जनताको गुनासो बोकेर गाउँपालिकाको ढोकामा

गाेल्डेन बुढा

जुम्ला,१७ असोज ।
विकासका योजना र स्थानीय सरकारका प्राथमिकता कागजमा तय भइरहँदा हिमा गाउँपालिकाका नागरिकले आफ्ना समस्या र आवश्यकता आफैं सुनाउन थालेका छन्। नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिकाले एक महिनासम्म गाउँ–गाउँमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै संकलन गरेका गुनासा, सुझाव र विकासका मागलाई प्रतिवेदनमा समेटेर गाउँपालिकालाई बुझाएको छ।भदौ ६ गतेदेखि सञ्चालन गरिएको ‘हिमा जनसंवाद अभियान’ अन्तर्गत बस्ती तथा समुदायमा पुगेका नेता तथा कार्यकर्ताले नागरिकका समस्या सुनेर शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, खानेपानी, कृषि, रोजगारी र विकास निर्माणसँग सम्बन्धित विषय संकलन गरेका थिए। घरदैलोमै पुगेर संकलन गरिएका ती समस्या र मागलाई व्यवस्थित रूपमा समेटेर गाउँपालिकाको ध्यानाकर्षण गराइएको हो।अभियानका कमाण्डर तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं २०७९ को स्थानीय तह निर्वाचनमा हिमा गाउँपालिका अध्यक्षका प्रत्यासी अम्मराज शाही ‘अम्मरजंग’ले नागरिकबाट संकलित समस्या तथा सुझाव समेटिएको ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाउँदै वाचन गरेका थिए। ‘जनताका वास्तविक समस्या र आवश्यकता स्थानीय सरकारसम्म पुर्‍याउनु अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘नागरिकले उठाएका सरोकारलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ।’शाहीको नेतृत्वमा सञ्चालन भएको अभियानले हिमा गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेको थियो। संवादका क्रममा नागरिकले विकास निर्माणमा सुधार गर्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीसम्मका समस्या र आवश्यकताबारे आफ्ना धारणा राखेका थिए।नागरिकका गुनासा र मागलाई मौखिक रूपमा सीमित नराखी विषयगत रूपमा संकलन गरी प्रतिवेदन तयार पारिएको आयोजकले जनाएको छ। विकासका योजना छनोट गर्दा स्थानीय आवश्यकता र नागरिकको प्राथमिकतालाई आधार बनाउनुपर्ने भन्दै ती सुझाव गाउँपालिकासमक्ष प्रस्तुत गरिएको हो।अभियानले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने प्रयास गरेको आयोजकको दाबी छ। जनताका समस्या घरदैलोमै पुगेर सुन्ने, सुझाव संकलन गर्ने र सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानमार्फत स्थानीय नागरिकका आवाजलाई सार्वजनिक सरोकारको विषय बनाइएको आयोजकले जनाएको छ।ध्यानाकर्षण पत्र बुझ्दै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जनसंवाद अभियानले सकारात्मक प्रभाव पारेको बताए। जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूका समस्या, सुझाव र अपेक्षा बुझ्ने अभियानले स्थानीय तह र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने उनको भनाइ थियो

।अध्यक्ष शाहीले जनताका वास्तविक समस्या पहिचान गर्न प्रत्यक्ष संवाद आवश्यक रहेको बताए। उनले यस्तो प्रकृतिको कार्यक्रमलाई महत्वपूर्ण पहलका रूपमा लिँदै देशभरमै उदाहरणीय रहेको उल्लेख गरे।अभियानबाट संकलित गुनासा र सुझाव अब गाउँपालिकाको नीति, योजना र कार्यक्रम निर्माणसँग जोडिने अपेक्षा गरिएको छ। नागरिकले उठाएका विषय कार्यान्वयनमा लैजान सके मात्रै जनसंवादको उद्देश्य पूरा हुने आयोजकको भनाइ छ। घरदैलोमा पुगेर सुनिएका आवाजलाई स्थानीय सरकारको योजना र बजेटमा रूपान्तरण गर्ने चुनौती अब गाउँपालिकासामु रहेको छ।

जनताको गुनासो बोकेर गाउँपालिकाको ढोकामा

बेतबासको सीपले बदलिँदै अपाङ्गता भएका व्यक्तिको जीवनको

Leave a comment

Your email address will not be published. Required fields are marked *