विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार उपप्राध्यापक छनाैटमा तत्कालिन सहायक डीन

ओम शाही
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन सहायक डीन कमलेश डिसी र सहप्राध्यापक विनयकुमार दासविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई अख्तियारले बुधबार सर्वोच्चमा पुनरावेदन गरेको हो । करार उपप्राध्यापक छनोटमा डिसी र दासले भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा दायर मुद्दामा विशेष अदातबाट सफाइ पाएका थिए ।
तत्कालीन मानविकी र सामाजिकशास्त्र संकाय डीनको कार्यालयबाट आंशिक तथा करार उपप्राध्यापक छनोटका क्रममा अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो । अंग्रेजी विषयका विषयविज्ञ मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक दासले उत्तरपुस्तिका परीक्षणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको दाविसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै, परीक्षा समितिका संयोजक एवं विश्वविद्यालयअन्तर्गतको मानविकी र सामाजिक शास्त्र संकायका सहायक डिन डिसीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको दाबीसहितको मुद्दा विशेष अदालतमा दर्ता भएको थियो । तर, विशेष अदालतले डिसी र दासलाई सफाइ दिएपछि अख्तियारले बुधबार सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतले आरोप पुष्टि नहुने भन्दै २५ माघ २०८० को फैसलाबाट डिसी र दासलाई सफाइ दिएको थियो ।
सोही फैसलाउपर आयोगको चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उक्त मुद्दामा विशेष अदालत काठमाडौँबाट फैसला हुँदा प्रतिवादीहरू दास र डिसीलाई आरोपदावीबाट सफाइ पाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको जिकिर छ ।
यस्तो छ भ्रष्टाचार प्रकरणको नालिबेली
मध्यपश्चिम विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डीनको कार्यालयद्वारा १९ माघ २०७७ र ५ फागुन २०७७ मा आंशिक तथा करार उपप्राध्यापकहरूको पदपूर्ति गर्न विज्ञापन प्रकाशित भएको थियो । सोही बमोजिम २०७७ चैत ४, ५ र ६ गते लिखित परीक्षा र अन्तरवार्ता सञ्चालन गरिएको थियो ।
यसरी भएको परीक्षाको ६ चैत २०७७ मा नतिजा प्रकाशन भएको थियो । उक्त परीक्षाको उत्तरपुस्तिकामा डिसी र दासले कैफियत गरेको अख्तियारको अभियोग छ । ‘सम्बन्धित विज्ञहरूले परीक्षण हेर्दा अंग्रेजी विषयतर्फ कोड नं इएनजी–१८०७७ को उत्तरपुस्तिकामा दिएको अङ्क पटक–पटक केरमेट गरी बढाएका कारण ३७ अङ्क देखिन्छ । जसमा एक नम्बर प्रश्नको उत्तरमा तीनपटक केरमेट गरी पहिलोपटक चार अङ्क, दोस्रोपटक तीन अङ्क, तेस्रोपटक स्पष्ट नभएको र चौथो पटकमा ६ अङ्क दिइएको देखिन्छ,’ अख्तियारले सर्वोच्चमा दायर गरेको पुनरावेदनमा भनिएको छ ।
उत्तरपुस्तिकामा पहिलोपटक दिएको अङ्कलाई कायम राखेको भए प्राप्ताङ्क ३४ मात्र हुने थियो । तर, कोड नम्बर इएनजी–१२०७७ को उत्तरपुस्तिकामा समेत पहिले दिएको अङ्कलाई पटक–पटक केरमेट गरी बढाउदै अङ्क संशोधन गरी प्राप्ताङ्क ३५ पु¥याइएको अख्तियारले दायर गरेको पुनरावेदनमा उल्लेख छ । जसमा तीन नम्बर प्रश्नको उत्तरमा पहिले तीन अङ्क दिएकोमा पछि केरमेट गरी चार अङ्क बनाइएको, १२ नम्बर प्रश्नको उत्तरमा पनि तीन अङ्क दिएर पुनः काटेर चार अङ्क बनाइएको डिसी र दासमाथि अभियोग छ ।
त्यस्तै, ५ र ८ नंम्बर प्रश्नको उत्तरमा पनि ३–३ अङ्क दिएर सो अङ्कलाई काटी ४–४ अङ्क बनाउनमा डिसी र दास संलग्न रहेको अख्तियारको दाबी छ । उक्त उत्तरपुस्तिकामा पहिलोपटक दिएको अङ्कलाई कायम राखेको भए प्राप्ताङ्क ३१ अङ्क हुने थियो । तर, केरमेट गरी संशोधन गरेपश्चात् ३५ अङ्क पु¥याइएको अख्तियारको दाबी छ । कोड नं १५०७७ को उत्तरपुस्तिकामा पहिले दिएको अङ्कलाई केरमेट गरी घटाउदै संशोधन गरी ३३ अङ्क पु¥याउनमा डिसी र दासले भुमिका खेलेका थिए । त्यस्तै, प्रश्न नं ५ को उत्तरमा पहिले ३ं१ अङ्क दिएकोमा एक केरमेट गरी तीन अङ्क बनाइएको, नौ नं प्रश्नको उत्तरमा पहिले चार अङ्क दिई पछि तीन अङ्क बनाएको अभियोग उनीहरूमाथी छ ।
उनीहरूकै छलकपटले उत्तरपुस्तिकामा पहिलो पटक दिएको अङ्कलाई कायम राखेको भए प्राप्ताङ्क ३५ पुगी उत्तीर्ण हुने अवस्थाको अन्त्य गरिएको अख्तियारले जनाएको छ । यस्तै, कोड नं इएनजी–२०७७, इएनजी–१२०७७, इएनजी–१००७७ र इएनजी–१८०७७ को उत्तरपुस्तिकामा सङ्केत जनिने गरी देब्रेपट्टि माथिल्लो कुनामा उम्मेदवारको सिम्बोल नम्बर लेखी केरमेट गरिएको अख्तियारले जनाएको छ ।
यस कार्यमा सहप्राध्यापक दासले गरेको भनि शिक्षक छनौंट समितिका संयोजक डिसीले अख्तियारमा बयान दिएका थिए । डिसीको बयानअुनसार दासले पनि स्वीकार समेत गरेको तथ्यलाई अन्देखा गरी विशेषबाट भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको पुनरावेदनमा उल्लेख छ ।कार्यालयबाट आंशिक तथा करार उपप्राध्यापकहरूको गर्दा सहप्राध्यापक दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेद्वारलाई पटक पटक अङ्क केरमेट गरी बढाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी घटाएर अनुत्तीर्ण गराएका थिए ।
उत्तरपुस्तिकामा पहिले दिएको अङ्क केरमेट गरी घटाई अनुत्तीर्ण (उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण) गराउन बदनियतपूर्वक कार्य गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरी भ्रष्टाचार गरेको अख्तियारको जिकिर छ ।
परीक्षा समितिका संयोजक डिसीले अंग्रेजी विषयको छानबिन बोर्डको तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक–पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएको अनदेखा गरी स्वीकार गरेका थिए । उत्तरपुस्तिका संपरीक्षण गर्दा विज्ञबाट बदनियत साथ भएको अङ्क थपघटमा गैर कानुनी कार्यलाई समर्थन जनाई विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको गरिमा र गुणलाई समेत आँच आउने कार्य गरी भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै सहायक डीन डिसीलाई सफाइ दिनेगरी भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारले सर्वोच्चमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । अख्तियारले दायर गरेको पुनरावेदनमा अभियुक्तहरूले गरेका कसुर बमोजिमको सजाय हुनुपर्ने माग गरिएको छ ।






