कोहलपुरमै एन्टिरेबिज खोप सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्दै

बाँके ,१७ असोज।
कोहलपुर र आसपासका नागरिकले अब रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन–एआरभी) लगाउन नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ। कोहलपुर नगर अस्पतालले आगामी असोज १९ गतेदेखि पहिलोपटक एआरभी सेवा नियमित रूपमा सञ्चालनमा ल्याउन लागेको हो।
कोहलपुर नगरपालिका–११ स्थित नगर अस्पतालबाट सेवा सुरु भएपछि कोहलपुरसहित बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका नागरिकसमेत प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। यसअघि कुकुर, बिरालो वा अन्य जनावरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन नेपालगन्जस्थित भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था थियो।
नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माका अनुसार एआरभी सेवा सञ्चालनमा आएपछि जनावरको टोकाइमा परेका नागरिकले अब आफ्नै क्षेत्रको स्वास्थ्य संस्थाबाट खोपसँगै आवश्यक चिकित्सकीय परामर्शसमेत पाउनेछन्। यसबाट उपचारका लागि लाग्ने समय र खर्च दुवै बचत हुने उहाँले बताउनुभयो।
“कुकुर वा अन्य जनावरले टोकेपछि खोप लगाउन नेपालगन्ज जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अब कोहलपुर, बैजनाथ र राप्तीसोनारीका नागरिकले नगर अस्पतालबाटै रेबिजविरुद्धको खोप सेवा लिन सक्नेछन्।”
जनावरको टोकाइपछि रेबिजको जोखिम रहने भएकाले समयमै खोप लगाउनु आवश्यक हुन्छ। विशेषगरी कुकुर तथा अन्य जनावरले टोकेको अवस्थामा घाउलाई साबुनपानीले राम्ररी सफा गरी ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।
नगर अस्पतालले जनावरले टोकेमा घरमै बसेर समय बिताउने वा उपचारमा ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा चिकित्सकको सल्लाहअनुसार तोकिएको समयमा रेबिजविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेको छ।
कोहलपुरमै एआरभी सेवा सुरु हुनुलाई स्थानीयवासीका लागि सहज र प्रभावकारी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यसले विशेषगरी आकस्मिक रूपमा जनावरको टोकाइमा परेका नागरिकलाई तत्काल स्वास्थ्य सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ।






