कर्णालीका ३७ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै


सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबार (आज) बाट सुरु हुँदैछ । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमालले एसईई परीक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिइन । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ

यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन ८ चैतमा अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इंग्लिस)को परीक्षा हुनेछ । १० चैतमा अनिवार्य गणित र १२ चैतमा विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

यस वर्षको एसईई परीक्षामा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ विद्यार्थी सहभागी हुनेछन् । जसमा नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडवृृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी छन् । शिक्षा विकास निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।

गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको देखिन्छ । गत वर्ष कुल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका थिए । एसईई परीक्षामा प्रदेशभर एक सय ८० परीक्षा केन्द्र तोकिएको शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमालले बताइन् । जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएका छन् । कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ खर्च हुनेछ ।

कुन जिल्लाबाट कति विद्यार्थी ?
कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदै छन् । सुर्खेतबाट ९ हजार पाँच सय १३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जसमा ३३ परीक्षा केन्द्रबाट सात हजार ५७ र ग्रेडवृद्धितर्फ दुई हजार चार सय ५६ विद्यार्थी छन् । सुुर्खेतबाट यस वर्ष एक सय ३० विद्यार्थीले प्राविधिक एसईई दिनेछन् । यस्तै, रुकुम पश्चिममा १५ परीक्षा केन्द्रबाट तीन हजार ६ सय ६८ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । जसमा नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेडवृद्धितर्फ दुई सय २४ जना विद्यार्थी छन् ।

रुकुम पश्चिमबाट एक सय ६ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् । सल्यानमा २३ परीक्षा केन्द्रबाट चार हजार दुई सय ६९ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ चार हजार ८५ र ग्रेडवृद्धितर्फ एक सय ८४ विद्यार्थी छन् । सल्यानमा दुई सय ७१ जनाले प्राविधिकतर्फको एईई परीक्षा दिनेछन् । हुम्लामा सातवटा परीक्षा केन्द्र तोकिएका छन् ।हुम्लाबाट यस वर्ष एक हजार एक सय चार जनाले एसईई परीक्षा दिँदै छन् । जसमा नियमिततर्फ नौ सय ५० र ग्रेडवृद्धितर्फ एक सय ५४ विद्यार्थी छन् । आठवटा परीक्षा केन्द्र रहेको मुगुबाट नौ सय ४६ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ७८५ र ग्रेडवृद्धितर्फ एक सय ६१ छन् । मुगुबाट प्राविधिकतर्फ ५७ विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पामासात सय ७७ विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । कुल चार परीक्षा केन्द्र रहेको डोल्पामा ७३३ नियमित र ४४ ग्रेडवृद्धिका विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पाबाट एक सय ६५ विद्यार्थी प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् ।

त्यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालीकोटबाट चार हजार ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । जसमा तीन हजार एक सय ९६ नियमित र आठ सय ९३ जना ग्रेडवृद्धितर्फका छन् ।कालीकोटबाट ७२ जनाले प्राविधिकधारतर्फको परीक्षा दिनेछन् ।१६ वटा परीक्षा केन्द्र रहेको जुम्लाबाट दुई हजार ६ सय ८१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ दुई हजार पाँच सय १५ विद्यार्थी रहँदा एक सय ६६ गे्रडवृद्धिअन्तर्गतका विद्यार्थी छन् ।जुम्लाबाट एक सय ४५ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् ।

त्यस्तै, जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा दिनेछन् । जसमा नियमिततर्फ चार हजार तीन सय ३९ र ग्रेडवृद्धितर्फ तीन सय २९ विद्यार्थी छन् । जाजरकोटबाट एक सय ११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् । यस वर्षको एसईईमा दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थी एसईई परीक्षा सहभागी हुँदै छन् । कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार सात सय र ग्रेडवृद्धितर्फ १ हजार ४९६ विद्यार्थीले परीक्षा दिनेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *