लुम्बिनी प्रदेशमा एसईई २०८१ को तयारी पूरा
सरला सुवेदी
बाँके । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा ९४ हजार ९०८ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षालाई व्यवस्थित बनाउन ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६०० कर्मचारी परिचालन गरिने भएका छन्।शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। “अब विद्यार्थीहरू परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर परीक्षा दिन मात्रै बाँकी छ,’’ उनले बताए ।
रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ६२३ परीक्षार्थी रहेका छन् भने दाङ, बाँके, कपिलवस्तु, बर्दिया, पाल्पा, गुल्मी लगायतका जिल्लामा पनि हजारौं विद्यार्थी परीक्षा दिँदै छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६०० कर्मचारी परिचालन गरिँदैछ। यसअन्तर्गत ३४८ केन्द्राध्यक्ष, ६३४ सहायक केन्द्राध्यक्ष, ४७५८ निरीक्षक, ९५८ सहायक र १९०२ कार्यालय सहयोगी खटाइने छन्। परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली पनि परिचालन गर्ने जनाएको छ।
त्यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीहरूलाई मनोबल उच्च राखी आत्मविश्वासका साथ परीक्षा दिन अपिल गर्नुभएको छ। परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि दबाब नलिई प्रस्तुत हुन उहाँले सुझाव दिनुभएको छ। साथै, प्रदेश सरकारले परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकेको समेत मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभएको छ ।
४३ जना बालबिज्याइकर्ताले एसईई परीक्षा दिने
बाँके जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १० हजार ४१६ विद्यार्थी सहभागी हुने भएका छन्। पछिल्ला वर्षहरूमा परीक्षार्थीको संख्या बढ्दै गएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईंले जानकारी दिए ।
विहिबारदेखि सुरु हुने परीक्षामा जिल्लाका ८ वटा पालिकाका २०६ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। तीमध्ये पाँच हजार १७९ छत्रा र पाँच हजार २३७ छात्र छन्। जिल्लाका दुई बालसुधार गृहका ४३ जना बाल बिज्याइँकर्ताले पनि परीक्षा दिने भएका छन्।
यस वर्ष १० वटा सामुदायिक विद्यालयका ३७४ जना प्राविधिक धारका विद्यार्थी पनि सहभागी हुनेछन्। परीक्षाका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा, नरैनापुर, डुडुवा, र जानकी गाउँपालिकासहित ३६ परीक्षा केन्द्र तोकिएको छ।