रुकुम पूर्वको दुर्गम बस्तीमा  सेनाको स्वास्थ्य शिविर

सुर्खेत, ११ चैत ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार चण्डी दल गण रुकुमपश्चिमले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर २ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो । 

विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । निशुल्क स्वास्थ्य शिविरबाट दुई सय २४ सर्वसाधारणले सेवा पाएका छन् । सेवा पाउनेहरुमा एक सय ४५ जना महिला र ७९ जना पुरुष रहेका । जसमध्य ५५ जना बालालिकासमेत छन् । 

चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने र ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रुपले पछाडि परेका गरीब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो । उनले शिविरबाट नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधी वितरण लगायतका सेवा प्रदान गरिएको जानकारी दिए । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्रालि रुकुमपश्चिम, रुकुमपूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रुकुमपूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ । 

गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा स्थानीयहरु खुसी भएका छन् । पेल्मामा रहेको नमूना आमा समुहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको भन्दै खुशी व्यक्त गरे । 

आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोगको शिकार भईरहेका जनताले गाउँमै सेवा पाउँदा उनी खुशी थिइन । निःशुल्क स्वास्थ्य जाँच, परामर्श र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणहरुमा ठुलो राहत भएको उनको भनाइ छ । यो क्षेत्रमा यातायात सुविधा समेत नहुँदा सर्वसाधरणले सहज स्वाथ्य सेवा पाउन मुश्किल रहेको जनाएका छन् ।

श्री नं. १९ बाहिनी गुल्मका डा मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा भण्डारी, डा दिपक पुन, डा कष्ण खराल र डा विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको छ । चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा सेनानी सुस्पन कटुवाल, पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतको उपस्थिति थियो । 

त्यस्तै, पेल्मा र आसपास गाउँका सर्वसाधारणहरुले समेत सेवा पाएका छन् । सेनाले घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानको निरन्तरता स्वरुप जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ । यस अघि रुकुमपश्चिमको आठबिसकोट, चौरजहाीर त्रिवेणीमा चण्डीदल गणले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

Leave a comment

Your email address will not be published. Required fields are marked *