देउडाको दायरा बढाउँदै इब्सल

ओम शाही, सुर्खेत । देउडा भन्ने बित्तिकै आम मानसपटलमा पश्चिम नेपालको लोक संस्कृति झल्किन्छ । देउडा कर्णाली र सुदूरपश्चिम प्रदेशमा गाइने प्रचलित लोक गायन शैली हो । यसलाई ठाडी भाका, देउडा गीत, लोक डेउडाका रुपमा चिनाइन्छ । देउडा मेला, चाडपर्व, जात्रामा गाइने नृत्यप्रधान गीत हो । कुनै समय देउडा कर्णाली र सुदुरका पहाडमा मात्रै केन्द्रित थियो । देउडा गाउने कलाकार पनि यतैका हुन्छन् भन्ने बुझाई थियो । मेला, महोत्सवमा पनि देउडा गाउने कलाकार खासै प्राथमिकतामा पर्दैन्थे । नयाँ पुस्ताको देउडा संस्कृतिप्रति खासै लगाव हुन्थेन ।

तर पछिल्लो समय भने देउडा सस्कृतिले सर्वत्र स्थान पाउन थालेकोे छ । कारण हुन्, देउडा गायनबाट कलाकारितामा प्रवेश गरेकी कालिकोटकी इब्सल सञ्ज्याल । पछिल्लो समय इब्सल जस्तै नयाँ पुस्ताका देउडा गायकका कारण ओझेलमा परेको देउडा संस्कृति जुर्मुराउन थालेको छ । इब्सल जस्ता नयाँ पिढी भित्रिएपछि पहिलो रोजाइँ देउडा कलाकार पर्न थालेका छन् । कर्णालीमा जन्मेर सानै उमेरमा देउडा गायनमा लागेकी इब्सलका कारण विभिन्न माध्यमबाट देशभरका नयाँ पुस्ताले देउडा गुनगुनाउन थालेका छन्, टिकटक लगायतका भिडियो प्लाटफर्ममा इब्सलले गाएका गीतमा अभिनय गर्ने नयाँ पुस्ता बढ्दै गएका छन् ।
देउडा संस्कृतिको दायरा विदेशसम्म पुगेको छ । युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा उनको देउडा प्रस्तुतिले निकै भ्यूज बटुलेका छन् । छोटो समयमा देउडा गितकै कारण इब्सल लोकप्रियताको शिखरमा पुगेकी छिन् । २१ वर्ष अघि कालीकोटको पचालझरना–६, नानीकोटमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी हुन, इब्सल । घरकी जेठी छोरी इब्सलको सानैदेखि अभिनय र नृत्यमा औधी रुचि थियो । उनको गायन यात्रा २०७७ बाट भएको थियो । एसईई परीक्षा सकेर बाजुरास्थित मामाघर गएकी इब्सलको अभिनय यात्रा प्रारम्भ भएको थियो । त्यसबेला कोरोना भाइरसको महामारी जारी थियो ।
इब्सल कला क्षेत्रमा प्रवेश गुर्नुअघि टिकटकमा अभिनय गरेर भिडियो पोष्ट गर्थिन । त्यसमा आफ्नो आवाज भर्थिन । उनले अभिनय गरेका भिडियोहरु टिकटकमा निकै भाइरल हुन्थे । उनलाई आफु अहिलेको अवस्थामा आउँछु जस्तो लाग्दैन्थ्यो । तर टिकटकको अभिनय यात्रा भने जारी नै थियो । टिकटकमा अभिनय कला देखेर उनका नाता पर्ने एकजना संगीतकारले देउडा गितमा अभिनय गर्ने अवसर दिए । त्यो गित थियो, पापी बुढीगंगा । सोही गितबाट तय भएको इब्सलको यात्रा स्टार देउडा गायिकामा रुपान्तरण भएको छ ।
‘म कलाकारितामा आउनु पूर्व टिकटकमा अभिनय गरेका भिडियो अपलोड गर्थे, ति भिडियोहरु दर्शक, श्रोताले निकै रुचाउँथे । भ्यूज पनि राम्रै जान्थ्यो,’ उनले भनिन् । अभिनयमा आउनुपूर्व गाउँमा हुने मेला महोत्सवमा अवसर पाएसम्म नृत्य गर्न अग्रसर हुन्थिन । त्यसले उनलाई अभिनयमा दरिलो बनाउँथ्यो । सुरुमा अभिनयबाट देउडा क्षेत्रमा प्रवेश गरेकी इब्सलको यात्रा दुई वर्ष अघि काठमाडौं मोडियो । त्यहाँ पुगेपछि उनले पहिलो पटक चर्चित टेली श्रृङ्खला इन्द्रेणीमा चलेका गायकसँग देउडाशैलीमा दोहोरीमा भिडिन । दोहोरी गाउन उनी परिवारकै हौसलाबाट गएकी थिइन ।
चर्चित लोकदोहारी गायक मिलन लामासँग इब्सलसँग निकै उत्साहपूर्वक दोहोरी खेलेको सम्झना ताजै छ । लामाले गाएको निकै चलेको ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको…’ बोलको गीतमा दोहोरी गाइन् । त्यही दोहोरी गीतले उनलाई नसोचेको सफलता दिलायो । उक्त गीतका टुक्राहरू सामाजिक सञ्जाल फेसबुक, टिकटक र यूट्युबमा भाइरल हुन थाले । त्यसपछि उनलाई एकपछि अर्को गर्दै लाइभ दोहोरीमा गाउने अवसर मिल्यो । सामाजिक सञ्जालले उनको स्वरलाई श्रोतासम्म पु¥याउन ठुलो सहयोग पुग्यो । जसका कारण देउडा गायनमा सफलता हात परेको उनी बताउँछिन् । उनले लाइभमा गाएका दोहोरी गीतहरुले युट्युबमा निकै भ्यूज तानेका छन् । ‘कर्णालीका धेरै गाउँमा अहिले पनि यातायात चल्दैन, तर हात–हातमा मोबाइल पुगेको छ, टिकटक पुगेको छ’ उनी भन्छिन्, ‘सामाजिक सञ्जाल मार्फत गीत–संगीत हेर्ने दर्शकहरू ह्वात्तै बढेका छन् ।’
इब्सलको बाल्यकालदेखिको रुचि भने फरक थियो । उनी बाल्यकालदेखि नै नृत्यमा रुचि राख्थिन । ‘गायनभन्दा पनि अभिनयमा मेरो रुचि थियो । एक पटक गाएर हेरौं भन्ने लाग्यो’ इब्सल भन्छिन, ‘गायनमा लागेपछि राम्रो प्रतिक्रिया आयो, श्रोता, दर्शकले रुचाउनुभो । अनि गायनमा लागे ।’ उनलाई अहिले मेला, महोत्सवदेखि विभिन्न सांस्कृतिक कार्यक्रममा देउडा गाउन भ्याइनभ्याई छ । देउडा गायनमा पाएको सफलताले उनलाई विदेशी भूमिमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर समेत मिलेको छ । छोटो समयमा स्थापित भएकी इब्सल देउडा पारखी माझ मात्रै होइन, सबै क्षेत्रका युवाहरु पारखी बनेका छन् । लाईभ दोहोरीबाट सुरु भएको इब्सलको सुमधुर आवाज देशभरका मेला महोत्सवमा मात्रै होइन विदेशमा समेत गुन्जिने तरखरमा छ । केही समयपछि जापानमा हुने कर्णाली सांस्कृतिक साझमा आफ्नो प्रस्तुती दिन जाँदैछिन् । लोक सङ्गीतका अन्य माध्यम अन्य माध्यम हुँदाहुँदै देउडा गायन किन रोजाइँमा प¥यो ? भन्ने प्रश्नमा उनी आफ्नो क्षेत्रको संस्कृतिले तानेको उत्तर दिन्छिन् ।
त्यसो त सामाजिक सञ्जालबाट उदाएकी देउडा गायिका हुन्, कालीकोटकी इब्सल सञ्ज्याल । उनी काठमाडौं बसेर कलाकारितामा जमेको धेरै भएको छैन् । कलाकारिता क्षेत्रमा नयाँ भए पनि छोटो समयमै चर्चित भएकी छन्, इब्सल । सामाजिक सञ्जालका कारण उनले गाएका गीतहरु देश विदेशसम्म भाइरल भएका छन् । सामाजिक सञ्जाल (जस्तै फेसबुक, टिकटक, युट्युब आदि) को प्रभावका कारण उनले गाएका देउडा गीतहरू धेरै मानिसहरूद्वारा हेर्ने, सुन्ने, शेयर गर्ने क्रम बढेको छ । यही कारणले उनका गीतहरू नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायसम्म पनि फैलिएका छन् । सामाजिक सञ्जालको माध्यमबाट लोकप्रिय बनेकी उनले कर्णाली र सुदुरपश्चिम पहाड प्रचलित देउडाको दायरालाई देश विदेशसम्म फैलाइरहेकी छिन् ।






