लुम्बिनी  प्रदेशमा ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रम लागू : बालबालिकाको स्वास्थ्य र शिक्षामा नयाँ आशा

बाँके ,३ जेष्ठ ।

लुम्बिनी प्रदेशका विद्यालयमा ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रम औपचारिक रूपमा लागू भएको छ। सामाजिक विकास मन्त्रालयको नेतृत्वमा प्रारम्भ गरिएको यस कार्यक्रमको पहिलो चरणमा बाँकेका १२ र रोल्पाका ८ गरी २० विद्यालयमा स्वास्थ्यकर्मीहरूको परिचालन गरिएको हो।

कार्यक्रमले विद्यालयमा आधारित स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा सुधार ल्याउने उद्देश्य राखेको छ। बालबालिकालाई स्वस्थ जीवनशैलीको प्रेरणा दिनुका साथै स्वच्छ र सिकाइमैत्री वातावरण निर्माण गर्ने पनि लक्ष्य लिएको छ।

स्वास्थ्यकर्मी भावना रोकाले नयाँ जिम्मेवारीप्रति उत्साह व्यक्त गर्दै भनिन्, “हामी विद्यालयमा पुगेर विद्यार्थीको स्वास्थ्य समस्या बुझ्नेछौं, कार्ययोजना बनाई समाधानतर्फ अघि बढ्नेछौं। मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शमा पनि ध्यान दिनेछौं।”

कार्यक्रमको सुरुआतले विद्यालय बाहिर रहेका वा स्वास्थ्य समस्याका कारण पढाइ छाडेका बालबालिकालाई फेरि विद्यालयसम्म ल्याउने प्रयासलाई सघाउनेछ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायणप्रसाद पोख्रेलले “ड्रपआउट दर घटाउँदै शैक्षिक गुणस्तर वृद्धि नै अन्तिम लक्ष्य” रहेको बताए।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयहरूलाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई समुदायमै मन जित्नेगरी सेवा दिन आग्रह गरे।

प्रदेशभर हाल ४,५३१ सामुदायिक विद्यालय रहेका छन्। आगामी दिनमा चरणबद्ध रूपमा सबै विद्यालयमा कार्यक्रम विस्तार गर्ने सरकारको तयारी छ। यो पहलले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *