हावाहुरीले ढाल्यो  १३२ केभी प्रसारण आयोजनाका पोल

ओम शाही

सुर्खेत, २६ बैशाख ।

केही दिनअघि आएको भीषण हावाहुरीका कारण ढलेको रुखले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको विद्युत सेवा अनियमित बनेको छ । मुख्य प्रसारणलाइनमा क्षति पुगेपछि कर्णालीका अधिकांश जिल्लामा विद्युत आपूर्ति प्रभावित बनेको हो ।

कर्णालीमा विद्युत आपूर्ति हुने कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाइनमा पनि हावाहुरीले क्षति पुर्‍याएकाले विद्युत सेवा पुनःस्थापनामा समस्या देखिएको जनाइएको छ । लामो समय रुख कटान, जग्गा भोगाधिकार तथा विभिन्न कानुनी अल्झन पार गर्दै निर्माण सम्पन्न गरिएको १३२ केभी प्रशारण आयोजना तीन महिनाअघि मात्रै सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको छोटो अवधिमै प्राकृतिक विपद्का कारण संरचनामा गम्भीर क्षति पुगेपछि आयोजनाको दिगोपन र गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । प्रसारण आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत चिसापानी क्षेत्रमा आएको हावाहुरीपछि ढलेको ठूलो रुखले १३२ केभी प्रसारणलाइनका दुई वटा पोल भाँचिएका हुन् ।

‘हावाहुरीले प्रशारण लाइनका दुई वटा पोलहरु लडाएको छ,’ चौधरीले भने, ‘अहिले प्राविधिक मूल्यांकनको काम गरिरहेका छौं ।’ उनका अनुसार क्षति गम्भीर प्रकृतिको भएकाले मर्मत कार्य सम्पन्न गर्न लामो समय लाग्ने देखिएको छ । पोल मात्रै नभई संरचनाको आधार भाग अर्थात् फाउन्डेसनदेखि नै पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेकाले तत्काल लाइन सञ्चालनमा ल्याउन नसकिने उनले बताए । ‘अब फाउन्डेसनदेखि नै काम सुरु गर्नुपर्ने अवस्था छ । पूर्ण रूपमा पुनःनिर्माण गर्न करिब डेढ महिना लाग्न सक्छ,’ चौधरीले भने ।

मुख्य १३२ केभी प्रसारणलाइन अवरुद्ध भएपछि अहिले वैकल्पिक रूपमा कोहलपुर–सुर्खेत ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । यद्यपि, सो लाइनमा पनि क्षति पुगेकाले विद्युत आपूर्ति पूर्ण रूपमा सहज हुन नसकेको जनाइएको छ । आयोजना प्रमुख चौधरीका अनुसार कैलालीबाट ल्याइएको ३३ केभी प्रसारणलाइनमार्फत पनि कर्णालीमा विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको छ । वैकल्पिक लाइन प्रयोग गरेर अत्यावश्यक सेवा तथा मुख्य बजार क्षेत्रमा क्रमशः विद्युत आपूर्ति पुनःस्थापना गर्ने तयारी रहेको उनले बताए ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजना कर्णाली प्रदेशको दीर्घकालीन विद्युत आपूर्तिका लागि महत्वपूर्ण पूर्वाधार हो । लामो समयदेखि कमजोर विद्युत संरचना र पटक–पटकको विद्युत अवरोध झेल्दै आएको कर्णालीका लागि यो आयोजना लाइफलाइनका रूपमा प्रस्तुत गरिएको थियो । तर, सञ्चालनमा आएको तीन महिनामै हावाहुरीले ढालेको रुखका कारण दुई वटा पोल भाँचिएपछि आयोजनाको प्राविधिक तयारी र संरचनागत सुरक्षामाथि प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले निर्माण सामग्रीको गुणस्तर तथा प्रसारणलाइन निर्माणका क्रममा अपनाउनुपर्ने ‘ग्राउण्ड क्लियरेन्स’ लगायतका प्राविधिक मापदण्ड पर्याप्त रूपमा पालना नभएको दाबी गरेका छन् । उनीहरुले हावाका कारण ढलेको रुखले सहजै लाइन छोएकाले प्रसारणलाइनको सुरक्षात्मक दूरी र वन क्षेत्र व्यवस्थापनमा लापरवाही भएको आशंका व्यक्त गरेका छन् । यद्यपि, आयोजनाले भने क्षतिको मुख्य कारण असामान्य प्राकृतिक विपद् भएको जनाएको छ ।

अहिले घटनाको प्राविधिक मूल्यांकन भइरहेको र त्यसपछि मात्रै क्षतिको वास्तविक कारण तथा पुनःनिर्माणको विस्तृत योजना सार्वजनिक गरिने आयोजनाको भनाई छ । ‘१३२ केभी लाइनका लागि सामान्यतया करिब ३० मिटर आसपासको करिडोर सुरक्षित राखिन्छ । यस क्षेत्रमा अग्ला रुख, घर वा अन्य संरचना बनाउन पाइँदैन,’ लामो समय नेपालका विद्युत पूर्वाधार निर्माणको अनुभव संगालेका एक इन्जिनियर भन्छन्, ‘हावाहुरी, वर्षा वा प्राकृतिक विपद्का बेला रुख ढलेर लाइनमा नपरोस् भनेर ‘भेजिटेसन म्यानेजमेन्ट’ अत्यन्त महत्वपूर्ण मानिन्छ । धेरै दुर्घटना यही पक्ष कमजोर हुँदा हुने गर्छन् ।’

उनका अनुसार १३२ केभी लाइनका पोल वा टावर हावाहुरी, भूकम्प र भार सहन सक्ने गरी डिजाइन गरिन्छ । फाउन्डेसन मजबुत हुनुपर्छ । माटोको प्रकृति, भूगोल र मौसमको जोखिम अध्ययन गरेर मात्रै संरचना निर्माण गरिने आयोजनाका पोलमा रुख ढलेर भाँचिनुलाई प्राविधिक पाटोमा सामान्यरुपमा लिन नहुने उनले बताए । झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्‌‌ प्रसारण आयोजनाले गएको माघमा पूर्णता पाएको थियो ।

दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत्‌‌ चार्ज गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा आयोजना अघि बढेको थियो । सम्झौताअनुसार २३ असार २०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गा भोगाधिकार, रुख कटान र स्थानीयको अवरोधले ६ वर्षपछि धकेलिएको थियो ।

यो विद्युत्‌‌ लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल एक सय ६२ वटा टावर निर्माण गरिएको छ । सुर्खेतको सुब्बाकुनाको एउटा टावर ५० मिटर अग्लो र अरु सबै टावर लगभग ३० मिटर उचाइका निर्माण गरिएको छ । झण्डै चार दशक पुरानो ३३ केभीए प्रसारण लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत्‌‌ सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पुर्‍याउने र प्रसारण लाइनमार्फत कर्णालीका माथिल्लो क्षेत्रमा बन्ने आयोजनाको विद्युत्‌‌ राष्ट्रिय ग्रिडमा जोड्ने उद्देश्यका साथ १३२ केभी आयोजना अघि बढेको थियो ।

यो प्रसारण लाइन सुर्खेतहुँदै दैलेख, कालीकोट र जुम्लासम्म पुग्नेछ । पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको यो प्रसारण लाइनको पनि काम भइरहेको छ । ३७ वर्ष पहिले २०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलोपटक विद्युतको ३३ केभी लाइन विस्तार गरिएको थियो । उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बरा अवरुद्ध हुने, सुक्खा मौसममा भोल्टेज लो हुने गरेको छ । एंगल टावरसहितको १३२ केभी प्रसारण लाइन निर्माण भएपछि सुर्खेत र आसपासमा यो लाइनबाट वितरण भएको क्षेत्रका विद्युत्‌‌ ग्राहकले उक्त समस्याबाट राहत पाएका थिए ।

हावाहुरीले ढाल्यो   १३२ केभी प्रसारण आयोजनाका पोल

सम्पादकीय : यस्तो हुनुपर्छ वीरेन्द्रनगरको भावि दिशा

Leave a comment

Your email address will not be published. Required fields are marked *