सम्पादकीय : कागजमा सिमित नहुन् महत्वपूर्ण नीति

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णाली प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८२ प्रस्तुत गरेका हुन् । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको विनियोजन विधेयकमा आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा विकासलाई मुख्य प्राथमिकतामा राखिने उल्लेख छ ।
जसका लागि आगामी वर्षदेखि कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपालः नेपालको गन्तव्य कर्णाली’ भन्ने सोचलाई साकार पार्न दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटकीय सेवाको विकास गरी पर्यटक संख्या, बसाइ अवधि र खर्च रकम बढाउने वतावरण गरिने दावी गरिएको छ । यसमा निजीक्षेत्रको अगुवाइमा प्रदेशभित्र बन्जीजम्प, ¥याफ्टिङ, प्याराग्लाइडिङ, अफरोड कार रयाली, अफरोड वाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ, हाइकिङ, ट्रेकिङ, खेलकुद तथा योग पर्यटन लगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पुरयाउन राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरी यस क्षेत्रको विकासलाई तिव्रता प्रदान गरिने सरकारी लक्ष्य छ सरकारले संसदमा पेस गरेको विधेयकमा रोजगारीका क्षेत्रमा व्यापक सुधार गर्ने दाबी गरिएको छ ।
प्रदेशमा रोजगारी प्रवद्र्धनतर्फ श्रम बजारको माग अनुसारको जनशक्तिको सीप तथा क्षमता विकास गर्न सम्भाव्य निजी रोजगारदातासँगको सहकार्यमा उपयुक्त तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिने विधेयकमा छ । विदेशको अनुभव स्वदेशमा अवसर (रिटर्नी रिटेन) को सोचका साथ वैदेशिक रोजगारीबाट प्रदेशमा फर्केका युवा जनशक्तिसँग भएको ज्ञान, सीप, अनुभव, पुँजीको अभिलेखीकरण गरी सोको उपयोग हुने गरी प्रदेशमा नै उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग र सहुलियतको व्यवस्था गरिने नीति लिन लागिएको सरकारले जनाएको छ ।
मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई स्थानीयस्तरको माग र आवश्यकताअनुरुप तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालनमार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीयवासीको जीविकोपार्जन र जीवनस्तरमा सुधार हुने गरी पुनर्संरचना गर्ने तयारी सरकारको छ । प्रदेश सरकारले सार्वजनिक गरेको विनियोजन विधेयकले नेपालको संविधान र प्रदेश योजनाको कार्यान्वयनका लागि संविधानप्रदत्त मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति, प्रदेशका साझा र एकल अधिकारका विषय, कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले लिएको सोच, लक्ष्य, उद्देश्य प्राप्तिका लागि निर्धारित विकास ढाँचा कार्यान्वयन गर्दै नागरिकको अपेक्षा पूरा गर्ने नीति अवलम्बन गर्ने तयारी सरकारको छ ।
बजेट निर्माणको पूर्वसन्ध्यामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमा कतिपय विषयहरु महत्वपूर्ण छन् । विशेषगरी कर्णालीमा रोजगारी सिर्जना गर्नेदेखि कर्णालीको पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्न तय गरिएका कार्यक्रमहरु निकै महत्वपूर्ण छन् । तर विडम्बना हामी कहाँ महत्वाकांक्षाका साथ अघि सारिने योजना बिचैमा छोड्ने परिपाटी छ । सरकारले आफ्ना नीतिमा समावेश गर्ने सबै योजनाहरु आमनागरिकको पक्षमा हुनुपर्दछ । आगामी वर्षका लागि प्रदेश सरकारले अघि सारेका नीतिहरु वितका वर्षहरुमा झै कागजमै सिमित हुनुहुँदैन । कर्णालीको वास्तविक अवस्थालाई सम्बोधन गर्ने नीतिलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गराएमात्रै कर्णालीको समृद्धि सम्भव छ । यसतर्फ सरकारले ध्यान पुरयाओस् ।






