सोतीको ढुङ्गा काठमाडाैं को घर–आँगनसम्म !

दीपकजंग शाही, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का गणेश केसीले पछिल्लो तीन बर्षयता गाउँकै ढुंगा खानीमा काम गरिरहेका छन् । यही वडाको सोती गाउँमा रहेको स्लेट (घर छाउने, मार्बलका रुपमा प्रयोग गर्न मिल्ने) ढुंगा खानी छन् । गणेश बर्षमा ६ महिना ढुंगा खानीमै रोजगारी गर्छन् । अहिले खानीको सिजन परेको छ । यो बर्ष पनि मंसिर अन्तिमदेखि उनी दैनिक रुपमा खानीबाट ढुंगा निकालिरहेका छन् । गणेशले आफ्नो आम्दानीको पहिलो स्रोत यही खानीलाई बनाएका थिए । बीचमा चार बर्ष विदेशमा रोजगारी गरे । तीन बर्षअघि फर्किएका उनी फेरि गाउँकै खानीमा काम गरिरहेका छन् । उनको यो रोजगारीले परिवार चलाउन पुगेको छ । कामै नपाएर बाहिर जानु पनि परेको छैन ।

‘गाउँभरिका सबैले रोजगारी नपाएपनि गाउँबाहिर गएर काम गर्न नसक्ने महिला, वृद्ध, गाउँमै बस्ने मजस्ता युवाहरुले काम गरिरहेका छन्,’ गणेश भन्छन्, ‘यहाँको कमाईले सम्पत्ति थप्न मात्र नसकिएको हो, काम गर्न सक्नेहरुको परिवार मजाले चलेको छ ।’ बर्खामा खानी खोल्न मिल्दैन । हिउँदको ६ महिना स्लेट ढुंगा निकालेर यहाँ खानी सञ्चालकले बाहिर पठाउँछन् । ढुंगा खानीमा सोती गाउँका मानिसको मात्र स्वामित्व भएपनि रोजगारी भने गोहिरीसँगै अरु गाउँलेहरुले पनि पाएका छन् । ‘खानीमा रोजगारी स्थानीयले नै पाएका छन्, कयौं स्थानीयको जिवीकोपार्जनमा केही मद्दत पुगेको छ,’ गणेशले भने, ‘यो खानी नभएको भए हामी बाहिर काम खोज्न जानै पथ्र्यो, युवाहरु गएपनि अरु बेरोजगार बस्नुपथ्र्यो ।’

चौरजहारी नगरपालिका–८ सोतीका दीपा पुन पनि केही बर्षयता स्थानीय ढुंगा खानीमा काम गर्दै आएकी छन् । खानीबाट निकालिएका र कटान गरी तयार पारिएका ढुंगा उनी ट्रकमा लोड गर्ने काम गर्छिन् । खानी सञ्चालनका समयमा घर नजिकै काम गर्न पाउँदा आफू बेरोजगार बस्नु नपरेको दीपा बताउँछिन् । ‘पुरुषहरु त गाउँमा काम नपाएपनि बाहिर गएर कमाउन सक्छन्, बालबालिकासँग भएका महिलाहरु घरको काममा मात्र सिमित हुनुपथ्र्यो,’ उनी भन्छिन्, ‘घरको काम गरेर पैसा कमाई हुँदैन, खानीमा पाईएको कामले नुन–तेल खर्च त आफैं जुटाउन मिलेको छ ।’ उनीहरुले काम गरिरहेको सोतीको यो ढुंगा खानी पुस्तौंदेखि चल्दै आएको छ ।

विगतमा स्थानीय गाउँमा घरको छाना छाउन प्रयोग हुँदै आएको यहाँका स्लेट ढुंगा अहिले देशका अरु जिल्लासम्म निर्यात हुन्छ । ढुंगा निर्यात हुन थालेपछि स्थानीय स्तरमा रोजगारी पनि बढेको छ । गणेशका अनुसार गोहिरी र सोती गाउँको बीचमा पर्ने ढुंगा खानीमा अहिले चार जनाको स्वामित्व छ । गाउँका चारै जनाले आफ्नो जग्गामा भएका स्लेट ढुंगा निकालेर आम्दानी गर्छन् । उनीहरुका यी खानीमा एक सिजनमा कम्तीमा ९० जनासम्मले काम पाउँछन् । ढुंगा खानी सञ्चालकमध्ये कोहीले जमिनभित्रबाट निकालिएका ढुंगा काट्ने मेसिन खानी क्षेत्रमै जडान गरेका छन् । कतिपयले नजिकको चौरजहारी बजारमा मेसिन राखेका छन् ।

आफ्नो खानीबाट निस्किएका ढुंगा सञ्चालकहरुले मेसिनले काटेर आकार मिलाइसकेपछि अरु जिल्लामा निर्यात गर्छन् । यी खानी कति समयदेखि चलेका छन् भन्न् यकिन छैन । तर अहिले खानी सञ्चालन गरिरहेकाहरु आफ्नो यो पुस्ता चौथो भएको बताउँछन् । ‘हजुरबुवाले पनि हामीलाई भन्दा आफूभन्दा दुई पुस्ता अघिको हो भन्नुहुन्थ्यो, मलाई भने यो कति पुस्तादेखि चलेको छ भनेर ठ्याक्कै थाहा छैन,’ खानी सञ्चालक मिसर मल्लले भने, ‘अहिले यही खानीबाट मैंले आफ्नो परिवारको खर्च धानेको छु, स्थानीयले काम पनि पाईरहेका छन् ।’

ढुंगा खानी सोती गाउँमा भएपनि रोजगारी भने आसपासका गोहिरी, गेस्मा, बडाखोला लगायतका गाउँलेहरुले समेत पाएका छन् । सात बर्षदेखि जिल्ला बाहिर ढुंगा निर्यात हुन थालेको हो । स्थानीय स्तरमा यी ढुंगाको पहिलेजस्तो माग हुँदैन । अहिले बुटवल, पोखरा, काठमाडौं लगायतका क्षेत्रमा हुने मागले खानीलाई राम्रो प्रभाव परेको छ । बाहिरबाट स्लेट ढुंगाको माग आउने क्रम बढेपनि खानीको ढुंगा उत्पादन भने कम हुँदै गएको मल्लले बताए । सोतीमा सञ्चालनमा रहेको ढुंगा खानी सञ्चालकको जग्गा पनि आफ्नै नाममा रहेको छ । उनीहरुले आफ्नो निजी जग्गामा भएको स्लेट ढुंगालाई खानीका रुपमा दर्ता गरेर उत्खनन् गरिरहेका छन् ।

अहिले खानीको स्लेट ढुंगा मार्बलका रुपमा प्रयोग भईरहेको अर्का खानी सञ्चालक पुतला पुन मल्लले बताईन् । बाग्लुङ, दाङ, बुटवल, पोखरा, काठमाडौंका लागि ढुंगा माग भईरहेको उनको भनाई छ । ठेकेदारको डीपोहरुमा ग्राहकले ढुंगा माग गर्ने र डीपोहरुबाट खानीमा लिन ठेकेदार पुग्ने गरेका छन् । उनका अनुसार अहिले एक वर्गफिट स्लेट ढुंगाको खानीबाट निर्यात हुँदा एक सय रुपैयाँ मुल्य पर्दछ । यो खानी पनि चार पुस्ता अघिदेखि सञ्चालनमा छ । मल्लले उक्त खानी सञ्चालन तथा कारोबारको जिम्मा अहिले छोरा धिरजलाई दिएकी छन् ।

चौरजहारीको स्लेट ढुंगा खानी सञ्चालनको नियमन गर्ने काम नगरपालिकाले गरेको छ । नगरपालिकाले सञ्चालकहरुबाट निश्चित राजस्व लिने गरेको छ । ‘पालिकाको नियमभित्र बसेर ढुंगाको उत्खनन् र व्यापार गरेका छौं, नगरपालिकाबाट हामीले बाहिर निकासा गर्छौं,’ मल्लले भनिन्, ‘पहिले बर्षभरिको लागि एउटा पुर्जी लिएर काम गथ्र्यौं, अहिले भने हामीले निकासा गर्नेबेलामा ढुंगाको परिमाणका आधारमा नगरपालिकालाई राजस्व बुझाउँछौं ।’ नगरपालिकाले लिएको राजस्व भने महंगो भएको खानी सञ्चालकको गुनासो छ । सिजनका बेला सोतीको खानी क्षेत्रबाट महिनामा ७ देखि १० ट्रक परिमाणमा ढुंगा जिल्लाबाहिर निर्यात हुने गरेका छन् ।

चौरजहारी नगरपालिकाको पूर्वाधार विकास शाखाका सवइञ्जिनियर भिमबहादुर केसीका अनुसार खानी सञ्चालकले ढुंगा निर्यात गर्दा प्रतिवर्गफिटको २५ रुपैयाँ राजस्व नगरपालिकामा बुझाउनुपर्ने हुन्छ । यो राजस्व भनेको खानीबाट निकालेर तयार भईसकेका ढुंगा अरु जिल्लामा निकासी गरेवापतको हो । तोकिएको राजस्व बुझाएपछि नगरपालिकाले सडक पास अनुमतिपत्र सञ्चालकलाई दिन्छ ।

खानीबाट कति ढुंगा निकालिन्छ, कति निर्यात हुन्छ भन्ने कुरा नगरपालिकाले नै निगरानी गर्छ । यसका लागि नगरप्रहरी खटाईएको छ । सम्बन्धित वडा कार्यालयले पनि यसको निगरानी गर्ने गरेका छन् । केसीका अनुसार आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ मा ८/८ लाख रुपैयाँ नगरपालिकामा स्लेट ढुंगा खानीबाट प्राप्त भएको थियो । यो आर्थिक बर्षमा पनि एक लाख बढी राजस्व उठिसकेको केसीले बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष सशिराम विकले गाउँमा भएका ढुंगा खानीबाट सञ्चालक र रोजगारी पाउने स्थानीय दुवैलाई फाइदा भएको बताए । ‘पहिलेको तुलनामा अहिले खानी सञ्चालकले उत्खननमा लगानी भने बढी गर्नुपरेको छ, माथीको ढुंगा निकालिसकेपछि जमिनमुनि परेको ढुंगा निकाल्न लगानी बढाउनुपरेको हो ।’ वडाध्यक्ष विकले भने ।

सोतीको ढुङ्गा काठमाडाैं को घर–आँगनसम्म !

स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

सोतीको ढुङ्गा काठमाडाैं को घर–आँगनसम्म !

देउडाको दायरा बढाउँदै इब्सल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds