इनिशा विक मृत्यु प्रकरण: अनुसन्धान टुङ्गोमा नपुग्दा १९ दिनयता  प्रदेश अस्पतालमा इनिशाको शव

ओम शाही

सुर्खेत, ११ चैत ।

गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको शवले १९ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा न्यायको प्रतिक्षा गरिरहेको छ । बलत्कारपछि अत्याधिक रक्तश्राप मुत्युको कारण देखाइएको उक्त घटनाको अनुसन्धान अझै टुङ्गोमा पुग्न सकेको छैन । 

त्यो दिन इनिशा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन । तर विद्यालय पठाएकी उनकी आमालाई तिम्री छोरी जंगलमा अचेत अवस्थामा छिन भन्दै आएको खबरले घटना बाहिरिएको थियो । सोही दिन प्रहरीले घटनास्थलबाट १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो । 

बालकको बयानका आधारमा प्रहरीले त्यसको भालिपल्ट (२४ फागुन) मा अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको भएपनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । पोष्टमार्टम रिपोर्टमा बलपूर्वक गरिएको शारीरिक सम्पर्कले यौनाङ्गको भित्रि भागमा लागेको गम्भीर चोटपछिको अत्याधिक रक्तश्राप नै इनिशाको मृत्युको कारण देखाइएको छ । पीडित परिवारले इनिशाको सामुहिक बलत्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पक्राउ परेका चारै जना किशोरविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए । 

परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको शव परिक्षण गरेको थियो । त्यो परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राप भई उनको मृत्यु भएको उल्लेख छ । अस्पतालको यस्तो रिपोर्ट पीडित परिवारलाई अपत्यारिलो लागिरहेको छ । 

घटना बारे सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सूक्ष्म अध्ययन जारी राखेको जनाइएको छ । तर घटना घटेको दुई साता बित्दासमेत प्रहरीले वास्तविक तथ्य बाहिर ल्याउन सकेको छैन । यसले घटना थप गिजोलिदै गएको आफन्तले आशंका गरिरहेका छन् ।

घटनामा संलग्न भनिएकाहरु पक्राउ परिसकेका छन् । प्रहरीले उच्च प्रविधि र दक्ष जनशक्ति प्रयोग गरी अनुसन्धना जारी राखेको छ । प्रहरीले पक्राउ गरिएका किशोरहरुले झुटो बोलेको पक्ता लगाउने प्रविधिसमेत अनुसन्धानमा प्रयोग गरेको छ । एक प्रकारले भन्ने हो भने प्रहरीले आफ्‌नो ठुलै शक्ति इनिशा हत्या प्रकरणको अनुसन्धानमा लगाएको छ । तर अनुसन्धानले समय लिदा पीडित परिवार न्याय पाउनेमा भने सशंकित छन् । 

घटना घटेको दुई हप्तासम्म पनि इनिशाको शव परिवारले बुझ्‌न नमान्नुले यसको पुष्टि गर्छ । यसअघि यस्तै प्रकृतिको कन्चनपुरकी निर्मला पन्तमाथि घटेको घटनाको अनुसन्धानलाई लिएर मृतक इनिशाका आफन्त, नागरिक समाज र अधिकारकर्मीहरुले प्रहरीको निष्पक्षतामाथि आशंका गरिरहेका छन् । पीडित इनिशाका बुवा इन्द्रबहादुर विकले घटनामा संलग्नहरु माथि कडा कारवाही नगरिएसम्म शव नबुझ्‌ने बताउँछन् । योजनावद्ध भएको सामुहिक बलत्कारको घटनालाई विषयान्तर गरेर अनुसन्धानमा बिलम्ब भएको हुनसक्ने उनको आशंका छ । 

इन्द्रबहादुरलाई प्रहरीले फरेन्सिक रिपोर्ट पर्खाइ रहेको छ । छोरीको न्यायका लागि इन्द्रबहादुरलाई प्रहरी कार्यालय धाउनु अहिले दैनिकी जस्तै बनेको छ । इन्द्रबहादुर भन्छन्, ‘प्रहरीले फरेसिन्क परीक्षणको रिपोर्ट आउन बाँकी छ भनिरहेको छ,’ उनले भने, ‘घटना घटेको यत्तिका समय भइसक्दा पनि आश्वस्त हुने आधार पाइएको छैन । सामुहिक बलत्कारपछि विभत्स हत्यामा संलग्नहरुलाई कडा कारवाही नभएसम्म छोरीको शव बुझ्‌दिन ।’  

घटनामा मुछिएका निर्दोष दावी गर्नेका परिवारहरु पनि छिटो अनुसन्धान टुुग्याउन आग्रह गरिरहेका छन् । उनीहरुले त्यस दिनका सीसी टिभी फुटेज लगायतका सबुत प्रमाणहरु सामाजिक सञ्जालमा राखेर दोषी उम्कन नहुने र निर्दोष फस्न नुहने माग राख्दै आएका छन् । इनिशाको मृत्युको वास्तविक कारणसहित घटनामा क–कस्को संलग्ना छ भन्ने कुराको वस्तुनिष्ट निष्पक्ष अनुसन्धान चाँडो हुनुपर्ने माग उनीहरुको छ । 

यद्यपी, यो प्रहरीको अनुसन्धानपछि मात्रै खुल्ने विषय हो । प्रहरीको अनुसन्धानमा पीडित परिवारले किन आशंका गरिरहेका छन् ?, प्रहरीले आफ्‌नो अनुसन्धानमा पीडित परिवारलाई किन आश्वत पार्न सकेको छैन ?, अनुसन्धान कहिले सकिन्छ ? कुन–कुन रिपोर्ट आए ?, ति रिपोर्टले के बोले ? कुन रिपोर्ट आउन बाँकी छन् ? लगायतका प्रश्नले सुर्खेत प्रहरी घेरिएको छ । 

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले इनिशा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको दावी गर्छन । उनका अनुसार हालसम्म पोष्टमार्टम, सिआइबी र आरोपित बालकहरूका मोबाइलको डिजिटल रिपोर्ट आइसकेको छ । यद्यपी, प्रहरीले ति रिपोर्टको नतिजा भने बाहिर ल्याएको छैन ।  

केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका क्रममा रहेको इनिशाको भजाइनल स्वाब, टक्सिकोजिकल र बायो सेरोलोजिकलको रिपोर्ट आउना साथ अुनसन्धानको पाटो सकिने शाहीले बताए । ‘इनिशा मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ,’ उनी भन्छन्, ‘प्रहरीको विधि विज्ञान प्रयोगशालामा विस्तृत परीक्षणका लागि पठाइएका घटनाका पीडित र पीडकसँग सम्बन्धित केही नमुनाको रिपोर्ट आएको छ, बाँकीको आएपछि अनुसन्धान सकिन्छ ।’ 

इनिशा हत्या प्रकरण सिआइबी रिपोर्ट तयारी हुँदै

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनामा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ । सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठले ॅमंगलबार वा बुधबार नै जाँच प्रतिवेदन सुर्खेत पठाउने’ तयारी गरिरहेको जानकारी दिए ।

ॅयो घटनामा प्राविधिक जाँच गर्न सुर्खेत गएको हाम्रो टोली हिजै (सोमबार) फर्किसकेको छ,’ उनले मंगलबार भने, ॅअब आज वा भोलि नै प्रतिवेदन सुर्खेत पठाउने तयारी छ ।’ सिआइबी टोलीले आफ्नो प्राविधिक जाँच क्रममा मोबाइल डेटा, घटनाक्रमको समय अवधि र अन्य प्राविधिक पाटोमा सूक्ष्म अनुसन्धान गरेको उनले जानकारी दिए । सिआइबीबाट इन्स्पेक्टर नेतृत्वको टोली अनुसन्धान गर्न फागुन २९ गते सुर्खेत पुगेको थियो ।

वीरेन्द्रनगर नगरपालिका–१ को जनजागरण सामुदायिक वनमा फागुन २३ गते मृत फेला परेकी इनिशाको बलात्कारपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको फरेन्सिक रिपोर्टबाट पुष्टि भएको प्रहरीले जनाएको छ । यसमा थप प्राविधिक जाँच गर्न सिआइबी टोली सुर्खेत गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि यो घटनामा छुट्टै टोली बनाएर अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धान पनि लगभग सकिएको सुर्खेतका एसपी सुधीरराज शर्माले जानकारी दिए । उनका अनुसार सिआइबी प्रतिवेदन र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट आउनासाथ अनुसन्धान टुंगिन्छ ।

ॅहाम्रो अनुसन्धान लगभग सक्किएको छ। केही रिपोर्ट आउन बाँकी भएकाले मात्र ढिलाइ भएको हो,’ उनले भने, ॅटक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ ।’ ॅटक्सिकोलोजिकल’ भन्नाले शरीरमा कुनै विषालु पदार्थ वा औषधिको उपस्थिति छ कि छैन भनेर जाँचिन्छ । भिसेरा परीक्षणबाट शरीरमा विषालु पदार्थ छ कि छैन भनेर यकिन हुन्छ । 

त्यस्तै, बायो–सेरोलोजिकल परीक्षक भनेको रगत, वीर्य र शरीरका अन्य तरल पदार्थको जाँच हो । यसबाट यौनजन्य हिंसाका घटनामा योनिस्राव वा पीडितको शरीरमा पाइएका अन्य व्यक्तिको जैविक नमूना पहिचान गरिन्छ । यी दुई रिपोर्ट र सिआइबी प्रतिवेदन आए यसै साता अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाउने एसपी शाहीले बताए ।

यसअघि फरेन्सिक रिपोर्टबाट बलात्कारपछि उच्च रक्तस्रावका कारण उनको मृत्यु भएको पुष्टि भएको उल्लेख गर्दै उनले अगाडि भने, ॅसबै प्राविधिक जाँचको रिपोर्ट आएपछि अझै प्रस्ट हुन्छ ।’ प्रहरीका अनुसार बलात्कार क्रममा धेरै बल प्रयोग गर्दा योनिभित्र हाइमनदेखि पाठेघरसम्म चोट पुगेकाले अत्यधिक रक्तस्राव भएको देखिन्छ ।

यो घटनामा अहिलेसम्म चार जनालाई पक्राउ गरिएको छ । उनीहरू सबै १८ वर्षभन्दा मुनिका छन् । यीमध्ये एक जनालाई बलात्कार र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ भने बाँकीलाई कर्तव्य ज्यान कसुरमा मात्र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको दिन फागुन २३ गते बिहान उनी ट्युसन जाने भन्दै घरबाट निस्किएकी थिइन् । 

कक्षा–११ मा पढ्ने उनी आफूसगै पढ्ने १६ वर्षीय किशोरसँग वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको सामुदायिक वनको पार्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ । इनिशा र ती किशोर सँगसँगै सामुदायिक वनतिर जाँदै गरेको दृश्य सिसिटिभी फुटेजमा देखिएको छ । त्यति बेला उनीहरू दुई जना मात्र देखिएकाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । शव भेटिएको ठाउँ नजिकै ब्याग र जुत्ता फेला पारेका थिए भने शव भएको ठाउँ रगताम्मे थियो ।

यौनागंबाट अत्याधिक रगत बगेकाले भुइँमा पनि रगत लागेको प्रहरीले जनाएको छ । उनलाई एक ठाउँबाट अर्को ठाउँसम्म तान्दै वा घिसार्दै लगेको देखिने गरी शरीरमा कोतरिएको घाउहरू पनि भएको अनुसन्धान अधिकृतले जानकारी दिए ।

ॅअत्याधिक रक्तस्राव भएपछि ती किशोरले आफ्ना नजिकका साथीहरूलाई फोन गरेर बोलाएको देखिन्छ । साथीहरू आइपुगेपछि पनि उनले अस्पताल लैजान कोसिस गरेको देखिँदैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ॅउनीहरूले केही स्थानीयलाई भने खबर गरिदिएका छन् ।’ समयमै अस्पताल लगिएको भए इनिशाको मृत्यु हुने सम्भावना कम रहेको डाक्टरहरूको भनाइ छ ।

यो घटनामा सामूहिक बलात्कारको आशंका गरिएको भए पनि अहिलेसम्मको अनुसन्धानबाट त्यो पुष्टि नभएको प्रहरी स्रोत बताउँछ । सबै प्राविधिक जाँचको रिपोर्ट आइसकेपछि नै यसबारे यकिन भन्न सकिने प्रहरीको भनाइ छ । यसबीच इनिशाको परिवारले न्याय नपाएसम्म आफ्नी छोरीको शव दाहसंस्कार नगर्ने अडान लिएका छन् । उनको शव सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । काठमाडौं, बुटवल, सुर्खेत लगायत देशका विभिन्न भागमा न्यायको माग गर्दै प्रदर्शन पनि भइरहेको छ ।

इनिशा विक मृत्यु प्रकरण:  अनुसन्धान टुङ्गोमा नपुग्दा १९ दिनयता   प्रदेश अस्पतालमा इनिशाको शव

सम्पादकीय : डिलमायालाई न्याय देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *