स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

केबी परियार, जुम्ला । नेपालको पूर्वदेखि पश्चिमसम्मका सहर बजारहरुमा जुम्लालाई चिनाएको छ, यहाँ उत्पादित स्याउले । जुम्लाको चिनारी बनेको स्याउ खेतीको इतिहास भने त्यति पुरानो छैन् । जानकारहरुका अनुसार २०२४ सालदेखि जुम्लामा स्याउ खेती थालिएको हो । तर ती बिरुवा कुन ठाउँबाट भित्रिएका हुन भन्ने प्रष्ट छैन् । त्यति बेला यहाँका बजार क्षेत्र तथा गाउँघर तिरका केही टाठाबाठाले घरको आँगनमा दुई–चार बोट लगाएका थिए । त्यसले व्यवसायिक रूपमा लिएको थिएन । २०६२ सालमा कर्णाली राजमार्गको ट्रयाक खुलेपछि मात्र जुम्लाका कृषकले ओखर र स्याउका बिरुवा ठूलो मात्रामा लगाउन सुुरु गरेका हुन् । २०६४ सालमा जिल्ला विकास समितिको १४ औँ जिल्ला परिषद्ले रासायनिक मल र रासायनिक विषादीमुक्त जिल्ला घोषणा गरेसँगै यहाँको स्याउ, तरकारी लगायत खाद्यान्न उच्च र स्वस्थकर भएको दाबी गरिएको छ । यस कारण पनि जुम्लाको स्याउको बजार माग उच्च छ ।

जिल्ला कृषि विकास कार्यालयले एक घर एक बगैँचा स्थापना गर्ने उद्देश्य राखी २०७५ सालदेखि सञ्चालनमा ल्याएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन कार्यक्रमले कृषकलाई स्याउ, ओखर खेती गर्न प्रेरित गरेको छ । कृषकहरु स्याउबाट पछिल्लो समयमा आत्मनिर्भर रहँदै आएका पनि छन् । यस वर्ष २०८१ मा मात्रै स्याउ निर्यातबाट जुम्लामा ६१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउ खेती फस्टाएकाले स्याउ निर्यातबाट उक्त रकम भित्रिएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार कुल ६१ करोड ४१ लाख रुपैयाँबराबरको स्याउ निर्यात भएको छ ।

गत साउन ८ देखि कार्तिक १० सम्मको तथ्यांक अनुसार जुम्लाबाट नौ हजार तीन सय ९१ टन स्याउ निर्यात भएको थियो । सरदर ६५ रुपैयाँ प्रति केजीका हिसाबले हवाई, जिप, बस र ट्रकबाट मात्रै ६१ करोड ४१ लाखको स्याउ निर्यात भएको हो । यद्यपि जुम्लामा यस वर्ष १४ हजार टन स्याउ उत्पादन हुने र त्यसमध्ये १० हजार टन स्याउ निर्यात भई करिब ४० करोड रुपैयाँ भित्रिने अनुमान थियो । जुम्लाको चार हजार दुई सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको छ । यहाँका १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘जुम्लामा यस वर्ष साढे २० हजार टन स्याउ उत्पादन भएको थियो । जसमध्ये नौ हजार चार सय टन स्याउ जिल्ला बाहिर निर्यात भयो । हाल जिल्लाका कोल्ड स्टोरहरुमा २५ टन स्याउ मौज्दात छ । अझै निर्यात हुने क्रम जारी छ ।’

कृषि विकास कार्यालयको तथ्यांकअनुसार बसबाट एक हजार ६ सय ६० टन, जीप र हाइसबाट ६ सय ६४ टन र जहाजबाट ७४ टन स्याउ निर्यात भएको छ । सबैभन्दा बढी मालवाहक ट्रकबाट सात हजार टन स्याउ निर्यात भएको थियो । साउन ८ देखि कात्तिक १० सम्म जुम्लाका ८ सय ७३ जना किसान तथा व्यापारीले सडकमार्फत स्याउ बाहिरी बजारमा बिक्री गरेको अधिकारीले जानकारी दिए । जुम्लामा हालसम्मकै स्याउ उत्पादन बढी भएको छ भने आम्दानी पनि हालसम्मकै धेरै हो । ६१ करोड बढी रुपैयाँ जुम्लामा भित्रिँदा जुम्लाका प्रति किसानले न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष स्याउको मूल्य बढ्दा आम्दानी बढेको हो । जुम्लामा रेड, रोयल, गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बने पनि अझै अपेक्षित लाभ लिन सएिको छैन । जुम्लाको स्याउलाई अझै बजारीकरणमा जोड दिन जुम्लाकै कार्टुन व्यवस्थापन गर्नुपर्ने, मुल्य निर्धारणमा ध्यान दिनुपर्ने, मलजल व्यवस्थापनदेखि रोग किरा नियन्त्रणमा ध्यान दिनुपर्नेमा अधिकारी बताउँछन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्ड स्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइ दिन सरकारसँग पटक–पटक आग्रहसमेत गरिरहेका छन् । जुम्लामा व्यवस्थित कोल्डस्टोर अभावमा पछि मूल्य नपाइने, राख्न ठाउँ पनि नहुने चिन्ताले जुम्लाका किसानले काँचो स्याउ टिप्ने गरेका छन् । जसका कारण जुम्ली स्याउको पहिचान खतरामा पर्न थालेको छ । किसानले मूल्य नपाउने, बाटोमै कुहिने समस्या विद्यमान छ ।

एक अर्ब बढीको स्याउ निर्यात

विगत पाँच वर्षमा जुम्लाबाट देश विदेशमा एक अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालय, स्याउ सुपरजोनसँग यकिन तथ्यांक नभएपनि विगतका अभिलेखलाई आधार मान्दा पाँच वर्षमा एक अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा जुम्लाबाट १६ करोडको स्याउ निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १७ करोड, आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड रुपैयाँबराबरको स्याउ निर्यात भएको तथ्यांक छ । उक्त वर्ष १२ हजार टन स्याउ उत्पादन भएको थियो । आव २०७७/७८ मा भने झण्डै १२ हजार टन स्याउ उत्पादन हुँदा १९ करोडको स्याउ जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा करिब १९ हजार टन स्याउ उत्पादन हुँदा करिब ५० करोड बराबरको स्याउ निर्यात भएको थियो । विगत पाँच वर्षमा झण्डै एक अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको छ ।

कुन वर्षमा कति उत्पादन, कति निर्यात ?

यतिबेला जुम्लामा स्याउको चर्चा चलेको छ । किसान व्यापारी स्याउ टिप्न र बजारमा पु¥याउन चाहिरहेका छन् भने स्थानीय तह, प्रहरी प्रशासनले निर्यातमा रोक लगाएको छ । सुरुमा रोक लगाउने, पछि स्याउ घरमै थन्किने शतप्रतिशत उत्पादन बजारमा नपुग्ने समस्या विगतको तथ्यांकले देखाएको छ । विगत ६ वर्षको तथ्यांकलाई हेर्दा जुम्लामा चार सय ५८ मेट्रिक टन स्याउ उत्पादन भएकोमा तीन सय ८० मेट्रिक टन मात्रै निर्यात हुँदा ७८ मेट्रिक टन स्याउ घरमै थन्किएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार २०७४ सालमा १८ सय मेट्रिक टन उत्पादन भएकोमा १५ मेट्रिक टन, २०७५ मा ३० मेट्रिकटन उत्पादन हुँदा २५ हजार मेट्रिक टन निर्यात भएको थियो ।

त्यस्तै, २०७६ सालमा ५० मेट्रिक टन उत्पादन भएकोमा ४० मेट्रिक टन स्याउ मात्रै बजारमा गयो भने १० मेट्रिक टन स्याउ घरमै थन्कियो । २०७७ सालमा एक सय मेट्रिक टन उत्पादन भए पनि ८० मेट्रिक टन मात्रै जुम्लाबाट निर्यात भएको थियो । २० मेट्रिक टन घरमै थन्कियो भने २०७८ सालमा एक सय १० मेट्रिक टन स्याउ उत्पादन हुँदा ९० मेट्रिकटन र २०७९ सालमा एक सय ५० मेट्रिकटन उत्पादन भएकोमा एक सय ३० मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । ६ वर्षमा स्याउ प्रतिकेजी ८० रुपैयाँदेखि दुई सय ५० रुपैयाँ मूल्यसम्ममा बिक्री भएको कृषि विकासको तथ्यांकले देखाउँछ । ६ वर्षमा तीन लाख ८० हजार मेट्रिकटन स्याउ निर्यात हुँदा जुम्लामा कति रकम भित्रियो भन्ने एकिन तथ्यांक कृषि विकास कार्यालयसँग छैन ।

६ वर्षमा अनुमानित तीन अर्ब बढीको स्याउ जुम्लाबाट निर्यात भएको देखिन्छ । तीन वर्षयता मात्रै जुम्लाबाट एक अर्ब ३६ करोडको स्याउ निर्यात भएको छ । जुम्लाको सिंजा गाउँपालिका ४ माथि बाँवका किसान मनसा बुढाले उत्पादन राम्रो भएपनि स्याउको उचित मूल्य नपाउने गरेको बताउँछन् । बुढाको बगैचामा साढे चार सयभन्दा बढी स्याउका बिरुवा छन् । वार्षिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको उल्लेख गर्दै सोचेअुनसारको मूल्य पाउन नसकेको उनले गुनासो गरे । ‘पहिला आलु, मकै, सिमी र अन्य बाली लगाउँथे स्याउको माग बढे पछि उत्पादन हुने जग्गामा स्याउ खेती गरियो ।

तर, स्याउले मूल्य पाउन सकेको छैन,’ उनले भने । स्याउको सम्भावना राम्रो भए पनि बजारीकरणको समस्याले स्याउ खेतीप्रति खासै जागर नलाग्ने उनको दुःखेसो छ । यस्तै, गुठिचौर–३, का किसान बिस्ने रावलले पनि स्याउ खेती गर्न लागेको १३ वर्ष भयो । उनीसँग अहिले फल दिने बिरूवा ६ सय छन् । उचित मुल्य र स्याउ खेती प्रविधिको बारेमा ज्ञान नहुँदा स्याउ प्रतिको मोह घटेको उनको भनाइ छ । ‘भदौ असोज मा स्याउका बगैँचा भरी स्याउ हुन्छन । उचित मूल्य नपाउदा गाइवस्तुलाई खुवाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

स्थानीय अर्थतन्त्रमा सुधार

स्याउ खेतीले जुम्ली जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । परम्परागत कृषि प्रणालीबाट व्यावसायिक खेतीतर्फको यो परिवर्तनले स्थानीय किसानको आम्दानी वृद्धि मात्र होइन, जिल्लाको समग्र आर्थिक चक्रलाई नै प्रभावित पार्न थालेको छ । किसानहरूले आफूले उत्पादन गरेको स्याउ स्थानीय बजारमा मात्र होइन, नेपालका अधिकांश सहरी भेगसम्म पु¥याउन थालेका छन् । स्याउसँगै फलफूल प्रशोधन उद्योगको सम्भावना पनि बढ्दो छ — जस्तै स्याउको जुस, जाम, सुकेको स्याउ र अर्गानिक उत्पादनमा आधारित उद्योगले स्वरोजगार सिर्जना गर्ने सम्भावना बोकेको छ ।

कुनै समय रोजगारीको खोजीमा देश तथा विदेशतिर पलायन हुनुपर्ने बाध्यता झेलिरहेका जुम्ली युवाहरू अहिले गाउँमै बसेर कृषि उद्यममार्फत आत्मनिर्भर बन्न थालेका छन् । कतिपय युवा समूहहरूले सहकारी स्थापना गरेर स्याउ खेती, भण्डारण, प्रशोधनमा सामूहिक लगानी गरेका छन् । यसले जुम्लाको ग्रामीण अर्थतन्त्रमा रोजगारी सिर्जनाका नयाँ ढोका खोलिदिएको छ । स्याउको सुवास जुम्लामा केवल फलको सुगन्ध होइन, त्यो एक सामाजिक–आर्थिक परिवर्तनको संकेत हो । गाउँले आँगनमा हुर्किएको स्याउको बोट अब आर्थिक समृद्धिको रुख बन्न थालेको छ । यदि सहि नीति, प्रविधि र लगानी पुग्यो भने, जुम्ली अर्थतन्त्रको मेरुदण्ड बन्ने यो स्याउ खेतीले भविष्यमा जुम्लालाई “स्याउको राजधानी को रूपमा स्थापित गर्न सक्छ ।

यद्यपि, स्थानीय सरकारले स्याउको बजारीकरणदेखि बगैचा व्यवस्थापनमा किसानलाई सघाएको खण्डमा उत्पादन बढ्ने स्थानीयको अपेक्षा छ । साथै जुम्लालाई स्याउ उत्पादन र बिक्री वितरणसँग मात्र नजोडेर यसलाई पर्यटनसँग जोड्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । मौसमी फेरबदलले समयमा हिउँ नपर्ने, बर्षा नहुन, तापाक्रमको मात्रामा अत्याधिक वृद्धि हुनाले कतिपय स्याउहरु बिग्रेको, औसत आयुभन्दा पनि बोट छिटो बिग्रने लगायतका समस्या किसानले भोग्नुपरेको छ । राज्यले पर्यावरणसँग जोडेर स्याउ खेतीबारे अध्यन अनुसन्धान थालेको छैन ।

स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

नदेख्ने आँखाले देखाएको बाटो

स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

सोतीको ढुङ्गा काठमाडाैं को घर–आँगनसम्म !

Leave a comment

Your email address will not be published. Required fields are marked *