको प्रशस्त हुन्छ । गानोको रूपमा पाइने यस जडीबुटीले घाउ खटिराको उपचार गर्ने र ताकत दिने विश्वास गरिन्छ ।
सुगन्धवाला वा सोमन महाभारत पर्वत शृंखलाको चिसो, सेपिलो र ओसिलो ठाउँमा पाइन्छ । काण्ड प्रयोगमा आउने यसले उत्तेजना, तागतको औषधीय काम गर्छ । खयर (हिखयो)अर्को जडीबुटीको नाम हो । यसले पाचन शक्ति बढाउने, घाउखटिरा, बाथ तथा मर्केको जोर्नीमा लेप लगाउने काममा समेत सघाउँछ । मझौला कदको यो रूखबाट कत्था बनाइन्छ । चिराइतोलाई खालु र तिते पनि भनिन्छ । यो कर्णालीका दैलेख र रुकुम पश्चिमलगायतका जिल्लामा पाइन्छ । यसले खानाको स्वाद र रुचि बढाउँछ । चुत्रोलाई मरप्यासी पनि भनिन्छ । यसको जरा र बोक्रा औषधीय रूपमा प्रयोग गरिन्छ । यसले घाउखटिरा, कमलपित्त, ज्वरो निको पार्छ । तेजपात धेरै गृहिणीले खानाको स्वादका लागि भान्छामा प्रयोग गर्छन् । पातलाई तेजपात र बोक्रालाई दालचिनी भनिन्छ । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा पाइन्छ ।
सेतकचिनी, पाषणभेद, सुगन्धवाल, धुपीपात, तितेपाती, कुट्की, वनलसुन, गुच्चीच्याउ, चिराइतो, कालादाना र रातो च्याउलगायतका जडीबुटी कर्णालीमा प्रशस्त पाइन्छ ।
जडीबुटी उद्योगमा लगानी सीमित छ । लगानीमैत्री वातावरण नहुनु तथा प्रतिफलको सुनिश्चितता नहुनु नै यसको मुख्य कारण हो । योबाहेक स्वदेशी उत्पादन घट्ने, श्रमिकहरुको अभाव हुनु, बीमा सुविधा नहुनु, अनुदानको व्यवस्था नहुनु आदि समस्याहरुले पनि जडीबुटी उद्योगहरुमा निजी क्षेत्रको आकर्षण घटेको छ । वास्तवमा जडीबुटीजन्य उद्योगहरुको संरक्षण तथा प्रवद्र्धनबाट यहाँको आर्थिक विकास मात्र नभई सर्वसाधारणलाई रोजगारीका अवसर पनि प्राप्त हुनेछ ।
प्रत्येक नागरिकलाई सकारको तर्फबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने हक वर्तमान संविधानले सुनिश्चित गरेको छ । यहाँ प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक भएकाले जडीबुटीजन्य औषधिहरुको धेरै महŒव छ । तर खेदको कुरा त के छ भने जडीबुटी प्रशोधन केन्द्रहरुको अभावमा यहाँ उत्पादित जडीबुटीहरु थोरै मूल्यमा निर्यात गर्नुपरेको छ । जडीबुटीको समूचित प्रयोग गर्ने भनिएको छ भने अर्कोतर्फ आन्तरिक उत्पादनलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्दै गुणस्तरीय औषधिको सहज तथा प्रभावकारी आपूर्ति गर्ने नीति छ । तर यी कुराहरु हालसम्म पनि व्यवहारमा परिणत गर्न सकिएको छैन ।
धेरैजसो गाउँवासीहरु परम्परागत घरेलु उपचारमा विश्वास गर्दछन् । यस्तो औषधि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दैन भन्ने उनीहरुको विश्वास छ । यस्तो औषधि कम खर्चिलो र प्रभावशाली हुन्छ भन्ने कुरामा पनि उनीहरु विश्वस्त छन् । ग्रामीण क्षेत्रका वनजंजलमा जडीबुटीहरुको प्रचुर उपलब्धता तथा तिनको औषधिजन्य उपयोगसम्बन्धी ज्ञान भएको कारण गाउँवासीहरु विभिन्न जडीबुटीहरुलाई विभिन्न रोगहरुको उपचारका लागि प्रयोग गर्दछन् । त्यसैले उनीहरुका लागि स्थानीय जडीबुटीहरुको धेरै महŒव छ ।
केही वर्षयता जडीबुटीहरुको परम्परागत ज्ञान लोप हुने अवस्थामा छ । यस्तो ज्ञानलाई बचाइराख्न यस सम्बन्धमा नयाँ पुस्तालाई तालिम दिन आवश्यक छ । योबाहेक परम्परागत तथा आधुनिक पशु चिकित्सा पद्धतिलाई व्यवहारमा उतार्न पनि आवश्यक छ ।
भनिन्छ, ‘कर्णाली रोग, भोकले ग्रसित छ ।’ बाहिरबाट सामान आयात नहुने हो भने, कर्णाली भोकै बस्छ । भिरालो जमिन हुँदा खेतीयोग्य जमिनबाट आवश्यकभन्दा कम उत्पादन हुन्छ । जसबाट कर्णालीलाई भोकको भय सिर्जना हुन्छ । भोककै लडाइँका लागि दैनिक दर्जनौं ट्रक कर्णालीमा आउँछन् । तर, बिडम्बना फर्किँदा ति सबै रित्तो फर्किनुपर्छ । खाली फर्किने ट्रकमा कर्णालीले जुडीबुटी मात्र निर्यात गर्ने हो भने आर्थिकरुपमा सवल हुन सक्छ । कर्णालीका १० वटै जिल्लामा बहुमूल्य जडीबुटी पाइन्छन् । तर, ढुवानी समस्याले गर्दा ति औषधिजन्य जडीबुटी कुहिएर खेर गइरहेका छन् ।
कर्णालीबाट कस्ता जडीबुटी निर्यात हुन्छन् ?
प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार यहाँबाट निर्यात हुने ७९ प्रकारका जडीबुटीमा अत्तीस, अमलवेद, अमला, अल्लो, अल्लो धागो, अल्लोको बोक्रा, कराचुल्ठे, काकरसिङ्गेलगायतका जडीबुटी निर्यात हुँदै आएका छन् । यसैगरी काउलो (दाना/बोक्रा), कालो काठको दाना, कालो मसुली, कुट्की, कुरिलो, कुरिलोको जरा, खिरौला, गिठी (बोक्रा), गुच्ची च्याउ, गुजर गानो, गुडमार, गुराँसको फूल, गुर्जो, गोकुलधुप, घोडताप्रे, घोडा मच्चा, चिउरी, चिराइतो, चुत्रो÷चुत्रोको बोक्रा, जटामसी, टिमुर, ठटेला÷ढटेलो, डालेचुक, ढडेलमेलगायतका जडीबुटी पनि निर्यात हुने गरेको छ ।
कर्णालीबाट तीगेडी, तीतेपाती, तेजपात, तेलाली काठ÷फुरु (पीस), दालचिनी, धूपीपात (बोक्रा÷गेडा), पदमचाल, पानी अमला, पावन बोक्रा, पाषण वेद, बज्रदन्ती, बाँस (घना), बायोजडी, बुकीफुल, बोझो÷बोझोको जरा, भिर मह, भुतकेश, भृंगराज, भोजपत्र, मइन (लाहा), मजिठो, मह, यार्सागुम्बा, रातो च्याउ जस्ता जडीबुटीहरु विभिन्न देशमा निर्यात हुँदै आएको छ । यस्तै रिठ्ठा, लोक्ता, वन आलु, वन प्याज, वन लसुन, विष, विषजरा, विषफेज, शिलाजीत, सजिवन, सतावरी, सतुवा, सात गाठे, साधारण च्याउ, सिल्टीमुर, सुगन्धवाल, सुनपाती, सिस्नु (पात÷डाँठ÷पाउडर÷जरा), सेतकचिनी, सेतो मसुली, सोमलता, स्लेटपत्थर र हर्रोलगायतका जडीबुटी कर्णालीबाट निर्यात हुँदै आएको प्रदेश वन निर्देशनालयले जनाएको छ ।






