नगर विकासको ३६ बिघा जमिन खाली गराइँदै,पहिलो दिनमै ४० वटा घर–टहरा भत्काइयो

बाँके ,२७ बैशाख ।
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरामा नगरपालिकाले डोजर चलाएको छ । शनिबारदेखि सुरु गरिएको अभियानअन्तर्गत पहिलो दिनमै ४० वटा घर–टहरा भत्काइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफल जमिन, विशेषगरी क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराउन डोजर परिचालन गरेको हो ।
कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख बिरबहादुर थापाका अनुसार नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । सोही अनुरूप नागरिकहरू आफैँ घर–टहरा खाली गर्ने क्रममा रहेका छन् ।
“नागरिकहरूले सरसामान निकालेर खाली गराएका संरचनामा डोजर चलाइएको हो,” थापाले भने, “अझै सामान निकाल्ने क्रम जारी छ । आइतबार ६/७ वटा डोजरमार्फत थप खाली भएका संरचना भत्काइएको थियो ।”
नगरपालिकाले प्रभावित नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर व्यवस्थापनसमेत थालेको जनाएको छ । हालसम्म नगरपालिकाको सम्पर्कमा आएका ७३ घरधुरी वास्तविक भूमिहीन सुकुम्वासी रहेको र उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
त्यसैगरी वर्षौंदेखि सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया पनि नगरपालिकाले अगाडि बढाएको छ । नगरपालिकाका अनुसार गत वर्ष ७ सय ५१ जनाले भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलितका रूपमा फाराम भरेका थिए । तर, पहिचान प्रक्रियापछि १ सय ५३ जना भूमिहीन दलित र १ सय ४१ जना भूमिहीन सुकुम्वासी मात्रै वास्तविक लाभग्राहीका रूपमा पहिचान भएका छन् ।
यसैबीच नगरपालिकाले आइतबार सूचना जारी गर्दै सर्वोच्च अदालतबाट वैशाख २५ गते जारी भएको सुकुम्वासी बस्तीसम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जमिनमा लागू नहुने स्पष्ट पारेको छ । नगरपालिकाले कुनै भ्रममा नपरी बाँकी रहेका घर–टहरा तत्काल खाली गर्नसमेत आग्रह गरेको छ ।






